काठमाडौ। लगानी बोर्डले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाका लागि १ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। आज स्वीकृत भएकामध्ये १ खर्ब ४६ अर्ब वैदेशिक र २१ अर्ब रुपैयाँ स्वदेशी लगानी हो।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको ५३ औ बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको मात्रै ९२ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए।
भारतीय कम्पनी सतलज जलविद्युत् निगमले बनाउन लागेको तल्लो अरुणमा परियोजना विकास सम्झौता (पीडीए) गर्न दस्तावेज तयार पार्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुशील भट्टको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ।
बोर्डको आजको बैठकले १ सय दुई मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो मस्र्याङ्दी–१ परियोजनाका लागि ३३ अर्ब १९ करोड र ७० मेगावाट उत्पादन क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् परियोजनाका लागि २० अर्ब ३५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ।
त्यसैगरी, ७० दशमलव तीन मेगावाट उत्पादन क्षमताको सिम्बुवा खोला जलविद्युत् परियोजनाका लागि १३ अर्ब ४४ करोड र ४३ मेगावाट उत्पादन क्षमताको अप्पर मादीखोला जलविद्युत् आयोजनाका लागि ७ अर्ब ९३ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ।
बैठकले रासायनिक मल कारखाना स्थापनाका सम्बन्धमा अध्ययन अनुमतिका लागि पेस भएको प्रस्तावअनुसार विकासकर्ता कम्पनीसँग गरिने समझदारीपत्रको मस्यौदालाई पनि स्वीकृत गरेको छ ।
त्यस्तै, ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्न अध्ययन अनुमतिपत्रका लागि मलेसियाको रेनिकोला होल्डिङ्सको प्रस्तावलाई स्वीकृत दिने निर्णयसमेत भएको छ।
डाबर नेपालको पूँजी तथा क्षमता वृद्धिका लागि गरिने समझदारीपत्रको मस्यौदा पनि आजको बैठकले स्वीकृत गरेको छ ।
पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको विकासका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग भएको समझदारीपत्रका व्यवस्थाअनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्न विकासकर्ता कम्पनीले गरिरहेको कामबारे पनि बोर्डले जानकारी लिएको छ।
त्यस्तै, बोर्डमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्बली प्लान्टको प्रगतिबारे पनि छलफल भएको जनाइएको छ।