काठमाडौं। चालू आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउनदेखि चैतसम्म)मा दुई हजार चार सय ५१ युनिट विद्युतीय सवारी नेपालमा भित्रिएका छन्।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नौ महिनाको अवधिमा कार, जिप र भ्यान जस्ता दुई हजार चार सय ५१ युनिट विद्युतीय सवारी नेपाल भित्रिएका हुन्।
यो अवधिमा कूल ६ अर्ब ८० करोड सात लाख रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल आयात भएका छन् भने यसबाट राज्यले एक अर्ब ९३ करोड १३ लाख रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा सय किलोवाट क्षमतासम्मको दुई हजार तीन सय ७९, सयदेखि दुई सय किलोवाटको ६५ र २ सयदेखि ३ सय किलोवाटको ७ सवारीसाधन नेपाल भित्रिएका छन्। तथ्यांकअनुसार चैत महिनामा मात्रै २ सय ५३ युनिट विद्युतीय सवारी नेपाल भित्रिएका छन्।
यो आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा २ सय ११ युनिट विद्युतीय सवारी नेपाल भित्रिएका थिए। त्यसपछि भदौमा २ सय ३, असोजमा २ सय ९१, कात्तिकमा ३ सय १३, मंसिरमा ३ सय ३५, पुसमा ३ सय ९६, माघमा २ सय ६० र फागुनमा १ सय ८९ युनिट विद्युतीय सवारी नेपाल भित्रिएको तथ्यांक भन्सार विभागसँग छ।
चालू आर्थिक वर्ष २०७९/८० को नौ महिनामा दुई हजार चार सय ५१ युनिट विद्युतीय सवारी नेपाल भित्रिँदा गत आर्थिक वर्ष भरमा भने जम्मा १ हजार आठ सय सात मात्र विद्युतीय सवारी नेपाल भित्रिएको थियो।