काठमाडौं। नयाँ वर्ष २०८० सुरुवातले अर्थतन्त्रमा सकारात्मक उत्साह ल्याउने आशा सबैतिर छ। भलै, बितेको २०७९ सुरुवाती चरणमै मुलुकको वाह्य क्षेत्र अत्यन्त दबाबमा बित्यो। शोधनान्तर घाटा २ खर्ब ६८ अर्ब रुपैयाँ पुगेपछि सरकारले विभिन्न किसिमका १० वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो।
नीतिगत दर बढेपछि निक्षेप र कर्जाको ब्याजदर पनि बढ्न गयो, जसले साउन र भदौसम्म शोधनान्तरको अवस्था घाटामा थियो। तर, असोजदेखि शोधनान्तर स्थिति धनात्मक हुन थाल्यो। त्यसपछि शोधनान्तर निरन्तर बचतमा छ र फागुनसम्म आइपुग्दा बचत बढेर १ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। २०७९ साल सुरु हुँदा अर्थतन्त्रमा वाह्य क्षेत्रको जुन किसिमको दबाब थियो, यो वर्ष सकिन लाग्दा विदेशी विनिमय सञ्चिति सन्तोषजनक अवस्थामा छ।
विदेशी विनिमय सञ्चिति १० अर्ब ६९ करोड अमेरिकी डलर पुगेको छ। यसले ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था बनाएको छ। तर, २०८० मा आइपुग्दा अर्थतन्त्रको वाह्य क्षेत्र राम्रो सुधार भएर सन्तोषजनक अवस्थामा आइपुगेको छ। तत्कालका लागि वाह्य क्षेत्रमा त्यस्तो दबाब, अस्थिरता र संकट आउने स्थिति छैन। खासगरी दुइटा क्षेत्रमा बढी दबाब देखिएका छन्। पहिलो, उच्च ब्याजदर र कर्जा प्रवाह कम रहेकाले अर्थतन्त्रमा आन्तरिक मागमा केही शिथिलता आएको छ।
जसले गर्दा उद्योग–व्यवसायका उत्पादनका माग बजारमा कम भएको र आर्थिक गतिविधिमा केही शिथिलता आएको छ। दोस्रो, आयातमा कमी हुँदा सरकारको राजस्व संकलन गत वर्षभन्दा घटेको छ। यी सबै पक्ष मध्यनजर गरेर आयातमा लगाइएको नियन्त्रण पुसदेखि हटिसकेको छ। अब, २०८० सुरु भएको छ।
२०८० सालको सुरुवातमा अर्थतन्त्रमा केही चुनौती कायमै रहने देखिएको छ। तर, सुधार क्रम जारी छ। यो वर्ष वाह्य क्षेत्रमा आएको सुधारले आन्तरिक अर्थतन्त्रमा पनि सकारात्मक असर पार्ने अपेक्षा गर्न सकिन्छ। अहिलेको शोधनान्तर बचतको अवस्था कायम रह्यो भने बैंकिङ क्षेत्रमा तरलतामा सुधार आई २०८० मा ब्याजदर थप घट्ने र यसले आन्तरिक अर्थतन्त्र चलायमान हुने देखिन्छ।