काठमाडौं। मुलुकमा विद्युत उत्पादन बढ्दै गएको छ। उत्पादन बढेर २०८० असारसम्म जडित क्षमता २ हजार ८ सय ६७ मेगावाट पुग्दैछ। हालसम्म २ हजार ६ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ।
आउँदो असारसम्म १५ आयोजना सम्पन्न भई प्रणालीमा १ सय ७८.६ मेगावाट बिजुली थप हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार साउनयता साना–ठूला गरी १९ आयोजना सम्पन्न भई प्रणालीमा ३ सय ३९ मेगावाट बिजुली थप भइसकेको छ।
जलविद्युतमात्र नभई, अहिले सोलार परियोजनाबाट पनि बिजुली थपिने क्रम बढेको छ। हालसम्म सौर्य प्रणालीबाट ६० मेगावाट बिजुली थप भइसकेको छ। जसमध्ये २५ मेगावाट विद्युत प्राधिकरणको योगदान छ।
प्राधिकरणले नुवाकोटमा २५ मेगावाटको सोलार प्लान्ट सञ्चालनमा ल्याइसकेको छ। २०८० भित्र चिलिमे हाइड्रोपावर लिमिटेडको लगानीमा निर्माणाधीन २ सय ७० मेगावाटका चार ठूला आयोजना सम्पन्न हुँदैछन्।
सरकारले चालू आर्थिक वर्षभित्र ८ सय मेगावाट बिजुली थप गरी जडित क्षमता ३ हजार मेगावाट पु¥याउन लिएको लक्ष्य नजिक पुग्ने देखिएको छ।
प्राधिकरणका अनुसार असारसम्म प्रणालीमा ५ सय १७ मेगावाट बिजुली थप हुँदैछ। गत आर्थिक वर्ष हालसम्मकै सबैभन्दा बढी ७ सय ५० मेगावाट बिजुली प्रणालीमा थपिएको थियो। गत वर्ष ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना प्रणालीमा जोडिएपछि गत वर्ष बिजुली उत्पादनमा नयाँ रेकर्ड कायम भएको थियो।
२०७९ साउनयता निजी लगानीबाट निर्माण भएको ८६ मेगावाटको सोलु दूधकोसी मुलुककै तेस्रो ठूलो आयोजना हो। पहिलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, दोस्रोमा १ सय ४४ मेगावाटको कालिगण्डकी ‘ए’ हो।
साउनयता ३८.४ मेगावाटको माथिल्लो कलंगा, ३६ मेगावाट अपर बलेफी ‘ए’, २७ मेगावाट दोर्दीखोला, २५ मेगावाट दोर्दीखोला ‘ए’ लगायत ठूला–साना आयोजना छन्। पिपुल्स पावर लिमिटेडले वैशाखभित्र ५४ मेगावाटको सुपरदोर्दी आयोजनाबाट बिजुली उत्पादन गर्दैछ।
प्रणालीमा थप हुने आयोजनामा अपी पावर कम्पनी लिमिटेडको एक मेगावाटको सिमरा सोलार परियोजना छ। यस्तै नेसनल पावर कम्पनीको नवलपरासीमा पाँच मेगावाटको सोलार परियोजना पूरा भई बिजुली उत्पादन सुरु भएको छ।
प्राधिकरणका अनुसार प्रणालीमा आशुतोष इनर्जीको ८.६ मेगावाटको चेपेखोला, दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको १२ मेगावाटको दोर्दी–१ आयोजनाबाट व्यावसायिक बिजुली उत्पादन भइसकेको छ।
त्यसैगरी सिद्धिपावर कम्पनीको ९ सय ९९ किलोवाटको सितिखोला आयोजना, पिपुल्स पावर लिमिटेडको पुवा–२, नेपाल सोलार फर्म प्रालिको चार मेगावाटको सोम राधाकृष्ण सोलार, स्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्सन लिमिटेडको २८.१ मेगावाटको लिखुखोला र लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको अपर दोर्दीखोला ‘ए’ आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ।
त्यस्तै मिड सोलु हाइड्रोपावर कम्पनीको ९.५ मेगावाटको मिड सोलुखोला र १५.१ मेगावाटको मिडिल मोदी आयोजना पूरा भएका छन्।
चालू आर्थिक वर्ष सार्वजनिक–निजी लगानीमा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी, ५७ मेगावाट तल्लो साञ्जेन र माथिल्लो साञ्जेन तथा १ सय २ मेगावाटको मध्यभोटेकोसी आयोजना सक्ने लक्ष्य भए पनि केही महिना ढिलाइ हुने सम्भावना छ। यद्यपि, यी आयोजना चालू आर्थिक वर्षमा आउनेछन्।
हाल बिजुली माग १ हजार ७ सय २१ मेगावाट छ। भारतबाट ४ सय ८० मेगावाटहाराहारी आयात भएको छ। सुक्खाका कारण नदीमा जलप्रवाह घटेसँगै यसको असर बिजुली उत्पादनमा परेको छ। पानी प्रवाह कम भएपछि आयोजनाबाट३३ प्रतिशतमात्र बिजुली उत्पादन भएको छ।
आउँदो असारसम्म ५४ मेगावाटको सुपर दोर्दी, ३३.४ मेगावाट लिखु २, १४.८ मेगावाट माथिल्लो साञ्जेन, १४.३ मेगावाट माथिल्लो मैलुङखोला र १० मेगावाटको तल्लो पिलुवालगायत आयोजना सम्पन्न हुने भएका छन्।
यस्तै असारभित्र २८ मेगावाट क्षमताका तीन सोलार परियोजना सञ्चालनमा आउने भएका छन्। असारसम्म प्योर इनर्जीले बाँके नरैनापुरमा बनाउँदै गरेको १० मेगावाटको सोलार, फस्र्ट सोलार डेपलपर्सको कपिलवस्तुमा आठ र ग्लोबल इनर्जीको सुनसरीमा आठ मेगावाटको सोलार परियोजना सञ्चालनमा आउन लागेको प्राधिकरणले जनाएको छ।
यस्तै ३ हजार १ सय १ मेगावाट क्षमताका १ सय २९ आयोजना निर्माणाधीन अवस्थामा छन्। २ हजार १ सय ६७ मेगावाटका ९५ आयोजनाको काम विभिन्न चरणमा पुगेको प्राधिकरणले जनाएको छ।
१२ सय मेगावाट भारत निर्यातको तयारी
२०७९ मा विद्युत प्राधिकरणले ४ सय मेगावाटसम्म बिजुली निर्यात गरेर ११ अर्ब रुपैयाँ आम्दानी गरेको छ। यो वर्ष बर्खामा बढी हुने १ हजार २ सय मेगावाट बिजुली निर्यात तयारी छ।
बिजुली निर्यात स्वीकृतिका लागि प्राधिकरणले भारतमा प्रस्ताव पठाएको छ। यद्यपि, अहिले प्राधिकरणले भारतबाट ५ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ। जेठ दोस्रो सातादेखि भारतमा बिजुली निर्यात गर्ने योजना प्राधिकरणको छ।
यो वर्ष भारतमा १ हजार २ सय मेगावाट बिजुली निर्यात तयारीमा प्राधिकरण छ। भारतको ऊर्जा मन्त्रालयले अहिलेसम्म ४ सय ५३ मेगावाट क्षमताका १० आयोजनाको बिजुली निर्यातका लागि अनुमति दिइसकेको छ।
यस्तै माथिल्लो तामाकोसीलगायत ६ सय ८१ मेगावाट क्षमताका आयोजनाबाट पनि बिजुली निर्यातका लागि नेपालले भारतसँग अनुरोध गरिसकेको छ।
आउँदो बर्खामा १ हजार २ सय मेगावाट बिजुली निर्यातका लागि भारतसँग छलफल चलिरहेको ऊर्जा, जलस्रो तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताएका छन्।