पोखरा। फेवातालमा १० हजार माछाका भुरा छाडेर खपौदी कार्निभल महोत्सवको उद्घाटन गरिएकाेकाे छ। फेवा पर्यटन विकास समितिकाे आयाेजनामा उक्त माछाका भुरा छाडिएकाे हाे।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एक कार्यक्रमका बीच फेवातालमा माछाका भुरा छाडेर कार्यक्रमको उद्घाटन गरेका हुन्। मुख्यमन्त्री अधिकारीले फेवाताल पर्यटनको आर्कषक केन्द्र बिन्दु भएकाले यसको संरक्षण र सम्वर्द्धनसँगै पोखराको पर्यटन विकासका लागि एकिकृत सोच र प्रयासको खाँचो रहेको बताए।
उनले पछिल्लो समय पर्यटन व्यवसाय सोचे जस्तो चलायमान नहुँदा व्यवसायीमा निराशा आएको बताउँदै समस्या आउँदा वित्तिकै आत्तिन नहुने र पर्यटन चलायमानसँगै समस्या समाधान हुने बताए।
कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले प्रकृतिको वरदान पाएको पोखराको सुन्दरता जोगाएर पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्ने धारणा राखे।
कार्यक्रमममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सुस्ताएको पर्यटन प्रवर्द्धनका लागि पछिल्लो समय निजी क्षेत्रको पहला निकै भएको तर सरकारले चासो नदिएको गुनासो गरे।
उनले नीतिगत रुपमै पर्यटन मैत्री वातावरणमा सरकारले ध्यान नदिएसम्म पर्यटन विकासले गति लिन नसक्ने उनको भनाइ छ।
कमिटीका अध्यक्ष अर्जुन सुवेदीले गैह्राचौतारादेखि चंखपुर पामेसम्मको क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षण केन्द्रविन्दु भए पनि पर्यटन प्रवर्द्धनमा ओझेलमा रहेका कारण महोत्सवबाट यस क्षेत्र प्रवर्द्धनमा जोड दिइएको बताए। उनले जेठो बुढो, लोकल माछाका स्वादिला परिकारसँगै जलारी समुदायको पहिचानमा लागि महोत्सव केन्द्रित रहेको उनको भनाइ छ।
कार्यक्रममा वडा नम्बर १८ का जनप्रतिनिधि मिना नेपाली नेपाली, कमिटीका संस्थापक अध्यक्ष रामकुमारी राई, उपाध्यक्ष निरञ्जन खत्रीले, सेदी टोल विकास संस्थाका अध्यक्ष राजु थापालगायतले फरक सोच र उद्देश्यका साथ आयोजना गरिएको खपौदी कार्निभलले समग्र पोखराको पर्यटनलाई टेवा दिने भनाइ राखेका थिए।
चैत ३० गते सुरु भएपनि महोत्सवको वैशाख १ गते उद्घाटन गरिएको हो। महोत्सवमा जलारी समुदायको डुंगा दौड प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगितामा कृष्ण जलारीको समूह प्रथम, टेकबहादुर जलारीको समुह द्धितिय, र सञ्जय जलारीको समुह तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्। राजु जलारीको समूहले सान्त्वना स्थान प्राप्त गरेको छ। विजेताहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।
महोत्सवमा स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शनसहित डुंगा दौड लगायत खेलकुदका कार्यक्रम रहेको साथै त्यस क्षेत्रमा होटल, रेस्टुरेन्टलगायत पर्यटकीय संघसंस्था गरी १ सय बढी सञ्चालित सचिव शिव थापाले बताए। उनका अनुसार फेवा पर्यटन विकास समितिमा भने ९७ पर्यटन व्यवसायी आबद्ध छन्।