काठमाडौं। सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरणको भाखा नाघेको ऋण र सोको ब्याज मात्रै ६३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणले विभिन्न जलविद्युत आयोजना बनाउन सरकारमार्फत ऋण लिएको हो।
लिएको ऋणको साँवा र ब्याजसमेत गरी सो रकम पुगेका महालेखा परीक्षकको कार्यालयले जनाएको छ। यस्तै नेपाल खानेपानी संस्थानको भाखा नाघेको ऋण र सोको ब्याज मात्रै ७ अर्ब ५८ करोड रुपैयाँ छ।
काठमाडौं उपत्यका खानेपानी बोर्डको ५ अर्ब ७६ करोड, जनकपुर चुरोट कारखाना लिमिटेडको ३ अर्ब ८८ करोड, उदयपुर सिमेन्ट उद्योगको ३ अर्ब ६ करोड, विराटनगर जुट मिल्सको २ अर्ब ८ करोड रुपैयाँ गरेको छ।
आधा दर्जन सार्वजनिक संस्थानको मात्रै साँवा ब्याज वक्यौता बढेर ८५ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ पुगेको छ। ८० सार्वजनिक संस्थाको भाखा नाघेको साँवा र ब्याज वक्यौता बाँकी छ।
जसमध्ये वक्यौता रकमको साँवा र ब्याजको विवरण अद्यावधिक नगरेकाले वास्तविक वक्यौता र साँवा ब्याजको यकिन गर्न सक्ने अवस्था नरहेको महालेखाले जनाएका छ।
राम्रो नाफा आर्जन गरिरहेका साना किसान विकास बैंक र कृषि विकास बैंकले साँवा ब्याज बुझाउन बाँकी रहेको महालेखा परीक्षकको कार्यालयले औल्याएको छ।
यस्तै नेपाल ओरियन्ट म्यागनेसाइट, गोरखकाली रबर उद्योग, रघुपति जुट मिल्स, जनकपुर चुरोट कारखाना र नेपाल यातायात संस्थानको गरी भाखा नाघेको साँवा ४ अर्ब १५ करोड र भाखा नाघेको ब्याज ४ अर्ब १७ करोड रुपैयाँ पुगेको महालेखाले जनाएको छ।