काठमाडौं। १० करोड रुपैयाँसम्मको परियोजना प्रस्ताव गरिएका उद्योगमा इन्डष्ट्री मेनेजमेन्ट इफर्मेसन सिस्टम (आइएमआईएस) प्रणालीमार्फत विदेशी लगानी गर्न सकिने भएको छ।
सरकारले मानवीय संलग्नता बिना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने निती अवलम्बन गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको निर्णय गरेसँगै १० करोड रुपैयाँसम्मका उद्योगमा विदेशी लगानी भित्र्याउन पाइने भएको हो।
नियमावली संसोधनको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने तयारी गरिएको उद्योग विभागले जनाएको छ। उक्त प्रणाली कार्यान्वयनका लागि विभागले वेबमा आधारित अटोमेटिक रुट प्रणाली निर्माण गरेको छ।
विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका सम्बद्ध निकायहरूलाई प्रणालीमार्फत नै हुने विभागले जनाएको छ। साथै लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृती लिईरहनु नपर्ने व्यवस्था उक्त प्रणालीमा समावेश गरिएको छ।
हाललाई २ करोड देखि १० करोड रुपैयाँसम्मको परियोजना प्रस्ताव गरिएका उद्योगहरूमा उक्त प्रणालीमार्फत विदेशी लगानी गर्न सकिने व्यवस्था छ। सरकारले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछि कार्यान्वयन हुने उद्योग विभागले जनाएको छ।
यो प्रणाली भारत, बंगलादेशलगायतका छिमेकी मुलुकहरुमा समेत लागू भएको छ। नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रक्रियालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको हो।
यस प्रणालीको प्रयोग गरी विदेशबाट पनि विदेशी लगानी स्वीकृत गराउन सकिने र विदेशी लगानी स्वीकृत गराउन उद्योग विभाग आईरहनु नपर्ने हुँदा विदेशी लगानी स्वीकृति प्रक्रिया सरल तथा सहज हुन सेवाप्रवाह थप प्रभावकारी हुने विश्वास विभागको छ।
चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर ६६ मा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाईने उल्लेख छ।