काठमाडौं। कुनै पनि मुलुकको आर्थिक अवस्था, सामाजिक जनजीवन र गतिविधि तथा त्यहाँका मानिसको जीवनस्तर झल्काउने सूचकहरु उल्लेख्य हुन्छन्। यीनै अनेकन सूचकमध्येको एक हो, अटोमोबाइल व्यवसाय। जसको उपभोग, उपलब्धता र बजार व्यवसायको अवस्थाबाट त्यहाँको आर्थिक स्थिति कस्तो छ भनेर सहजै आँकलन गर्न सकिन्छ। नेपाल एक विकासोन्मुख मुलुक हो। पछिल्लो केही दशकदेखि यहाँ अटोमोबाइल व्यवसाय फस्टाउँदै गएको छ भने नेपालमै एसेम्बल तथा उत्पादनको क्रम पनि बढ्दै गएको छ।
तर नेपालमा बजार तथा व्यवसायिकताको हिसाबले राम्रो बन्दै गएको अटोमोबाइल क्षेत्रका लागि भने २०७९ साल खासै सन्तोषजनक रहन सकेन। कोरोना महामारीले थलिएर अस्तव्यस्त बनेको अटोमोबाइल व्यवसाय महामारीको भयावह स्थिति कम हुँदै जाँदा बिस्तारै लयमा फर्कने अपेक्षा उद्योगी तथा व्यवसायीको थियो। तर महामारीको असरबाट तङरिन नपाउँदै विदेशी मुद्राको सञ्चितिमा असर पुगेको भन्दै सरकारले सवारी आयातमा प्रतिबन्ध लगायो। वैशाख १३ गतेबाट अटोमोबाइल आयातमा लगाइएको प्रतिबन्ध पुस १ गतेसम्म रह्यो। अहिले आठ महिना लामो प्रतिबन्ध फुकुवा भएको पनि चार महिना पुगेको छ। तर यो अवधिमा पनि व्यवसाय सामान्य अवस्थामा फर्कन नसकेको गुनासो व्यवसायीहरुले गर्दै आएका छन्।
यसो त २०७९ मा अटोमोबाइल व्यवसाय संकुचनमा आउनुको कारण कोरोना महामारी र आयात प्रतिबन्ध मात्रै होइनन्। यो अवधिमा प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य नगद मार्जिनको व्यवस्था, अटो लोन/हायर पर्चेज कर्जामा १ सय ५० प्रतिशत जोखिम भार, बैंकको ब्याजदरलगायतका विषयले पनि अटोमोबाइल व्यवसायलाई थप संकुचन बनाउन भूमिका खेल्यो। यी र यस्तै कारणले २०७९ मा सयभन्दा बढी शोरुमहरु बन्द भएको, अधिकांश ब्रान्डले कर्मचारीको सेवा सुविधा कटौति गरेदेखि कर्मचारी नै कटौति गरेको जस्ता गुनासो व्यवसायीहरुले पटकपटक गर्दै आएका छन्।
तर अटोमोबाइल व्यवसायमा देखिएको यस्तो संकटमा पनि नेपालमा विद्युतीय सवारीले भने राम्रै स्थान पाउन सफल भयो। अन्य समयमा इन्धन सवारीसाधनको वर्चश्वसामू देखिनसमेत नसकेको विद्युतीय सवारीले इन्धन सवारीमा भएको आयात प्रतिबन्धको अवधिमा भने लगभग एकछत्र रुपमा बजारीकरण गर्यो। जसले गर्दा हाल नेपाली सडकमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रेदेखि चार पाङ्ग्रे सवारीसाधनको उपस्थिति देखिन थालेको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुनसम्म)मा जम्मा दुई हजार एक सय ९८ कार, जिप र भ्यानजस्ता विद्युतीय सवारी नेपाल भित्रिएका छन्। यो अवधिमा कुल ६ अर्ब १६ करोड ८२ लाख ७१ हजार रुपैयाँबराबरको दुई हजार एक सय ९८ सवारी नेपाल भित्रिएको हो। चालू आर्थिक वर्ष २०७९/८० को आठ महिनामा दुई हजार १ सय ९८ विद्युतीय सवारी नेपाल भित्रिँदा गत आर्थिक वर्ष भरमा भने जम्मा १ हजार आठ सय सात मात्र विद्युतीय सवारी नेपाल भित्रिएको थियो।
यस तथ्यांकबाट पनि २०७९ सालमा नेपालमा विद्युतीय सवारीले राम्रो स्थान पाएको देखिन्छ। तर अर्थतन्त्र संकटमा रहेका कारण यो समयमा जुनसुकै प्रकारका सवारीसधानको बिक्री वितरण हुन नसकेको व्यवसायीको गुनासो हालसम्म पनि कायम छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा २०७९ साल अटोमोबाइल व्यवसायका लागि सबैभन्दा खराब वर्षको रुपमा रहेको बताउँछन्। ‘कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारणले यस क्षेत्रलाई कमजोर बनायो भने कतिपय आन्तरिक कारणहरुले पनि यस क्षेत्र ठप्प बन्न पुग्यो,’ अध्यक्ष थापाले क्यापिटल नेपालसँग भने ‘सरकारले नियन्त्रण गरेर रोक्न र सुधार गर्न सक्ने विषयमा पनि ध्यान नदिदा त्यसको असर अटोमोबाइल व्यवसायमा झन् बढेर गयो।’
उनले अटोमोबाइल व्यवसाय पूर्णरुपमा ठप्प जस्तै अवस्थामा रहेका कारण यो समयमा व्यवसायीहरु आफ्नो व्यवसाय छोडेर बाहिरिनुपर्ने अवस्था समेत सिर्जना भएको बताए। ‘वर्षको सुरुवात्देखि नै बिग्रिएको अवस्था हालसम्म पनि सुधार हुन सकेको छैन। अब आउने नयाँ वर्ष २०८० मा यो अवस्था सुधार हुने अपेक्षा हामी व्यवसायीले लिएका छौं,’ थापाले भने ‘०७९ अटोमोबाइल व्यवसायका लागि इतिहासकै खराब वर्ष रह्यो।’ उनकाअनुसार २०७९ सालमा आयात प्रतिबन्ध, राष्ट्र बैंकले ल्याएका गलत नीति जस्ता कुराले अटोमोबाइल व्यवसायमा सबैभन्दा बढी असर पुराएको छ। आयात प्रतिबन्ध फुकुवा भएको, अनिवार्य नगद मार्जिन व्यवस्था हटेको भए पनि जोखिमभार, ब्याजदर लगायतका विषयहरु सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ।
२०७९ सालमा नेपालमा बिवाईडीको एटो३, सुजुकीको ग्रान्ड भिटारा र न्यु ब्रेजा, अमेरिकी निर्माता कम्पनी जीपको मेरिडियन, महिन्द्राको ‘एक्सयुभी–७००’ जस्ता विद्युतीय तथा इन्धनका आकर्षक सवारी नेपालमा भित्रिए। यस्ता दर्जनौं जीप, भ्यान तथा कारको साथमा ठूलो संख्यामा विद्युतीय तथा इन्धनका दुई पाङ्ग्रे मोटरसाइकल तथा स्कुटर नेपालामा भित्रिन सफल भए। नेपाली बजारलाई हेर्दा पनि विशेषगरी विद्युतीय स्कुटरले यो समयमा एक प्रकारले फड्को मारेको देखिन्छ। तर व्यापारको अवस्था, आयातको अवस्था आदिलाई हेर्दा ०७९ मा बिर्सन लायक रहेको स्पेयर पार्ट कमिटीका सभापति सुनिल रिजाल बताउँछन्।
‘सरकार तथा राजनीतिक नेतृत्व जिम्मेवार नबन्दा ०७९ मा अटोमोबाइल व्यवसायमा गम्भीर अवस्था आउन पुग्यो,’ रिजालले क्यापिटल नेपालसँग भने ‘सरकार एकाएक आयात प्रतिबन्धको निर्णयमा पुग्दा अटोमोबाइल क्षेत्रमात्र नभएर समग्र अर्थतन्त्रमा नै त्यसको असर पर्याे।’ उनले अहिले आयात खोलेपनि सवारीको बिक्री वितरण नभएको भन्दै यसको मुख्य कारक ब्याजदर भएको बताए। राजनीतिक नेतृत्वले जिम्मेवार र गम्भीर भएर उचित समयमा सही कदम चाल्न नसकेका कारण त्यसको असर हालसम्म पनि देखिएको उनको भनाइ छ।
‘अटोमोबाइल व्यवसाय आफैंमा हजारौंलाई रोजगारीको वातावरण सिर्जना गरेर ठूलो बजार हिस्सा ओगटेको क्षेत्र हो, यी विषयलाई सरकारले प्राथमिकतामा नराखेका कारण अझै पनि सुधारको संकेत देखिएको छैन,’ रिजालले भने ‘यसलाई नबुझेर विभिन्न नीति ल्याएको तथा बजारमा पैसा नै हराएको कारण हाल बजारमा रहेका सवारी पनि बिक्री हुन सकेका छैनन्।’ उनले समग्रमा ०७९ अटोमोबाइल व्यवसायका लागि सन्तोषजनक नभएको बताउँदै अब ०८० मा भने यसले गति लिने अपेक्षा लिएको बताए।