काठमाडौं। कर्मचारी सञ्चय कोषले ब्याजदर पुनरावलोकन तयारी थालेको छ। यसका लागि अध्ययन समिति बनाउन लागेको छ।
कोषले आगामी साउनदेखि नयाँ ब्याजदर लागू गर्ने छ। अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा सञ्चय कोषले ब्याजदर परिमार्जन गर्ने छ।
आगामी साताभित्र ब्याजदर पुनरावलोकन गर्न समिति गठन हुने सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले जानकारी दिए।
उनले कोषको बजेट तयारीदेखि ब्याजदर पुनरावलोकनको काम सुरु गर्ने बताए। बजेट र ब्याजदर सँगसँगै राखेर अर्को आर्थिक वर्षभरिकै तयार पार्ने उनको भनाइ छ।
अहिले बैंक ब्याजदरको अवस्थाबारे सूक्ष्मरूपमा अध्ययन भइरहेको उनले सुनाए। संस्थागत निक्षेपको ब्याजदर घटेका कारण सञ्चय कोषलाई दबाब छ।
संस्थागत निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दुले कम राख्दा सञ्चयकर्ताले बचत रकम झिकेर बैंकमा राख्ने डर सञ्चय कोषलाई छ।
बैंक ब्याजदर पनि घट्ने भएकाले सञ्चय कोषलाई पनि घटाउन दबाब परेको उनको भनाइ छ। ब्याजदर कति घटबढ हुन्छ, त्यो अध्ययन समितिको प्रतिवेदन आएपछि मात्र थाहा हुनेछ।
‘ब्याजदर घट्ने सुनिएको छ। हाम्रोमा ब्याजदर घट्ने र बढ्ने भन्ने कुरा सञ्चयकर्तालाई कति दिन सक्छौं भन्ने कुरामा भर पर्छ,’ प्रशासक धितालले भने, ‘सञ्चयकर्तालाई बढी दिन सक्यौं र दिने अवस्था रह्यो भने ब्याजदर पविर्तन हुन्छ।’
आगामी असार–साउनसम्म बजारको ब्याजदर के रहन्छ, त्यही आधारमा ब्याजदर निर्धारण हुने उनको भनाइ छ। अहिलेको अवस्था हेर्दा ब्याजदर घट्ने सम्भावना देखिन्छ।
साउन १ आइतबारबाट लागू हुने गरी सञ्चय कोषले बचत र ऋण दुवैको ब्याजदर १.५ प्रतिशत बिन्दुले बढाएको थियो।
कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर १.५ प्रतिशत बिन्दुले बढाएर आठ प्रतिशत पु¥याएको थियो। सञ्चयकर्तालाई दिने ऋणको ब्याजदर १.५ प्रतिशत बिन्दुले बढेर ९.१ प्रतिशत पुगेको छ।
सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत कायम गरिएको कोषले जानकारी दिएको छ।
यस्तै जग्गा खरिद र सरल चक्र कर्जामा १०.२५ प्रतिशत कायम भएको छ। कोषको बचत र ऋणको ब्याजदर अन्तर (स्प्रेड) १.१ प्रतिशत रहेको छ। सञ्चय कोषमा ६ लाख सञ्चयकर्ता आबद्ध छन्।