काठमाडौं। चालू आर्थिक वर्षको ९ महिनामा करिव २ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार २ सय १६ उद्योगका लागि १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो। उक्त तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा छ।
चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि २५ अर्ब ४४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो। तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ। चैत महिनामा मात्रै ३ हजार छ सय १२ जनालाई रोजगारी दिने उल्लेख छ।
यस्तै, ९ महिनामा २ सय ५३ वटा विदेशी लगानीका उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ३१ हजार चार सय ४६ रुपैइाँ लगानी प्रतिबद्धता आएको छ। जसमा चैतमा ८ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ।
विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा २ अर्ब ६४ करोड ९ लाख, भदौमा ३ अर्ब ४४ करोड ६५ लाख, असोजमा १ अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो।
यस्तैगरी, मङ्सिरमा ८० करोड८ लाख, पुसमा ४ अर्ब ८५ करोड २० लाख, माघमा १ अर्ब ३९ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८०७९ को साउनमा ५ अर्ब ५३ करोड ५० लाख, भदौमा ६ अर्ब ३२ करोड, असोजमा ११ अर्ब ९६ करोड ५ लाख, कात्तिकमा ९८ करोड, मङ्सिरमा ५ अर्ब १५ करोड ५१ लाख, पुसमा ६१ करोड २० लाख, माघमा ५३ करोड ९५ लाख र फागुनमा २ अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा साढे १४ अर्ब नेपाली रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार पाँच सय ५९ रुपैयाँ लाभाशंबापत रकम फिर्ताको सिफारिस भएको हो ।
विभागले ९ महिनामा रोयल्टीबापत २ अर्ब ११ करोड ६ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ। विभागले चैत महिनामा लाभाशंबापत ३ अर्ब १४ करोड ५३ लाख २२ हजार २ सय ३५ विदेश लैजान सिफारिस गरेको हो।
यस्तै, रोयल्टीबापत चैत महिनामा २० करोड ६० लाख ९ हजार ५ सय २६, ७३ हजार ३ सय १३ अमेरिकी डलर, १५ लाख ४५ हजार सात सय ८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो। यस्तै, चालु आवको ९ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत १ हजार २ सय २४ जना लगानीकर्ता, १ सय ८६ जना प्रतिनिधि र ५ सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।
चैत महिनामा मात्रै विभागले १ सय ६६ लगानीकर्ता, ४५ प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ । रासस