काठमाडौं। बागलुङको एक सामान्य परिवारमा जन्मिएका चन्द्रप्रसाद ढकाल उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हाल्ने २०औं अध्यक्ष बनेका छन्। ५७औं वार्षिक साधारणसभाबाट ढकाल स्वतः नेतृत्व तहमा पुगेका हुन्। महासंघको जन्म र ढकालको जन्म लगभग एउटै साल भएका हो।
उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको सर्वोच्च संस्था हो, जसको नेतृत्व हाँक्ने सपना जोसुकै व्यवसायीको हुन्छ। तर, त्यो सपना असाध्यै थोरैले मात्र पूरा गर्न सक्छन्। झन्डै ६ दशक लामो ‘लिगेसी’ बोकेको महासंघको नेतृत्व तहमा पुग्न धेरै आरोह–अवरोह र चुनौती सामना गर्नुपर्छ।
ढकालले ती सबै चुनौती सामना गर्दै आफूलाई अब्बल साबित गरे। र, निजी क्षेत्रको नेतृत्व हाँक्ने अवसर प्राप्त गरिछाडे।
तीन दशक लामो लामो व्यावसायिक बेगले महासंघको कार्यकारिणी सदस्य, एसोसिएट उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै ढकाल शेखर गोल्छाको उत्तराधिकारीका रूपमा अध्यक्ष बनेका हुन्। विगतमा वरिष्ठ उपाध्यक्ष हुनुअघि उनी एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।
ढकालले आगामी तीन वर्ष महासंघ नेतृत्व गर्नेछन्। २०७७ मंसिर १३ गते भएको महासंघ निर्वाचनमा ढकालले किशोर प्रधानलाई पराजित गरी वरिष्ठ उपाध्यक्ष बन्न सफल भएका थिए। ढकालले करिब साढे दुई वर्ष वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पार गरे। एक अनुभवी, शालिन र सफल व्यवसायी ढकाललाई महासंघले नेतृत्वमा पाएको छ।
कार्गो व्यवसायी ढकाललाई इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) व्यवसायमा छलाङ मार्न सबैभन्दा सहयोगी बन्यो। नेपालीहरू विदेशिने क्रम बढेसँगै आइएमई खोलेर औपचारिक माध्यमबाट मुलुकभित्र रकम भित्र्याउने काम उनैले थालेका थिए।
महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन्। ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका हुन् ।
विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन् । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिएको छ ।
विशेषगरी सन् २००१ मा सरकारले वैदेशिक रोजगारीका लागि मलेसियासँग सम्झौता गरेपछि नेपाली कामदार त्यहाँ जान थाले। त्यसबेला कामदारले कमाएको पैसा पठाउने औपचारिक माध्यम थिएन।
आइएमईले नै मलेसियाबाट औपचारिक च्यानलबाट रेमिट्यान्स (विप्रेषण) भित्र्याउन थाल्यो। त्यही आइएमई आज अधिकांश नेपाली परिवारसँग जोडिएको छ। नेपाल आउने रेमिट्यान्समध्ये आइएमईको हिस्सा झन्डै एकतिहाइ छ।
ढकाल अहिले वित्तीय क्षेत्रमा मात्रै सीमित छैनन्। उनले लगानी विविधिकरण गरेर व्यावसायिक साम्राज्य विस्तार गरिरहेका छन्। रेमिट्यान्स कम्पनीबाट उदाएका भद्र स्वभावका ढकाल बैंक तथा वित्तीय क्षेत्र, रेमिट्यान्स, बिमा, जलविद्युत, केबुलकार, होटललगायत क्षेत्रमा लगानी विस्तार गरिरहेका छन्।
उनले सातवटै प्रदेशमा केबुलकार बनाउने योजनासमेत सार्वजनिक गरेका छन्। संघीय राजधानीमा चन्द्रागिरि केबुलकार सञ्चालनमा छ भने बुटवल र मौलाकाली केबुलकारको काम अन्तिम चरणमा छ।
कार्गो व्यापारका सिलसिलामा अमेरिका हिँडेका ढकाल जापान पुग्दा केही समय त्यहीँ अलमलिएका थिए। जापानबाट फर्केपछि उनी मनी ट्रान्सफरमा लागे। व्यवस्थापनमा स्नातक ढकालले आइएमईबाट व्यवसायमा निकै ठूलो फड्को मारेका हुन्।
उनले स्थापना गरेको आइएमईले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्दैछ। ‘रेमिट्यान्स भनेकै आइएमई’ भनेर ब्रान्डिङ गर्न उनी साँच्चै सफल भएका छन्।
आइएमईबाट बैंकमा छलाङ
ग्लोबल बैंक खोलेर २०६३ मा उनी वाणिज्य बैंक सञ्चालकका रूपमा पनि अगाडि आए। पछि त्यसलाई उनले राष्ट्रियस्तरको मात्रै बनाएनन्, मुलुककै सबैभन्दा ठूलो बैंक बनाए।
आइएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड ढकालले नै खोलेका थिए। पछि यसलाई गाभेर ग्लोबल आइएमई बैंक बनाए। विभिन्न बैंक तथा वित्तीय संस्था गाभ्दै लगेर ग्लोबल आइएमई बैंकलाई देशकै ठूलो बनाउन सफल भए।
उनलाई ‘मर्जर किङ’ पनि भन्ने गरिन्छ किनभने उनले ग्लोबल आइएमई बैंकमा झन्डै दुई दर्जन बैंक तथा वित्तीय संस्था गाभेका छन्। उनी ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष छन्। उनी इन्डोनेसियाका लागि नेपालका अवैतनिक वाणिज्यदूत पनि हुन्।
सरकारले प्रदान गरेको महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) सम्मानका साथै वर्षेनि ठूलो परिमाणबराबर रेमिट्यान्स भित्र्याउने सम्मान पाउँदै आएका ढकाल लगानी बोर्डका सञ्चालक सदस्य छन्।
ढकाललाई कामप्रतिको लगनशिलता, जोखिम मोल्न सक्ने क्षमता, मिलनसारिता जस्ता कुराले महासंघ अध्यक्षमा पुर्याएको हो। न्यून आर्थिक पृष्ठभूमिबाट आएका ढकाल हाल वित्तीय क्षेत्रमा मात्र होइन, जलविद्युत उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, केबुलकार, होटललगायत क्षेत्रमा अग्रगामी छलाङ मारिरहेका छन्।
जन्म र बाल्यकाल
बागलुङ अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकालको अहिलेको पहिचान एक सफल व्यवसायी हो। तर, उनको उद्यमशीलताको यात्रा भने धेरै पुरानो छैन।
उनी अमलाचौर गाउँको कुँडहरमा बुबा हिरण्य ढकाल (स्वर्गीय) र आमा जानुकादेवी ढकालको कोखबाट जन्मेका हुन्। एसएलसी दिउन्जेलसम्म उनी मामाघर बसेर पढेका थिए। घाँस दाउरा, मेलापात, गाई, चित्रा, भकारी सबैसँग उनी भिजेका छन्। गाउँ छँदा उनले दिनमा चोया काढेका थिए, डोको बुनेका थिए, नाम्लो बुनेका थिए।
एसएलसी परीक्षा दिन गएका बेला बुबाको मृत्यु भएको थियो। बुबाको मृत्युले पढाइमा प्रत्यक्ष असर गरेको थियो। एसएलसीको नतिजा आउँदा उनी अंग्रेजी विषयमा अनुत्तीर्ण भए। दोस्रोपटकको प्रयासबाट एसएलसीमा अंग्रेजी विषय कटाए। त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं आएका थिए।
त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक गरेका उनले काठमाडौं आउँदा बगलीमा ३ हजार ५ सय रुपैयाँ बोकेका थिए। २०४१ सालमा काठमाडौं म्हेपीमा काका र मामाका छोराछोरीसँग बसेर पढेका थिए। आइकम पढिरहेका बेला पेप्सीकोला कम्पनीमा सानोतिनो जागिर पनि पाएका थिए।
उनले चार वर्ष राष्ट्रिय वाणिज्य बैंकमा खरिदार भएर कामसमेत गरे। त्यही समयमा व्यवसायको सोच र आँट पलायो। अनि, २०४८ सालतिर सानो कोल्डस्टोर राखेका थिए। व्यवसायका लागि उनलाई १२ लाख रुपैयाँ चाहियो। उनले आफूले काम गर्ने बैंकमै ऋण मागे, तर कर्मचारीले ऋण नपाउने भनियो।
व्यवसायमा हामफाल्ने सोच बनाइसकेका ढकालले ऋण नपाउने भनिएको त्यही दिन राजीनामा दिएर बैंक छाडे। यसरी बैंकको जागिर छाडेर व्यवसायमा होमिएका ढकाल अहिले देशकै सबैभन्दा ठूलो बैंकका अध्यक्ष छन्।
आइएमई सुरुवात
कुनै व्यवसाय गरेर व्यक्ति सफल भयो भने उसले राष्ट्रलाई के दियो भनेर हेर्नुपर्छ। उनको सोच र अभियानबाट देशको अर्थतन्त्रको प्रमुख स्रोत रेमिट्यान्सलाई पारदर्शी र व्यवस्थितरूपमा स्वदेश भित्र्याउन आजसम्म नै सम्भव भएको छ।
विदेश बसेर पसिना बगाएका नेपालीको मिहिनेतको कमाइ औपचारिक च्यानलबाट उनीहरूका परिवारसम्म पु¥याउन ढकालले आइएमई सुरुवात गरेका थिए।
चुनौती र अवसर
कुनै पनि व्यक्ति उच्च पदमा पुगेपछि उसलाई निश्चय नै अवसर र चुनौती दुवै हुन्छ। जसले चुनौतीलाई अवसरमा बदल्छ, त्यो सफल हुन्छ। हरेक व्यवसायमा ढकाल सफल भएका छन्। उनको पृष्ठभूमि हेर्दा महासंघमा पनि तीन वर्षको कार्यकाल सफल हुनेमा आशावादी हुन सकिन्छ।
महासंघका विभिन्न पदीय जिम्मेवारी सम्हालेको अनुभव ढकालसँग छ। तीन वर्ष एसोसिएट उपाध्यक्ष र साढे दुई वर्ष वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सफलतासाथ पूरा गरेका ढकाल महासंघका लागि योग्य र अनुभवी हुन्।
वरिष्ठ उपाध्यक्षको साढे दुई वर्षे कार्यकालमा कोरोना महामारीको सामना गर्नुपरेको थियो। त्यसबेला उनले चाहेर पनि धेरै काम गर्न पाएनन्। उनी महासंघ अध्यक्ष बन्दा अहिले मुलुकमा आर्थिक संकट छ। सरकार र निजी क्षेत्रबीच विश्वासको खाडल बढेको छ। पछिल्लो समय त ब्याजदर वृद्धिको विरोधमा उद्योगी–व्यवसायी सडकमा आएका छन्।
गहिरो बनेको आर्थिक संकट समाधान सरकार र निजी क्षेत्रको सहकार्य हो। सहकार्यबिना आर्थिक संकटबाट पार पाउन सकिन्न। निजी क्षेत्रका व्यवसायीलाई साथ लिएर सरकारसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने जिम्मेवारी उनको काँधमा छ।
पछिल्ला वर्षहरूमा निजी क्षेत्रको नेतृत्व कमजोर हुँदा सरकारसँग नीतिगत संवाद र आफ्ना कुरा राख्न महासंघ नेतृत्व असफल भएको आरोप पूर्वअध्यक्षहरूले लगाएका छन्।
सेयर बजार, राष्ट्र बैंकका निर्देशन र ब्याजदरका विषयमा मात्र बढी समय खर्च गरेको र अर्थतन्त्रको मूलमुद्दामा महासंघको नेतृत्व जान नसकेको आरोप लाग्ने गरेको छ।
महासंघलाई सरकारको आर्थिक सल्लाहकारका हैसियतमा अगाडि बढाउँदै अन्तर्राष्ट्रिय निकायमा समेत बलियो उपस्थिति जनाउनुपर्ने आवश्यकता छ। आगामी तीन वर्षमा ढकालको नेतृत्वले महासंघलाई अझ बढी सबल बनाउन सफल होस्।
सफल कार्यकालको शुभकामना!