मुगु। रारा राष्ट्रिय निकुञ्ज क्षेत्रका भौतिक संरचना हटाउने तयारीसँगै ‘बफरजोन’ मा करोडौं लगानीमा रिसोर्ट खुल्न थालेका छन्। सँगसँगै होमस्टे संख्या पनि बढेको छ।
राराताल किनारमा रहेको नेपाली सेनाको ब्यारेक, निकुञ्ज कार्यालयसँगै डाँफे गेस्ट हाउससमेत हटाउने प्रक्रिया सुरु भइसकेको छ।
निकुञ्जका वार्डेन विश्वबहादुर श्रेष्ठका अनुसार मुख्य क्षेत्रमा रहेका सबै भौतिक संरचना सार्ने तयारी सुरु भइसकेको छ। सेनासँगै निकुञ्ज कार्यालय सारेर मुख्य क्षेत्र बाहिर भौतिक संरचना निर्माण गर्न थालिएको छ।
‘ताल वरिपरि अब भौतिक संरचना रहँदैन,’ वार्डेन श्रेष्ठले भने, ‘सबै हट्छन्। ताल नजिक रहेको गेस्ट हाउस पनि अब हटाउँछौं।’
पर्यटक बढे, बासको चिन्ता
वार्डेन श्रेष्ठका अनुसार राराताल क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक संख्या दिनमै ३ सयसम्म पुग्ने गरेका छन्। तर, उक्त क्षेत्रमा खाने–बस्ने सुविधा अभावका कारण पर्यटक तालमा डुंगा सयर गर्ने र तस्बिर खिचेर फर्किहाल्ने गरेका छन्।
त्यसैगरी राराताल पारिपट्टि रहेको एकमात्र गेस्ट हाउस पनि हटाउन लागिएको छ। निकुञ्जको मुख्य क्षेत्रमा भौतिक संरचना नहुने भएपछि त्यसको विकल्पस्वरूप बफरजोनमा होमस्टे संख्या बढेको छ।
अहिले रारा क्षेत्रमा खान–बस्न समस्या नभए पनि जाकारी अभावमा राराको प्राकृतिक सुन्दरतामा रम्नै नपाई पर्यटक फर्किने गरेका छन्।
‘तालबाट बायाँतिर बफरजोन छ। त्यहाँ पर्यटकका लागि रिसोर्ट र होमस्टे छन्,’ वार्डेन श्रेष्ठले भने, ‘तर, धेरैलाई यसबारे जानकारी नहुँदा रारामै बस्ने बास बस्ने योजनासहित आउने पर्यटक कम छन्।’
बफरजोन रहेको छायानाथ रारा गाउँपालिका–९ का अध्यक्ष बिर्खबहादुर रोकायाले रारा आउनेलाई कम्तीमा दुईदेखि तीन दिनको योजना बनाएर आउन सुझाव दिए।
‘राराताल नजिकबाट जति सुन्दर देखिन्छ मुर्माकोटबाट त्योभन्दा सुन्दर देखिन्छ,’ उनले भने, ‘थाहा भएकाहरू मुर्माकोट आउँछन्, तर अधिकांश रारातालको फोटो खिचेर फर्किन्छन्।’
उनका अनुसार ताल मुख्य क्षेत्रमा भौतिक संरचना सबै हट्ने भएपछि बफरजोनमा व्यवसायी आउन थालेका छन्। हाल एक दर्जनहाराहारी रिसोर्ट र होमस्टे सञ्चालनमा छन्।
मुर्माकोटमा हाल रारा इको रिसोर्ट, रारा कल्चरल होमस्टेलगायत छन्। यस क्षेत्रका अधिकांश स्थानीयको जमिन व्वसायीले खरिद गरिसकेका छन् भने पुराना पर्यटन व्यवसायीसमेत आएर रिसोर्ट खोल्ने तयारी गरिरहेको वडाध्यक्ष रोकायाले बताए।
यही साता ५ करोड रुपैयाँ लगानीमा रारा भिलेज रिसोर्ट सञ्चालनमा आएको छ। राराताल, छायानाथ हिमाल क्षेत्र प्रष्ट देख्न सकिने स्थानमा खुलेको यो रिसोर्ट पूर्णरूपमा तयार हुन २५ करोड लाग्ने रिसोर्ट अध्यक्ष अनुपविक्रम शाहले जानकारी दिए।
‘रारामा बस्नै पाइँदैन, चाहेजस्तो खानै पाइँदैन भन्ने नकारात्मक सन्देश फैलिएको छ। अब रारा आउँदा खाने–बस्ने चिन्ता नलिए हुन्छ। रारा आउँदा तालमा फोटो खिचेर फर्किहाल्नुपर्दैन,’ शाहले भने, ‘हामीसँगै एकै दिन ५० पर्यटक राख्नसक्ने क्षमता छ। हामीजस्तै अन्य होमस्टे पनि छन्। ढुक्क भएर रारा आउँदा हुन्छ।’
पर्यटक बसाइ दर बढाउन नसक्नु रारा क्षेत्रको समस्या रहेको शाह बताउँछन्।तालसँगैका मुर्मा गाउँ, मुराकोट घुमाउन सके पर्यटकको बसाइ दर लम्बिने उनको भनाइ छ।
आन्तरिक र वाह्य पर्यटकको बसाइ दर बढाउने योजनासहित जोखिम लिएर लगानी गर्न आएको उनले बताए।
‘रारा क्षेत्रको सम्पत्ति भनेको प्रकृति हो। रिसोर्ट, होटल जे बने पनि आँखामा नबिझ्ने गरी निर्माण गर्नुपर्छ,’ शाहले भने, ‘आन्तरिक पर्यटक लक्ष्य गरी सुविधा दिन सके रारा आउने धेरैको सपना पूरा गर्न सकिन्छ। त्यसैका लागि २० रोपनी क्षेत्रफलमा परम्परागत बस्ती शैलीमा रिसोर्ट बनाएर क्षमता बढाउँछौ।’
यस्तो छ मुर्माकोट
राराताल क्षेत्रबाट करिब तीन घन्टा पैदल यात्रामा मुर्माकोट पुगिन्छ। मुर्माकोटबाट राराको सबै क्षेत्र, छायानाथसहित हिमाली दृष्यावलोकन गर्न सकिन्छ।
ताल बायाँपट्टि करिब आधा घन्टा हिँडेपछि मुर्मा क्षेत्र पुगिन्छ। त्यहाँबाट दुई घन्टा उकालो चढेपछि मुर्माकोट पुगिन्छ। हिँड्न सक्नेलाई लोठसल्लाको जंगल हुँदै जान रमाइलो हुन्छ। हिँड्न नसक्नेलाई घोडाको सुविधा छ।