काठमाडौं। सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्दा सुक्खा माटो खसेपछि निर्माण प्रभावित भएको छ।
गत चैत १५ बाट पहिरो खस्न थालेपछि सुरुङ खन्ने काम रोकिएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए। उनका अनुसार अप्रिल सुरु भएदेखि नै पहिरो खस्न थालेको हो।
सुक्खा माटोले ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) को ‘कटर’ भन्दा अगाडिको भागसमेत पुरेको छ। उक्त मेसिन निकाल्न आयोजनाले बाइपास सुरुङ खन्ने तयारी गरेको प्रमुख बरालले बताए।
‘केमिकल प्रयोग गर्दा माटो झर्न नरोकिएपछि मेसिन बाहिर निकाल्न लागिएको छ,’ उनले भने, ‘बाइपासका लागि ८/९ सय मिटर खन्नुपर्ने हुन्छ। तर, बाइसापको काम धेरै जोखिमपूर्ण हुन्छ।’
बाइपास सुरुङ खनेर फेरि नियमित सुरुङ खन्न एक सातादेखि १० दिन लाग्ने उनको भनाइ छ। २०७९ असोज २८ बाट टिबिएम मेसिनले खन्न थालिएको सुरुङ हालसम्म ४ हजार ६ सय ६९ मिटर खनिसकिएको छ।
अब ३ सय मिटर खनेपछि महाभारत शृंखला सुरु हुन्छ। चुरे पर्वतमा कमजोर माटो हुने र महाभारत शृंखलामा कडा चट्टान हुने भएकाले ३ सय मिटर खनेपछि पहिरोको समस्या नहुने आँकलन आयोजना प्रमुख बरालको छ।
‘अहिले सुरुङ खनेको क्षेत्र चुरे पर्वत हो। करिब पाँच किलोमिटर खनेपछि महाभारत क्षेत्र भेटिन्छ। त्यहाँ कडा चट्टान हुने भएकाले समस्या हुँदैन होला,’ आयोजना प्रमुख बरालले भने, ‘तर, बाहिरबाट अध्ययन गरेको जस्तो भित्रको जमिन नहुँदा समस्या आउँछन्। अहिले भएको पनि त्यही हो।’
यसअघि गत पुसमा पनि सोही प्रकृतिको माटो सुरुङभित्र खस्दा नौ दिन सुरुङ खन्ने काम रोकिएको थियो। अहिले देखिएका सामान्य समस्या र अवरोधले निर्धारित लक्ष्यमा सुरुङ खन्ने काम पूरा गर्न बाधा नहुने उनको भनाइ छ। सुरुङको कूल लम्बाइ १३ किलोमिटर छ।
टिबिएम मेसिनले पूर्वनिर्धारित समयभन्दा अगावै निर्माण सक्ने गरी तीव्र गतिमा काम गर्दै आएको छ। २०७९ असोज २८ बाट सुरुङ खन्न थालिएअनुसार २२ महिनाभित्र सक्ने सम्झौता छ। चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले सुरुङ निर्माणको जिम्मेवारी लिएको छ। जसको लागत १० अर्ब रुपैयाँ छ।
२०७७ फागुन २० मा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना शिलान्यास गरेका थिए। सुनकोसी र तामाकोसीको पानीलाई १३ किलोमिटर लामो सुरूङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेकका दरले सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ।
त्यस्तै सोही आयोजनामा ६६ मिटर उचाइबाट पानी खसालेर ३१ मेगावाट विद्युत उत्पादन गर्ने योजना पनि छ। सिन्धुली र रामेछापमा निर्माण हुने उक्त आयोजनाले बागमती र मधेस प्रदेशलाई जोड्ने छ। आयोजनमा निर्माण हुने सुरुङको चौडाइ पाँच मिटर हुनेछ।
डाइभर्सनले मात्रै तराईको ७७ हजार हेक्टर जमिनमा थप सिँचाइ पुग्ने छ। यसअघि नै बागमती सिँचाइ आयोजनाले तराईको ४५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याइसकेको छ।
बागमती सिँचाइ आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने छ। आयोजनामा बाँध, सुरूङ, विद्युतगृह र नहर संरचना बनाउन विभिन्न प्याकेजमा बोलपत्र आह्वान भएका छन्।