काठमाडौं। हिमालयन बैंकको खराब कर्जा वाणिज्य बैंकहरूमै सबैभन्दा बढी भएर रेकर्ड कायम गरेको छ।
हिमालयन बैंकले बिहीबार प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार सरकारी स्वामित्वको बैंकलाई समेत पछि पार्दै खराब कर्जाको प्रतिशतमा नयाँ मानक बनाएको हो।
हिमालयन बैंकको चैत मसान्तमा खराब कर्जा ४.५६ प्रतिशत छ। यो वाणिज्य बैंकहरूमै सबैभन्दा बढी हो। ४ प्रतिशत खराब कर्जा कटाउने बैंक तीन छन्। कृषि विकास बैंकको ४.३५ प्रतिशत, नेपाल बैंकको ४.१६ प्रतिशत र हिमालयन बैंकको ४.५६ प्रतिशत खराब कर्जा पुगेको हो।
जबकि, हिमालयन बैंकको गत वर्ष खराब कर्जा ०.९९ प्रतिशत थियो। कमजोर प्रदर्शन गरेर लगानीकर्तामाथि निरन्तर अन्याय गर्दै आएको बैंकले चालू आर्थिक वर्ष थप निराश बनाउने देखिएको छ।
सीमित समूहलाई असीमित कर्जा प्रवाह गर्ने, प्रवाहित कर्जा समयमा उठाउन नसक्ने र प्रोभिजनसमेत गर्नुपर्ने भए पनि हिमालयन बैंकको कार्य क्षमतामाथि लगानीकर्ताले बारम्बार प्रश्न उठाउँदै आएका छन्।
त्यतिमात्रै होइन, बैंकको वर्तमान अवस्था नसुधारे नेपाल राष्ट्र बैंकको कारबाहीसमेत भोग्नुपर्ने दबाब हिमालयन बैंकमाथि छ। ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ। खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेका बैंकलाई राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाहीसमेत गर्ने गर्छ।
अहिले नै ४.५६ प्रतिशत खराब कर्जा पुगिसकेकाले अझै तीन महिना समय बाँकी छ। योबीचमा ०.४३ प्रतिशत माथि खराब कर्जा पुगेको अवस्थामा केन्द्रीय बैंकले कारबाही गर्छ।
सिभिल बैंकलाई गाभेको हिमालयनको खुद नाफा २४.९६ प्रतिशत बढेर १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
नाफा बढे पनि वितरणयोग्य नाफा भने १ अर्ब ३२ करोड रुपैयाँ ऋणात्मक छ ।