काठमाडौं। थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि पहिलो चरणको आईपीओ विक्री गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत शेयर विक्री गर्न अनुमति पाएको थियो।
आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारी समेत सर्वसाधारणमा १५ प्रतिशत शेयर कम्पनीले विक्री गर्नेछ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत दरको ४ लाख ९२ हजार ५०० कित्ता र दोस्रो चरणमा विक्री हुने १५ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको ७३ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो। आयोजना प्रभावित स्थानीयमा जारी हुने शेयर खरीदका लागि खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका वासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ता शेयर माग गर्न सकिनेछ।
यो आईपीओ स्थानीयमा छिटोमा वैशाख २५ गतेभित्र विक्री बन्द हुनेछ भने छिटो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि जेठ ९ गतेसम्म विक्री लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने वैशाख २५ गतेसम्म आवेदन दिईसक्नुपर्ने छ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आयोजना प्रभावित स्थानीयले खोटाङमा रहेको सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंकको शाखा कार्यालयबाट आवेदन प्राप्त गर्न र पेश गर्न सक्नेछन्। साथै कम्पनीको आयोजना स्थलको कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तीनका तोकिएको कार्यालयसँगै मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासनका लागि गराईएको रेटिङमा इक्रा नेपालले इक्रा एनपी इस्यूअर बि माईनस रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
यस कम्पनीले खोटाङ जिल्लामा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७८ साल पुस २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ। यस आयोजनाको कुल निर्माण लागत १ अर्ब ३९ करोड रूपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रूपैयाँ छ।