पोखरा। नयाँ वर्षको आगमनसँगै जहाज चार्टर गरेर नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा –२४ मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ गरेका छन्।
साहसिक खेलको रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेकाका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले प्याराग्लाइडिङ गर्नु पूर्व स्वागत गरेका थिए।
उक्त अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोलीको आगमन र प्याराग्लाइडिङलगायतका गतिविधिले पर्यटन प्रवर्द्धन हुने विश्वास व्यत्त गरे। उनले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके साहसिक पर्यटनमार्फत पर्यटन भित्रयाउन सकिने विश्वास व्यक्त गरे।
पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तब्य भएको जनाउँदै राज्य र नीजि क्षेत्रको सहकार्यबाट पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेका उनको भनाइ छ।
नाका अध्यक्ष भट्टराईले पोखराको सराङकोटबाट मान्द्रेढुंगा सारिएको प्याराग्लाइडिङमा पहिलोपल्ट यति धेरै चिनियाँ पर्यटकबाट प्याराग्लाइडिङ हुनु निकै सकारात्मक सन्देश भएको बताए।
उनले भने, 'हामी निकै खुसी छौ, विभिन्न कारणबाट सुस्ताइरहेको पर्यटन र प्याराग्लाइडिङ क्षेत्रमा यति धेरै विदेशी पाहुनाले प्याराग्लाइडिङ गर्नुभएको छ, यसले नयाँ ठाउँलाई प्रवर्द्धनमा पनि सघाउ पुर्याउने छ।' उनले चीनको आउटबाउन्ड गन्तव्यको सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटकको आगमनले पर्यटन प्रर्वद्धनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नाका महासचिव खेमराज आचार्यले पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने बताए। उनले साहसिक खेलप्रेमीका लागि प्याराग्लाइडिङबाट सुन्दर दृश्यवलोकनका लागि मान्द्रेढुंगा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताए। उनका अनुसार चिनियाँ ९० जनासहित २ सय ५० जनाले मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ गरेका थिए। पाहुनालाई पञ्चेबाजा सहित स्थानीय आमा समूहले फुलमाला लगाएर भव्य स्वागत गरेका थिए।
पहिलोपल्ट नेपाल आएकी यु हुङगुनले पोखराको आकाशमा उड्न पाउँदा निकै आनन्द लागेको बताइन्। पहिलोपल्ट नेपाल आएको सुनाउँदै उनले यहाँको प्राकृतिक सुन्दरता र आतिथ्यता निकै लोभलाग्दो भएको प्रतिक्रिया दिइन्। उनले अन्य साथीलाई नेपाल घुम्नका लागि सुझाव दिने बताइन्। नेपाली नयाँ वर्षको पूर्वसन्धयामा १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएकी थिइन्।
ना का पूर्व अध्यक्ष कृष्ण भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै माघ १ देखि मान्द्रेढुंगाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान भएपनि पर्यटकको आगमन बढन नसकेको अवस्थामा चिनियाँ टोलीको उडानले उत्साह थपेको बताए।
साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा पर्दै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। मान्द्रेढुंगा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ। प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुंगाबाट उडान सुरु गरिएको हो।
यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुंगाबाट एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुन्छ।
हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन्। त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन्। पोखराको प्याराग्लाइडिङमा रू एक अर्ब बराबरको लगानी रहेको ना ले जनाएको छ।
जमुना वर्षा शर्मा