काठमाडौं। ढोरपाटन नगरपालिकाका मेयर तथा नेकपा एमालेका नेता देवकुमार नेपालीले गण्डकीकै सबैभन्दा ठूलो इमेज बचत तथा ऋण सहकारी संस्था डुबाएका छन्।
हजारौं सदस्यले बचत गरेको रकम नेपालीले आफूखुसी जग्गामा लगानी गरेपछि सहकारी डुबेको हुनसक्ने प्रहरीको अनुमान छ। सहकारी डुबेपछि नेपालीसहित अन्य लगानीकर्ताको प्रहरीले खोजी गरिरहेको छ।
नेपालीले सहकारीबाट मनलाग्दी पैसा निकालेर पोखरा, बाग्लुङ बजार, बुर्तिवाङ बजार, ढोरपाटन बजारमा ठूलो परिमाणमा जग्गा किनेका छन्। सर्वसाधारणको निक्षेपलाई मनमौजी प्रयोग गरेपछि सहकारीका बचतकर्ताको बिचल्ली भएको हो।
सहकारी डुबेपछि धेरथोर रकम पनि कर्मचारीले लिएर भागेका छन्।
सहकारी डुबाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली ढोरपाटनबाट पोखरा जादा समेत हेलिकोप्टर प्रयोग गर्थे। उनी महिनामा दुई पटक हेलिमार्फत पोखरा–ढोरपाटन आउजाउ गर्ने मेयर पर्छन्।
सहकारीमा पैसा अभाव भएपछि बन्द भएको सूचना निकालिएको छ। सहकारीले बन्द भएको सूचना निकालेपछि बचतकर्ताहरु सहकारीका सबै शाखा घेर्न पुगेका छन्। प्रहरीले सहकारीका अन्य सञ्चालकहरु पनि खोजि गरिरहेको छ।
सहकारीको गत वर्षको वित्तीय विवरण हेर्दा त्यही वर्ष ४५ लाख ६० हजार ७ सय ६९ रुपैयाँ खुद नाफा गरेको देखिन्छ।
सहकारीको गत वर्षको विवरण अनुसार एक अर्ब १४ करोड ५८ लाख ६२ हजार तीन सय ५३ रुपैयाँको कुल सम्पत्ति छ।
५०३ महिला र ३१७ जना पुरुष गरी कूल ८२० जना सेयर सदस्य रहेको उक्त सहकारीको तीन करोड ३३ लाख ४१ हजार दुई सय सेयर पूँजी छ। संस्थाले ९५ करोड २४ लाख ४० हजार ८ सय ४८ रुपैयाँको बचत संकलन गरेको देखिन्छ।