काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको नव–निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले लामो समयदेखि जारी राखेको सर्वसम्मतीको प्रयास अन्तिममा सफल भएको बताएका छन्।
५७औं साधारणसभामार्फत महासंघको २०औं अध्यक्ष बनेका ढकालले शपथ ग्रहणपछि सर्वसम्मतीको प्रयास अन्तिममा सफल बनाउन सफल भएकाे बताएका हुन्।
उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासंघको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गरे।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार बिहीबार उनी अध्यक्ष बनेका हुन्। आजै उनले शेखर गाेल्छाबाट शपथ ग्रहणसमेत गरे।
शपथ ग्रहणपछि उनले आफूले गर्ने पाँच विषयअघि सारेका छन्। यस्ता छन् नव–निर्वाचित अध्यक्ष ढकालकाे प्राथमिकतामा रहेका पाँच विषयहरु :
पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने,
दोस्रो–लगानीको वातावरण बनाउने,
तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने,
चौथो–दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने,
पाँचौ–व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।