काठमाडौं। जहाज उडाउन इच्छुक नेपालीले पाइलट तालिम लिन महँगो शुल्क बुझाएर फिलिपिन्स, अमेरिकालगायत देश पुगेर अध्ययन पूरा गर्नुपर्ने बाध्य अब हट्ने भएको छ।
हाल नेपालमा पाइलट उत्पादन गर्ने कुनै स्कुल वा तालिम केन्द्रसमेत नभएकाले वर्षेनि सयौं नेपाली विदेश गएर तालिम पूरा गर्नुपर्ने बाध्यता छ। तर, केही वर्षयता नेपालमै ‘फ्लाइङ स्कुल’ सञ्चालन गर्ने योजना बोकेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय धाइरहेका क्याप्टेन जनक अधिकारीको सपना लगभग पूरा हुने देखिएको छ।
२०७८ सालमै फ्लाइङ स्कुल सञ्चालन गर्न पर्यटन मन्त्रालयमा आवेदन दिए पनि आवश्यक कार्यविधि नभएको भन्दै रोकिँदै आएको थियो। वर्तमान पर्यटनमन्त्री सुदन किराँतीले त्यसलाई ‘फास्ट ट्र्याक’ बाट निर्णय गराएर क्याप्टेन अधिकारीको फ्लाइङ स्कुललाई इजाजतपत्र दिएका हुन्।
पर्यटनमन्त्री किराँतीले तत्कालै फ्लाइङ स्कुल सञ्चालन गर्ने गरी शुभम एभिएसन र चन्द्रसूर्य एभिएसनलाई इजाजतपत्र दिइएको बताए। मुलुकभित्रै पाइलटका लागि आवश्यक तालिम केन्द्र खोल्ने अभियानमा लागेकालाई मन्त्रालयले आवश्यक सहजीकरण गरिदिनुपर्छ भन्ने उद्देश्साथ इजाजत दिइएको र अन्य इच्छुकलाई पनि अनुमति दिन तयार रहेको उनले जानकारी दिए।
मन्त्रालयमा शुभम एभिएसनको नाममा दर्ता भए पनि सञ्चालन भने गीता एभिएसनका नाममा हुनेछ। शुभम एभिएसनका अध्यक्ष क्याप्टेन अधिकारीले फ्लाइङ स्कुल सञ्चालनमा आएपछि नेपालमै वार्षिक ५० जनालाई तालिम दिन सकिने बताए।
‘यही तालिम विदेश गएर लिँदा न्यूनतम ७० देखि ८० लाख रुपैयाँ लाग्छ,’ क्याप्टेन अधिकारीले क्यापिटल नेपालसँग भने, ‘तर, यहाँ सञ्चालनमा आउँदा न्यूनतम ४० देखि ५० लाख भए पुग्छ। यो तालिम पूरा गर्न न्यूनतम एकदेखि डेढ वर्षसम्म लाग्ने छ।’
उनका अनुसार पाइलटले युरोपेली मापदण्डको तालिम पाउनेछन्। पछिल्लो समय नेपालको हवाई क्षेत्र पनि युरोपेली मापदण्ड नै पछ्याइरहेकाले फ्लाइङ स्कुलले पनि त्यही मापदण्ड आधार मानेर तालिम सञ्चालन गर्ने छ।
पाइलट तालिमका लागि विदेशमा वार्षिक १ सय ५० भन्दा बढी नेपाली जाने गरेका छन्। जसबाट वार्षिक १ अर्बभन्दा बढी रकम विदेशिइरहेको छ। अब नेपालमै पाइलट तालिम हुने भएपछि उक्त रकम यहीँ बस्ने छ।
गीता एभिएसनले १२/१३ वर्षदेखि विभिन्न एयरलाइन्सलाई सेवा दिँदै आएको छ। आन्तरिक उडानमा रहेका एयरलाइन्सका पाइलटलाई आवश्यक तालिम गीता एभिएसनले नै दिँदै आएको छ। इजाजत पाएपछि मन्त्रालयमा धरौटी बुझाउनुपर्छ। बैंक ग्यारेन्टी १० लाख र इजाजतको १ लाख रुपैयाँ लाग्छ। अब नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ।
‘सिमुलेटर’ तालिम पनि अब नेपालमै
पाइलट तालिम सकिएपछि एयरलाइन्समा जान गर्नुपर्ने ‘सिमुलेटर’ तालिमसमेत नेपालमै दिने योजना गीता एभिएसनले बनाएको छ। यसका लागि क्याप्टेन अधिकारीले फ्रान्स गएर त्यहाँका एक कम्पनीसँग छलफल गरी नेपाल भित्र्याउने तयारी थालेका छन्।
फ्रान्सबाट त्यहाँका विज्ञ आएर नेपालमा पहिलो चरणको अध्ययनसमेत गरिरहेका छन्। यसबारे पर्यटनमन्त्री किराँतीसँग पनि छलफल भइरहेकाले तत्कालै सञ्चालनका लागि आवश्यक वातावरण बनाउने प्रतिबद्धता उनले जनाएका छन्।
पाइलटले प्रत्येक ६/६ महिनामा सिमुलेटर तालिमका लागि विदेश जानुपर्ने बाध्यता छ। हाल बैंकक, मलेसियालगाय ठाउँमा नेपालबाट पाइलट लाखौं रुपैयाँ तिरेर सिमुलेटर गर्न जाने गरेका छन्।
अब यो बाध्यता हटाएर नेपालमै त्यस किसिमको तालिम दिने योजना गीता एभिएसनले बनाएको छ। पाइलटले एकपटक विदेश जाँदा १५ लाखभन्दा बढी खर्च हुने गरेको छ। ‘एटिआर’ जहाजको मात्र हिसाब गर्दा पनि नेपालमा १ सय ५० भन्दा बढी पाइलट छन्। नेपालमै यो किसिमको तालिम हुँदा वार्षिक करोडौं रुपैयाँ एयरलाइन्सको बचत हुन्छ।
पाइलट तालिमका लागि जर्मनीबाट ६ वटा जहाज ल्याउने तयारी भइरहेको छ। पहिलो चरणमा चारवटा ‘सिंगल इन्जिन’ जहाज, एउटा ‘मल्टिइन्जिन’ जहाज र अर्को ‘बेसिक सिमुलेटर’ ल्याउने योजना छ।
तालिम सञ्चालनका लागि सुरुवाती लगानी ४० देखि ५० करोडभन्दा बढी हुन्छ। पाइलट तालिमका लागि भरतपुर आधार मागे पनि प्राधिकरणले यो विषयमा कुनै निर्णय भइसकेको छैन।