काठमाडौं। सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंक मध्ये १४ वटा को नाफा बढेको छ। यस्तै ७ वटा बैंकको घटेको छ। औसतमा बैंकहरुको नाफा ११.६७ प्रतिशत बढेको छ।
चैत मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गर्दा नाफा बढाउने बैंकमा प्रभु बैंक, नबिल बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंक रहेका छन्।
यस्तै नाफा बढाउन अन्य बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक र कुमारी बैंक रहेका छन्। एनएमबी र कुमारी बैंकको नाफा १ प्रतिशतभन्दा कम बढेको छ ।
यस्तै नाफा घट्नेमा प्राइम कमर्शियल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र सनराइज बैंक रहेका छन्।
प्राइम बैंकको ९.३४ प्रतिशत, माछापुच्छ्रे बैंकको १२.८७, नेपाल बैंकको १८.७२ प्रतिशत, सिटिजन्स बैंकको २२.२४ प्रतिशत, सिद्धार्थ बैंकको २८.६५ प्रतिशत, कृषि विकास बैंकको ४५.३६ र सनराइज बैंकको नाफा ८.३३ प्रतिशत घटेको छ।
साउनदेखि चैत मसान्तसम्म २१ वटा बैंकहरुले ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ खुदानाफा कमाएका छन्। जुन गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ११.६७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको नाफा ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ थियो ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्थाअनुसार सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक भएको छ। सबैभन्दा कम नाफा गर्नेमा कृषि विकास बैंक हो।
नबिल बैंकले चैत मसान्तसम्म ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ खुदनाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.६२ प्रतिशत बढी हो।
कृषि विकास बैंकले १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ नाफा गरेको छ। यो भनेको गत आवको तेस्रो त्रैमासको तुलनामा ४५.३६ प्रतिशतले कम हो।
धेरै नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आइएमई रहेको छ। बैंकले ४ अर्ब ३५ करोड ८२ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।
यो अवधिमा ग्लोबल बैंकको नाफा १६.९६ प्रतिशतले बढको छ। तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ रहेको छ । यो नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ११.३८ प्रतिशतले बढी हो ।