काठमाडौं। उधारो असुली थप पेलिचो बन्दै गएपछि व्यावसायिक घरानाहरु बाध्य भएर रिकभरी विभाग बनाउन थालेका छन्। उधारो लिनेहरु धमाधम सम्पर्क विहीन हुने र उल्टै धम्कीपूर्ण भाषा प्रयोग गर्न थालेपछि व्यावसायिक घरानाले बाउन्सरसहितको रिकभरी टिम बनाउन थालेका हुन्।
एउटा क्षेत्रमा धेरै उद्योगीको प्रतिस्पर्धा भएपछि त्यसको भरपूर फाइदा ट्रेडर्सले लिएका छन्। एउटा उद्योगबाट जतिसक्दो धेरै सामान उधारोमा लिने र उधारो रकम करौडौं रुपैयाँ भएपछि त्यो उद्योगलाई छाडेर अर्को उद्योगबाट पर्याप्त उधारो लिने र कसैको पनि उधारो बक्यौता रकम नतिर्ने गरेपछि उनीहरुले बाउन्सर लगाएर आफ्नो रकम उठाउन लागिपरेका हुन्।
अहिले नै केही व्यावसायिक घरानाहरुले नेपाल प्रहरीका रिटायर्ड अफिसरलाई असुली विभाग जिम्मा दिएर काम सुरु गरिरहेका छन्। केही व्यावसायिक घरानाले उधारो उठाउन सक्ने क्षमतावान व्यक्तिहरुको खोजिमा छन्।
आर्थिक अवस्था बिग्रिँदै गएकाले उधारो उठ्ती विकराल बन्दै गएको छ। अर्कोतिर नियोजित रुपमै पनि ऋण नतिर्ने परिपाटीको विकास भएको उद्योगीहरु बताउँछन्। ‘एउटाले उधारो नदिए पनि अर्कोले दिइहाल्छ,’ एक उद्योगीले क्यापिटल नेपालसँग भने, ‘एक ठाउँबाट नपाउने बित्तिकै कतैबाट पनि नपाउने अवस्था भए पो उधारो लैजाने इमान्दार बन्थ्यो। अर्को उद्योगीले चाहिएजति सामान उधारोमा फालिदिन्छ। अनि पुरानो पाटीलाई तिर्नुपर्ने उधारो किन तिर्थ्याे।’
हुँदाहुँदा अहिले उधारो लैजाने पार्टीहरु धमाधम सम्पर्क विहीन बन्ने, मोबाइल तथा फोन नम्बर परिवर्तन गर्ने, पसल भएको ठाउँमा जादा उहाँ त नआएको महिनौ भइसक्यो भनेर पूर्वतयारी उत्तर दिने गर्न थालेपछि बाध्य भएर बाउन्सरमार्फत उधारो असुल्ने नीति लिनुपरेको एक उद्योगीले बताए।
रिकभरी विभागअन्तर्गत रहने व्यक्तिले कूल उठाएको उधारोको निश्चित प्रतिशत रकम दिने गरी व्यावसायिक घरानाले तयारी थालेका हुन्। हाउसहरुले दुई पक्षीय नेगोसिएसनबाट कमिसनका दर तय गरिरहेका छन्।
उद्योगीका अनुसार अहिले नेपालमा १८ अर्ब रुपैयाँ हाराहारी उधारो छ। व्यवसायी इमान्दार हुँदासम्म १० अर्ब रुपैयाँ हारहारी उधारो थियो। व्यवसायी बेइमान बन्न थालेसँगै रकम १८ अर्ब रुपैयाँमाथि पुगेको उनीहरुको अनुमान थियो।
पहिले-पहिले ६० दिनको उधारो प्रचलन थियो। ६० दिनमा पुरानो पैसा भुक्तानी गर्ने र नयाँ सामान लिएर जाने। तर, अहिले पुरानो पैसा भुक्तानी गर्ने कुरै छैन, उधारो दिने पुरानो पार्टीलाई छाडेर नयाँमार्फत उधारो लैजाने र उसको रकम पनि नतिर्ने प्रचलन बढिरहेको छ।
अहिलेसम्म बैंकहरुकाे रिकभरी विभाग सशक्त थियो। त्यस्तै खाले संरचना बनाउने र बाउन्सरमार्फत असुलीलाई तीव्रता दिने उद्योगीहरुको रणनीति छ। ‘आफ्ना कर्मचारी पैसा उठाउनका लागि जाँदा उनीहरु घरमै नहुने, भइहाले पनि अनेकन बहाना बनाएर कर्मचारीलाई फर्काउने गरिरहेका छन्,’ ती उद्योगीले भने, ‘हाम्रा कर्मचारीलाई उनीहरुले नटेरेपछि फरक तरिकाले असुलीको उपाय सोच्नुपरेको हो।’
एकातिर बैंकको ब्याज समयमै बुझाउनुपर्ने दबाब उद्योगीसामू छ। यदि बैंकलाई समयमै ब्याज तिर्न सकिएन भने सम्पूर्ण जायजेथा सकिन्छ। अर्कोतिर बजारको उधारो उठ्दैन। त्यही भएर रिकभरी टिम बनाएर असुलीका लागि खटाउने व्यावसायिक घरानाहरु लागेका हुन्।