काठमाडौं। नेपाल टेलिकमले २१७ कर्मचारीलाई कार्यावधिबमोजिम हटाइएको जनाएकाे छ। टेलिकमले साेमबार विज्ञप्ति जारी गरेर आफ्नो कार्यालय बाहिर भइरहेको धर्नाको सम्बन्धमा स्पष्ट पारेकाे हाे।
२१७ जना प्राविधिक सहायकलाई जागिरबाट निष्काशित गरेको भन्दै आइतबारदेखि कर्मचारी धर्नामा बसेपछि टेलिकमले आफूले कानुनी व्यवस्थाअनुसार कदम चालेको जनाएको हो।
‘केही दिन पहिले सम्पन्न व्यवस्थाअनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ,’ टेलिकमले विज्ञप्तिमा भनेको छ ‘यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको अवस्था छ।
हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था हुन्छ।’
टेलिकमले सेवा विस्तार, मर्मत सम्भारलगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम कानुन बमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको पनि टेलिकमले स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसंगको दायित्व पनि समाप्त हुने व्यवस्था छ।’
२१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै आइतबार दिउँसो निष्कासित कर्मचारीहरुले टेलिकम बाहिर विरोध प्रदर्शनसहित धर्ना दिएका थिए। उनीहरुले लामो समयसम्म काम गरेका कर्मचारीहरुलाई सरकारी निकायले स्वेच्छारी ढंगबाट हटाएको भन्दै पुनःबहालीको माग गरेका छन्।