काठमाडौंं। अर्थमन्त्री डा. प्रकाशशरण महतलाई समेत सेयर बजारले नपत्याएपछि चिन्तित छन्।
खुला बजार नीति अवलम्बन गर्ने पार्टी नेपाली कांग्रेसबाट अर्थमन्त्री बन्दासमेत सेयर बजारले नपत्याएपछि अर्थमन्त्री महत कारण खोज्न थालेका छन्।
सेयर बजार माथि उकास्न अर्थ मन्त्रालयको भूमिका कति? नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने कार्य के–के हुन्? केन्द्रीय बैंकका कारण के–कति बजार प्रभावित हो? भनेर अर्थमन्त्री सूक्ष्म अध्ययनमा लागेका छन्।
‘बजार जसरी घटिरहेको छ, यसले धेरै लगानीकर्ताको बिचल्ली भइरहेको छ,’ अर्थमन्त्री डा. महतले क्यापिटल नेपालसँग भने, ‘निरन्तर बजार घट्दा लगानीकर्ताको मनोबल नराम्ररी प्रभावित हुने भएकाले कुन निकायका कारण बजार प्रभावित भइरहेको भनेर बुझिरहेको छु।’
महतले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग सेयर बजार स्थिर बनाउन र लगानीकर्ताको लगानी सुरक्षित बनाउन के–कस्ता कार्य गर्नुपर्छ भनेर सोधिरहेका छन्।
अर्थमन्त्री महतले तीनवटै निकायसँग छलफल गर्दा सेयर बजार प्रभावित हुनुमा केन्द्रीय बैकले अवलम्बन गरेका नीति प्रमुख कारण रहेको बताए।
केन्द्रीय बैंकले जोखिम भार १ सय ५० प्रतिशत राख्नु, बैंकलाई सेयर खरिदमा रोक लगाउनु, सेयर कर्जामा १२ करोडको ‘क्याप’ लगाउनु, ब्याजदर उच्च हुनुलगायत कारण सेयर बजार निरन्तर घटेको हो।
त्यसैगरी अर्थमन्त्री महतले पुँजीगत लाभकरबारे समेत चासो लिएका छन्। एक वर्ष अगावै सेयर बेच्दा सात प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ भने एक वर्षपछि सेयर बेचेको अवस्थामा पाँच प्रतिशत लाभकर लाग्ने बजेटमार्फत व्यवस्था गरिएको छ।
अहिलेको अवस्थामा ‘क्यापिटल गेन’ गर्नेभन्दा पनि सबै लगानीकर्ताले नोक्सानी बेहोरिरहेका छन्। ‘घाटामा सेयर बेचिरहेका छन्। उनीहरूले घाटामा सेयर बेच्दा पुँजीगत लाभकर पाउने कुरै भएन,’ अर्थमन्त्री महतले भने, ‘पुँजीगत लाभकर पनि हेरफेर गरेर लगानीकर्तामा सकारात्मक सन्देश दिनुपर्ने देखिएको छ।’
अर्थमन्त्री महतले सेयर बजारको साँचो अर्थमन्त्रीसँग नभएको बारे लगानीकर्ताले बुझिसकेको बताए।
‘सबै लगानीकर्तालाई थाहा भइसक्यो, बजार कसका कारण घटेको हो भनेर,’ उनले भने, ‘जसले सेयर बजारको साँचो बोक्नुभएको छ, उहाँहरूले खोलिदनुपर्यो। मैले कुरा पनि गरेको छु।’
अर्थमन्त्री महतका अनुसार विगतमा सेयर बजार कस्नुपर्ने बाध्यता थियो। ठिकै थियो। अब अर्थतन्त्रको वाह्य क्षेत्रमा पनि सुधार आइसकेको छ। रेमिट्यान्सले पनि साथ दिइरहेको छ। यस्तो बेला सेयरमाथि लगाइएको नीतिगत अंकुश खुकुलो बनाउनुपर्ने अवस्था छ।