काठमाडौं। २०५९ सालमा नेपाल उद्योग वाणिज्य महासंघमार्फत नेपालको चेम्बर आन्दोलनमा प्रवेश गरेका व्यवसायी अञ्जन श्रेष्ठले महासंघको ‘सर्वोच्च पद हालिस गरेका छन्। अहिले वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका श्रेष्ठ तीन वर्षपछि स्वतः महासंघ अध्यक्ष हुनेछन्।
२०४५ सालबाट व्यवसायमा सक्रिय श्रेष्ठ १४ वर्षपछि महासंघमा आबद्ध भएका थिए। महासंघमा आबद्ध भएको २० वर्षपछि उनको काँधमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी आइपुगेको छ। तीन वर्षको वरिष्ठ उपाध्यक्षको कार्यकाल व्यतित गरेपछि उनी विधानतः अध्यक्ष बन्नेछन्।
कुशकुमार जोशी अध्यक्ष हुँदा श्रेष्ठ कार्यसमिति सदस्यका रूपमा महासंघ प्रवेश गरेका थिए। उनी कार्यसमिति सदस्य हुँदै महासंघका महत्वपूर्ण विभाग राजस्व समिति, उद्योग समिति, रोजगारदाता परिषद सदस्य पदमा बसेर कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेका थिए।
चेम्बर आन्दोलनमा लामो समय खर्चिएका श्रेष्ठ महासंघको ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष बने।
तर, उनी यस्तो बेला वरिष्ठ उपाध्यक्ष बनेका छन्, जुनबेला मुलुकको आन्तरिक अर्थतन्त्र तहसनहस भएको छ। व्यवसायीको मनाबवल गिरेको छ। बैंकको ब्याजबाट प्रताडित बनेका छन्। आर्थिक अवस्था दिनहुँ दयनीय भइरहेको छ।
साना तथा मझौला उद्योगी–व्यवसायी सडकमा ओर्लिएको लामो समय भइसक्यो। व्यवसायीका कैयौं आन्दोलनमा अञ्जन आफैं सहभागी भएका छन्। उनले हरेक सार्वजनिक भाषणमा भन्दै आएका छन्– ‘देशको अर्थतन्त्र लथालिङ्ग अवस्थामा छ।’
उनका सामु व्यवसायीको गिरेको मनोबल उकास्नुपर्ने दायित्व छ। व्यवसायीका पीरमर्का सुनेर सरोकारवालासामु टेबुल गर्नुपर्ने छ। उद्योगी–व्यवसायी र बैंकरबीच चिसिँदो सम्बन्ध, सरकारले गरेको व्यवहारबाट धेरैजना हैरान छन्। वरिष्ठ उपाध्यक्ष श्रेष्ठसामु त्यसलाई पनि समाधान गर्ने दबाब छ।
महँगो ब्याजदर, लगानीयोग्य रकम अभाव, मागमा आएको कमी, उधारो उठ्ने समस्या, यी र यस्तै समस्या पर्गेल्नुपर्ने चुनौती अञ्जनसामु आइपुगेका छन्।
व्यावसायिक जीवनमा अहिलेसम्म कुनै पनि उद्योगी/व्यवसायी यतिविघ्न समस्यामा कहिल्यै परेका थिएनन्। यसरी द्रुत गतिमा व्यवसायीहरू कालोसूचीमा कहिल्यै परेका पनि थिएनन्। बैंकले धितो लिलामको सूचना यो गतिमा अहिलेसम्म निकालेका थिएनन्। कहिल्यै नभोगेको यस्ता समस्याको जहाजलाई ‘सेफ ल्यान्डिङ’ गराउन अञ्जनलाई त्यति सहज भने हुँदैन।
बजारमा तरलता छाड्नुपर्ने हुन्छ, त्यसका लागि केन्द्रीय बैंकसँग अनेकन औजार हुन्छन्, त्यतातिर अञ्जनले बढी जोड दिनुपर्छ।
नेपालको अर्थतन्त्र ‘अन्डर लिबरेज’ पनि छ। सरकारले ऋण नै लिएर भए पनि अहिलेको अवस्थाबाट बाहिर निस्किन आवश्यक छ।
अहिले व्यवसायी मरेको भनेकै ब्याजका कारण हो। आठ प्रतिशतबाट बढेर १६ प्रतिशतसम्म पुगेको छ। ब्याज तीन प्रतिशत घटेरमात्रै पनि हाम्रो समस्या समाधान हुँदैन। बजारमा माग छैन र अर्को अत्यधिक लागत बढेको छ। यी दुई समस्या एकअर्काका परिपूरक हुन्। लागत घट्ने बित्तिकै सामान सस्तो हुन्छ। लागत घटाउन सरकारसँग निरन्तर संघर्ष आवश्यक छ।
अहिले सबैभन्दा बढी साना तथा मझौला व्यवसायी समस्यामा छन्। त्यसपछि सिमेन्ट, छड, निर्माणजन्य, जग्गा कारोबार नहुँदा व्यवसायी छट्पटिएका छन्। होटल, रेस्टुरेन्ट, जुत्ताचप्पलदेखि हरेकप्रकारका उद्योगी–व्यवसायी मर्कामा छन्।
बजारमा माग छैन, राज्यका कारण मागमा ठूलो गिरावट आएको छ, माग बढाउन नीतिगत तवरबाट गाँठो फकाउनु महासंघ नेतृत्वको ध्यान जान आवश्यक छ।
अहिले उद्योगहरू क्षमताको ३०/४० प्रतिशतमा सीमित भएका छन्। अहिलेको समस्या सिर्जना हुनु अन्तर्राष्ट्रिय कारणका साथै सरकारी नीति पनि हुन्।
सरकारले व्यवसायीका समस्या छिटो सम्बोधन नगरेका कारण अन्यौल बढ्दै गएको छ। व्यवसायी सडकमा आउनुपर्ने स्थिति सिर्जना भएको छ। उपभोग बढ्ने तर उत्पादन बढ्न नसक्ने परिस्थिति सिर्जना हुनु देशको अर्थतन्त्रका लागि दुर्भाग्य हो।
अञ्जन व्यावसायिक घराना लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन्। ग्रुपअन्तर्गत ३ हजार २ सयजनाले रोजगारी पाएका छन्।
अञ्जन पहिलोपटक कार्यसमितिमा निर्वाचित भएकै बेला राजस्व समितिको उपसभापति बनेका थिए। त्यसबेला पनि उनी रोजगारदाता परिषद सदस्य पनि कायम थिए। उनी नौ वर्षदेखि रोजगारदाता परिषद सदस्यका रूपमा कार्यरत थिए।
नेपालमा श्रम सम्बन्ध नराम्ररी बिग्रिएका बेला उनी रोजगारदाता परिषद सदस्य थिए। त्यही बेला श्रम ऐन बनाउन ठूलो योगदान गरे। सरकारी निकाय, ट्रेड युनियनसँग निरन्तर वार्ता, छलफल गरेर श्रम ऐन ल्याइएको थियो।
त्यसैको जगमा आज पनि रोजगारदाता र श्रमिकबीच सम्बन्ध सुमधुर भएको छ। श्रेष्ठ उपाध्यक्ष हुनुअघि उद्योग समिति सभापति पनि भए।
अञ्जनसँग महासंघका विभिन्न पदमा बसेर काम गरेको अनुभव छ। उनले पदाधिकारी भएर जिम्मेवारी बहन गरेका र व्यावसायिक वातावरण निर्माणमा खेलेको योगदानको प्रतिफल भनेको वरिष्ठ उपाध्यक्षको पद हो।
श्रेष्ठको व्यावसायिक संलग्नता
श्रेष्ठ ३० वर्षदेखि व्यवसायमा संग्लन छन्। अभिभावकद्वारा प्रवर्द्धित व्यवसाय चकलेट फ्याक्ट्रीलाई २०४५ सालदेखि सघाउन थालेका हुन्। जो सुजल फुडबाट परिचित छ।
अहिले सुजल फुड नेपालकै ठूलो कन्फेक्सनरी पनि हो। सुजल फुड साना उद्योगका रूपमा खुलेको थियो। सानाबाट मझौला बन्ने क्रममा थियो, परिवारका सदस्यले योगदान गरेर नेपालकै सबैभन्दा ठूलो उद्योग बनाए।
व्यापारमा विविधिकरण गर्नुपर्छ भनेर लक्ष्मी ग्रुप डेरी उद्योगमा प्रवेश गर्याे। सहरबाट ग्रामीण भेगमा अर्थतन्त्र लैजान प्रमुख माध्यम भनेको डेरी उद्योग हो। २० हजार लिटर क्षमताको उद्योगलाई अहिले दैनिक १ लाख ५० हजार लिटर दूध प्रशोधन गर्ने उद्योग बनाइयो।
लक्ष्मी ग्रुप प्याकेजिङ, ट्रेडिङ व्यवसायमा लाग्यो। हुन्डाई गाडीमार्फत नेपालमा व्यवसायलाई अर्को तहमा पुर्याए। पछिल्लो समय समृद्धि स्टिल स्थापना गरेका छन्।