काठमाडौं। बिग्रिएको अर्थतन्त्रलाई लयमा फर्काउने दबाबमा रहेका अर्थमन्त्री डा.प्रकाशशरण महत व्यवसायीको मनोबल उकास्न निरन्तर लागि परेका छन्।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई अर्थमन्त्रालयमै बोलाएका अर्थमन्त्री महतले उनीहरुको सुझावलाई ध्यानपूर्वक सुनेका हुन्।
अर्थतन्त्रको वर्तमान अवस्था, त्यसबाट सिर्जित समस्यालाई समाधान गर्न नीतिगत सुधार र लगानीकर्ताको मनोबल उकास्न उद्योगी व्यवसायीले अर्थमन्त्रीसमक्ष आग्रह गरेका थिए।
डेढ घन्टा अर्थमन्त्री महतसँग समय ब्यतिथ गरेका व्यवसायीले देशमा उद्योगको विकास गर्न र ब्याकवार्ड इन्ट्रिग्रेसनमा लाग्न सुझाव दिएका थिए। सरकारले कुशल नीति अवलम्बन गर्दा देश सिमेन्टमा आत्मनिर्भर भयो। स्पञ्ज आइरनबाटै नेपालमा रड बन्न थाल्यो।
हिजोका दिनमा क्लिंकर आयात गरेर सिमेन्ट बनाइन्थ्यो। अहिले नेपालकै चुनढुँगा प्रयोग गरेर क्लिंकर बनाएर सिमेन्ट उत्पादन सम्भव भएको व्यवसायीले अर्थमन्त्री महतलाई स्मरण गराएका थिए।
आर्थिक सुशासन र बजेट प्रभावकारिताको अभाव, न्यून पुँजीगत खर्च, भयावह रुपले बढ्दो व्यापार घाटा र आयातमै निर्भर राजस्वको आत्मघाती स्वरुप, कर प्रणालीमा हुन नसकेको सुधार, शून्योन्मुख औद्योगिक उत्पादकत्व, मुलुकभित्र अत्यन्तै नगण्य रोजगारी सिर्जना र पूर्णतः विप्रेषणमा आधारित जोखिमपूर्ण उपभोगको प्रवृत्तिमा सुधार ल्याउन अर्थमन्त्री महतसामू आग्रह गरेका थिए।
दूरदृष्टि र योजनाबद्ध कानुनी, संरचनागत र अभ्यासगत ‘डिपार्चर’ नै आवश्यक रहेको उनीहरुको भनाइ छ।एकातिर बजारमा माग न्यून हुँदै गएको छ भने अर्कोतिर उद्योगको लागत निरन्तर बढिरहेको छ। कर्जाको ब्याज वृद्धि हुँदा त्यसको असर औद्योगिक उत्पादनमा परेका बताएका थिए।
अर्थमन्त्री महतले पर्याप्त समय दिएर उनीहरुको गुनासा तथा सुझाव सुनेको र व्यवसायीको मनोबल उकास्न आफू निरन्तर लागिपरेको बताएका थिए। ‘कठिन अवस्थामा अर्थमन्त्रालयको जिम्मेवारी लिएको छु’ महतले व्यवसायीसामू भनेका थिए, ‘स्रोत खुम्चिएका बेला बजेट ल्याउनुपर्ने बाध्यता छ।’