काठमाडौं। सरकारले २०७९ सालमा देशभरि १ सय ४ किलोमिटर नयाँ सडक निर्माण गरेको छ। ०७९ सालको साउनदेखि फागुन मसान्तसम्म उक्त सडक निर्माण गरेको सडक विभागले जनाएको छ।
विभागका अनुसार साउनदेखि फागुनसम्म ३ सय १६ किलोमिटर खण्डास्मित (ग्राभेल) स्तरमा र २ सय ४८ किलोमिटर सडक कालोपत्र स्तरोन्नति भएको छ।
चालू आर्थिक वर्षमा १५ सय १६ किमि सडक कालोपत्र गर्ने लक्ष्य लिएकामा फागुनसम्म २ सय ४८ किमि कालोपत्र भएको हो। त्यस्तै आवधिक मर्मत २७८ किलोमिटर भएको छ। साथै ३ सयवटा पुल निर्माण गर्ने लक्ष्य राखेको विभागले फागुनसम्म ७५ पुलको निर्माण सम्पन्न गरेको छ।
राष्ट्रिय गौरवका तथा अन्य सडक आयोजनाहरू
मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा ४२ किमि सडक कालोपत्र गरेको विभागले जनाएको छ। कुल लम्बाइ १८ सय ७९ किमि रहेको सो राजमार्ग २०७९ असारसम्म १२ सय ५९ किमि कालोपत्र भएको थियो। चालू आर्थिक वर्षको फागुनसम्म ४२ किमि कालोपत्र थपिएसँगै १३ सय १ किमि सडक कालोपत्र भएको छ। लोकमार्गमा पर्ने १ सय ३७ पुलमध्ये २०७९ फागुनसम्म ९७ पुलको निर्माण सम्पन्न भएको छ।
हुलाकी राजमार्गमा २०७९ मा ३६.५ किमि सडक कालोपत्र भएको छ। १८ सय ५७ किमि लम्बाइको हुलाकी राजमार्ग २०७९ असारसम्म ८ सय ९१ किमि कालोपत्र भएको थियो। चालू आवको फागुनसम्म थप ३६.५ किमि थप भएसँगै ९ सय २७.५ किमि भएको छ।
साथै ७ वटा पुल निर्माण सम्पन्न यसै वर्ष भएका छन्। सो राजमार्गमा २५० वटा पुल निर्माण हुन्छन्। २०७९ मा थपिएमा ७ वटा पुलसहित हुलाकीमा १ सय २२ वटा मोटोरेवल पुलको निर्माण सम्पन्न भएको छ।
उत्तर दक्षिण लोकमार्ग कालीगण्डकी कोरिडोर (४ सय ४४ किलोमिटर)को गैंडाकोट–राम्दी–मालढुंगा खण्ड २ सय ४५ किलोमिटरमध्ये चालू आवको फागुनसम्म १ सय २० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ।
उत्तर–दक्षिण लोकमार्गकै मालढुंगा–बेनी–जोमसोम–कोरला खण्डको २ सय २ किमि चालू आवमा पूर्णरूपले ट्रयाक खुलेको विभागले जनाएको छ। जसमध्ये १ सय ७३ किमि ग्राभेल, २९ किमि कालोपत्र स्तरमा स्तरोन्नति भएको र कुल ३२ वटा पुल निर्माण गर्नुपर्नेमा ६ वटा पुल निर्माण सम्पन्न भएका छन्।
कोसी कोरिडोर १६२ किलोमिटरमध्ये चालू आर्थिक वर्षको फागुनसम्म थप १५ किलोमिटर ग्राभेल भई हालसम्म ७० किलोमिटर सडक ग्राभेल भएको छ भने हालसम्म १० वटा पुल निर्माण सम्पन्न भएका छन्।
कोसी कोरिडोर १ सय ६२ किलोमिटरमध्ये चालू आर्थिक वर्षको फागुनसम्म थप १५ किलोमिटर ग्राभेल भई हालसम्म ७० किलोमिटर सडक ग्राभेल भएको छ भने हालसम्म १० वटा पुल निर्माण सम्पन्न भएका छन्।
मदन भण्डारी राजमार्गको कुल लम्बाइ १३ सय ९० किमिमा आयोजनाको कार्यक्षेत्र भित्र पर्ने ७ सय ४० किमिमध्ये २०७९ असारसम्म २ सय ५९ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। चालू आर्थिक वर्षको फागुनसम्म थप ६ किलोमिटर सडक कालोपत्र भई हालसम्म २ सय ६५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ। सो राजमार्गमा पर्ने १ सय ८५ पुलमध्ये २०७९ फागुनसम्म ९९ पुल निर्माण सम्पन्न भएको छ।
त्यस्तै रूपान्तरणकारी योजनाका रूपमा रहेका गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेंसी रसुवागढी सडकअन्तर्गत ६५ किमि दुईलेन कालोपत्र सडक निर्माण र ३२ वटा पुल निर्माण गर्ने लक्ष्य रहेकामा चालू आवको फागुनसम्म ३३.५ किमि कालोपत्र भएको र १३ वटा पुल निर्माण सम्पन्न भएका छन्।
त्यसबाहेक त्रिभुवन राजमार्गको नागढुंगामा सुरुङमार्ग निर्माणअन्तर्गत ५४ सय ९९ मिटरमध्ये हालसम्म ४२ सय ७५.४५ मिटर सुरुङ खन्ने तथा ३ अन्डरपास, ४ कल्भर्ट, १ ओभरपास, ३ वटा पुल सम्पन्न भएको छ। साथै फ्लाई ओभरको निर्माण कार्य भइरहेको छ। हालसम्म टनेलमा ९ सय ७७.७ मिटर कंक्रिट लाइनिङ कार्य सम्पन्न भएको छ।