काठमाडौं। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सहमति हुने सम्भावना न्यून देखिएकोे छ।
कोषाध्यक्षका लागि प्रबलजंग पाण्डे, निरक केसी, गोपाल खनाल र सन्दीप गाडिया अग्रवालले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिले आइतबार साँझै कोषाध्यक्ष पदका लागि निर्वाचनको तयारी गरे पनि नेतृत्वले भने सहमति जुटाउने भन्दै सोमबार बिहान ९ बजेसम्मका लागि समय मागेको थियो। तर, निर्वाचन समितिले दिएको समय सकिन केही घन्टामात्र बाँकी रहँदा सहमति जुट्न नसकेपछि कोषाध्यक्ष पदमा निर्वाचन हुने निश्चित भएको छ।
सकेसम्म सहमतिबाटै कोषाध्यक्ष चयन गर्न भन्दै महासंघ अध्यक्ष चन्द्र ढकालले आइतबार साँझ आफ्नै निवासमा केन्द्रीय सदस्यहरूलाई रात्रि भोजसमेत दिएका थिए। भोजकै क्रममा रात ि११ बजेसम्म पनि कोषाध्यक्षको विषयमा सहमति जुटाउन प्रयास गरे पनि सफल हुन सकेन।
निर्वाचन नगरी सहमतिबाटै कोषाध्यक्ष चयन गर्ने अध्यक्ष ढकालसहितका पदाधिकारीले आ–आफ्नै टिमबाट उम्मेदवार घोषणा गरेका छन्। मनोनयन दर्ता गरेकामध्ये केसी अध्यक्ष ढकाल पक्षका हुन् भने पाण्डे वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ टिमका हुन्।
यस्तै खनाल पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ पक्षका हुन् भने गाडिया रामचन्द्र संघई पक्षका हुन्। गाडिया यसअघिको निर्वाचनमा संघईको टिमबाट एसोसिएट उपाध्यक्ष बन्ने तयारी गरे पनि अन्तिम चरणमा ज्योत्सना श्रेष्ठ आएपछि उनी पछि हटेका थिए।
यस्तै पाण्डे पनि अञ्जनको टिमबाट एसोसिएट उपाध्यक्ष बन्ने घोषणा गरे पनि भरत आचार्यलाई साझा उम्मेदवार बनाउने भन्दै उनले समर्थन गरेका थिए।
महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्यले राति अबेरसम्म सहमतिका लागि प्रयास गरे पनि असफल भएको बताए। ‘बिहान फेरि एकचरण हामी सहमतिका लागि छलफल गर्छौं,’ उपाध्यक्ष वैद्यले क्यापिटल नेपालसँग भने, ‘सहमति नभए आजै निर्वाचन हुन्छ।’
उनले सहमतिका सम्भावना न्यून हुँदै गएकोसमेत जानकारी दिए।
यस्तै कोषाध्यक्षका उम्मेदवार पाण्डेले पनि सहमतिको सम्भावना न्यून हुँदै गएको बताए। नेतृत्वले चाहे अझै सहमति हुने सम्भावना रहेको बताउँदै आफू सहमतिको बाधक नरहेको बताए। सहमति नभए निर्वाचनका लागिसमेत आफू तयार रहेको जानकारी दिए।
कोषाध्यक्ष चयनका लागि निर्वाचित कार्यसमितिले मतदान गर्न पाउने छ।