काठमाडौं । यो बर्ष गतबर्षको तुलनामा १० प्रतिशतसम्म धान उत्पादनमा कमी आउने कृषि तथा पशुपन्छि मन्त्रालयले प्रक्षेपण गरेको छ । ढिलो बर्षा हुनु, केही ठाउँमा मलको समस्या, नक्कली गरिमा बिउ तथा फौजी किराको प्रकोपका कारण यो बर्षको धान उत्पादनमा कमी हुने मन्त्रालयले जनाएको छ ।
गतबर्षको तुलनामा यसबर्ष मुख्यबाली धान उत्पादन ७/८ प्रतिशतसम्म कमी आउन सक्ने मन्त्रालयका सहसचिव डा. प्रदिपचन्द्र भट्टराइले बताए । नक्कली गरिमा धान र फौजी किराको कारणले प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन भएमा उत्पादनमा ठूलो असर नहुने उनको भनाइ छ । ‘गतबर्षभन्दा ७ देखि १० प्रतिशतसम्म उत्पादनमा कमी आउने देखिन्छ’ उनले भने, ‘प्रतिहेक्टर उत्पादकत्व ४ मेट्रिक टन भएमा उत्पादन त्यति धेरै नघट्ला ।’
ढिलो गरी बर्षा सुरु भइ बिचको समयमा खडेरी र अन्तिम चरणमा बढी पानी पर्दा पनि बालीनालीमा क्षति पुग्दा उत्पादनमा कमी आउन सक्ने उनले जानकारी दिए ।
धानमा कति क्षति ?
कृषि मन्त्रालयका अनुसार नक्कली गरिमा धानको बिउ प्रयोगले चितवनलगायतका विभिन्न क्षेत्रमा लगाइएको धानमा बाला नै लागेन । ४० मेट्रिक टन गरिमा धानको बीउ नक्कली भेटिएको थियो ।
झन्डै १ हजार देखि १५०० हेक्टर जमिनमा लगाइएको धान खेतीमा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ । यसबाट झन्डै ६ हजार मेट्रिक धान उत्पादन कमी हुने देखिएको छ । त्यस्तै, बाँके, बर्दिया, झापा र सर्लाहीलगायतका केही जिल्लामा फौजी किराको प्रकोपले धान उत्पादन सोचेजस्तो हुने देखिदैन् । फौजी किराले कति क्षति पु¥यायो भन्नेबारे मन्त्रालयसँग एकिन तथ्याङ्क पनि छैन् ।
अहिले ७ ओटा क्षति विवरण सर्भे टोली बनाएर अध्ययन भइरहेको र त्यसको रिपोर्ट आएपछि धान उत्पादनको असर पत्ता लाग्ने भट्टाराइले बताए । तर, फौजी किरा, नक्कली बिउ बाहेक मलको असन्तुलित प्रयोगले पनि धान उत्पादन १० प्रतिशतभन्दा बढिले घट्ने धान विज्ञ. भोलामानसिंह बस्नेतको तर्क छ । ‘जेठ असारमा मल अभाव रह्यो । त्यसपछि मल आयो । किसानले अधिक मात्रामा युरिया प्रयोग गरे । मलको असन्तुलित प्रयोगले धान उत्पादकत्वमा ह्रास ल्याउने हो’ उनले भने, ‘नक्कली बीउ र फौजी किराको संकमणलगायतका कारण पनि छन् । यसले मलाइ लाग्छ, गतबर्षभन्दा धान उत्पादन १० प्रतिशतभन्दा बढिले घट्छ ।’
यसबर्ष १३ लाख १० हजार हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । जुन, गतबर्षको तुलनामा ७० हजार हेक्टर जमिन अर्थात ५ प्रतिशतले धान रोपाइँ कम भएको थियो । गतबर्ष १३ लाख ७१ हजार हेक्टर जमिनमा रोपाइँ भएको थिाये । सो बर्ष धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन भएको थियो । नेपालमा कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत क्षेत्रफलमा धान खेती हुन्छ । धान उत्पादनले नेपालको अर्थतन्त्रमा ठूलो भूमिका खेल्दै आएको छ ।