काठमाडौ। ९ सय ६४ मेगावाट क्षमताका पाँच ठूला जलविद्युत आयोजना बनाउन झन्डै डेढ खर्ब रुपैयाँ वैदेशिक लगानी नेपाल भित्रिने भएको छ।
भारत र चीनबाट गरी १ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ वैदेशिक लगानी जलविद्युतमा आउन लागेको हो।
लगानी बोर्डले उक्त लगानी ल्याउन आयोजनाका विकासकर्तालाई स्वीकृति दिइसकेको छ। पाँच जलविद्युत आयोजनाका लागि १ खर्ब ६७ अर्ब रुपैयाँ लाग्ने छ। त्यसमध्ये २१ अर्ब ३७ करोड रुपैयाँ नेपाली लगानीकर्ताको लगानी हुने भएको छ।
विदेशी लगानीमा बन्ने आयोजनामा ६ सय ७९ मेगावाटको तल्लो अरुण, १ सय २ मेगावाट माथिल्लो मर्स्याङ्दी-१, ७० मेगावाट दूधकोसी-२ (जलेश्वर), ७० मेगावाट सिम्बुवा खोला र ४३ मेगावाटको अपर मादी आयोजना बनाउन वैदेशिक लगानी आउन लागेको हो।
तल्लो अरुण भारतको एसजेभिएन लिमिटेडले बनाउँदै छ। यो आयोजना बनाउन उसले ९२ अर्ब ६८ करोड रुपैयाँ लगानी नेपालमा ल्याउने भएको छ।
१ सय २ मेगावाट विद्युत उत्पादन क्षमता भएको माथिल्लो मर्स्याङ्दी–१ परियोजनाका लागि ३३ अर्ब १९ करोड रुपैयाँ चीनबाट लगानी ल्याउने तयारी भएको छ।
७० मेगावाट उत्पादन क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत परियोजनाका लागि २० अर्ब ३५ करोड रुपैयाँ लगानी आउने भएको छ।
त्यसैगरी ७०.३ मेगावाट उत्पादन क्षमताको सिम्बुवा खोला जलविद्युत परियोजनाका लागि १३ अर्ब ४४ करोड र ४३ मेगावाट उत्पादन क्षमताको अपर मादी खोला जलविद्युत आयोजनाका लागि ७ अर्ब ९३ करोड रुपैयाँ लगानी विदेशबाट आउने लगानी बोर्डले जनाएको छ।
तल्लो अरुण आयोजना प्रतिस्पर्धाबाट एसजेभिएनले पाएको हो। एसजेभिएनले १ खर्ब ४४ अर्ब रुपैयाँ लगानीमा ९ सय मेगावाटको अरुण तेस्रो आयोजना बनाइरहेको छ। तल्लो अरुणको ६५ प्रतिशत काम सकिएको छ। अब ३५ प्रतिशत काममात्र बाँकी छ।
यस्तै ४ सय ९० मेगावाटको अरुण-४ आयोजना पनि नेपाल विद्युत प्राधिकरणसँग मिलेर बनाउने तयारी एसजेभिएनको छ।
तल्लो अरुण आयोजना अघि बढाउन लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन भएको छ। तल्लो अरुणको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ।