काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण र मर्मत कार्य सञ्चालन गर्दा मापदण्ड पुरा गर्नुपर्ने भएको छ। महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मापदण्ड पुरा गरेर मात्रै भौतिक संरचना निर्माण गर्न भनेको छ।
महानगरकाअनुसार सार्वजनिक, निजी पूर्वाधार निर्माण, मर्मत कार्यलाई व्यवस्थित, सुरक्षित तथा नागरिककाको स्वास्थ्यलाई असर नपर्ने गरी आवतजावतलाई सहज, सुरक्षित गर्न मापदण्ड बनाइएको हो। महानगर प्रमुख स्तरको निर्णयबाट सो मापदण्ड तयारी गरिएको महानगरले जनाएको छ।
अब निर्माणधिन भवनका निर्माणजन्य सामानहरु सडकमा राख्न पाइने छैन। साथै व्यक्तिगत संरचना निर्माण गर्दा पनि सडकमा असर पुर्याउन नपाइने नियम बनाइएको छ।
त्यस्तै सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र एवं पार्कहरुमा निर्माणका काम गर्दा छेकबार लगाउनु पर्ने, निर्माणाधीन स्थलको संकेतसहित काम गर्ने निकायको स्पष्ट पहिचान देखिने गरी व्यवस्थापन गर्नुपर्ने हुन्छ।
त्यस्तो संकेत प्रयोग नगरी मापदण्ड उल्लङ्घन गरेको पाइएमा निर्माण सामग्री तथा उपकरण महानगरपालिकाले जुनसुकै बेला जफत गर्ने जनाएको छ।
सडक, पेटीको मर्मत तथा नयाँ निर्माण गर्दा, ढल एवम् पाइप राख्दा धूलो/माटो उडेर प्रदुषण नहुने व्यवस्था गर्नुपर्नेसमेत महानगरको मापदण्डमा उल्लेख छ।
त्यसबाहेक अन्य सार्वजनिक निकायले महानगर क्षेत्रभित्र पूर्वाधार निर्माण एवं मर्मतका काम गर्दा राति ८ बजेपछि मात्रै गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ।