काठमाडौं। राष्ट्रियस्तरका सबै विकास बैंकहरुको खराब कर्जा बढेको पाइएको छ।
बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार नेपालका सबै राष्ट्रियस्तरका विकास बैंकको खराब कर्जा बढेको पाइएको हो।
चालू आर्थिक वर्ष ०७९/०८० को नौ महिना (साउनदेखि चैतसम्म)मा राष्ट्रियस्तरका विकास बैंकको खराब कर्जा न्युनतम १.९९ प्रतिशतदेखि ४.६२ प्रतिशतसम्म पुगेको छ।
खराब कर्जा बढ्दा बैंकहरूले राखिने जोखिम प्रावधान बढ्छ र नाफामा असर पर्छ। यस्तो कर्जा ५ प्रतिशत पुगेमा नेपाल राष्ट्र बैंकले नै व्यवस्थापन सम्हालेर सुधारसमेत गर्ने गरेको छ।
राष्ट्रियस्तरका सबै विकास बैंकको खराब कर्जा पाँच प्रतिशत नपुगेको भए पनि गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने उल्लेख्य बढेको तथ्यांकले देखाउँछ।
यो अवधिमा राष्ट्रियस्तरका आठ विकास बैंकमध्ये सबैभन्दा बढी खराब कर्जा महालक्ष्मी विकास बैंकको रहेको छ। हाल यसको खराब कर्जा ४.६२ प्रतिशत पुगेको छ। तर गत वर्षको यहि अवधिमा भने यस बैंकको खराब कर्जा २.८९ प्रतिशत थियो।
गत वर्षको सोही अवधिमा १.०२ प्रतिशत रहेको गरीमा विकास बैंकको खराब कर्जा बढेर २.९५ प्रतिशत पुगेको छ।
यस्तै १.३७ प्रतिशत रहेको ज्योति विकास बैंकको बढेर ३.८९ प्रतिशत, २.२० प्रतिशत रहेको कामना सेवा विकास बैंकको बढेर ३.२७ प्रतिशत तथा १.६९ प्रतिशत रहेको लुम्बिनी विकास बैंकको खराब कर्जा बढेर ३.७६ प्रतिशत पुगेको छ।
त्यस्तै गत वर्षको यही अवधिमा ०.१७ प्रतिशत रहेको मुक्तिनाथ विकास बैंकको खराब कर्जा बढेर १.९९ प्रतिशत पुगेको छ।
१.२० प्रतिशत रहेको सांग्रीला विकास बैंकको बढेर ३.५५ प्रतिशत र १.२४ प्रतिशत रहेको साइन रेसुंगा बैंकको खराब कर्जा बढेर २.११ प्रतिशत पुगेको छ।