काठमाडौं। चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे पाँच अर्ब रुपैयाँले न्यून देखिएको छ।
आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व सङ्कलन ३ खर्ब ३७ अर्ब १० करोड २० लाख रुपैयाँ बराबर छ ।
गत आवको सोही अवधिमा सरकारले ३ खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ बराबर कर उठाएको थियो । अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो।
गत आवको सुरुआती नौ महिनाको आन्तरिक राजस्व सङ्कलनको तुलनामा चालु आवको सोही अवधिमा ५ अर्ब ५५ करोड ६६ लाख रुपैयाँ कम कर उठेको छ । जुन गत वर्षको तुलनामा दुई प्रतिशत बिन्दुले न्यून हो ।
चालु आवको चैत मसान्तसम्ममा सरकारले १ खर्ब ५० अर्ब २० करोड रुपैयाँ आयकर उठाएको छ । जबकी गत आवको यही अवधिमा १ खर्ब ६५ अर्ब ४५ करोड रुपैयाँ आयकर संकलन भएको थियो ।
नौ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट सङ्कलन) ७८ अर्ब ८९ करोड ६५ लाख छ । अन्तःशुल्कतर्फ ७४ अर्ब २८ करोड ९२ लाख रुपैयाँ असुली भएको छ ।
यही अवधिमा घरबहाल करतर्फ १ अर्ब ९७ करोड, स्वास्थ्य सेवातर्फ ५ अर्ब २५ करोड र शिक्षा करतर्फ १ अर्ब २६ करोड कर असुली भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको चैत मसान्तसम्ममा कूल सरकारी राजस्व सङ्कलन भने वार्षिक लक्ष्यको ४७ दशमलव ६७ प्रतिशत बराबर मात्रै देखिएको छ ।
चालु आवका लागि सरकारले कूल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म ७ खर्ब २४ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ बराबर मात्रै राजस्व सङ्कलन भएको देखिएको हो । रासस