काठमाडौं। भैरहवास्थित पाँचतारेस्तरको रिसोर्ट टाइगर प्यालेस खरिद गर्न नयाँ-नयाँ खरिदकर्ताले चासो देखाएका छन्।
व्यवस्थापन किचलो र राजकुलो मिचेर संरचना निर्माण गरेपछि सरकारसँग मुद्दासमेत हारेर विवादमा आएको रिसोर्ट खरिद गर्न फेरि अमेरिका रहेका व्यवसायी बुद्धि सुवेदीले प्रक्रिया थालेका हुन्। सुवेदी गैरआवासीय नेपाल संघ (एनआरएन) अमेरिकाका अध्यक्ष हुन्।
नेपालमा किनबेचमा समस्या आएपछि रिसोर्ट खरिद-बिक्री विदेशमै गर्ने र नेपालमा प्रक्रियागतरूपमा मिलाउने गरी व्यवसायीहरू लागिपरेको रिसोर्टको उच्च तहमा काम गर्ने एक कर्मचारीले जानकारी दिए।
‘चाँडै होटल किनबेचको डिल देश बाहिर हुँदैछ,’ उनले क्यापिटल नेपालसँग भने, ‘व्यवस्थापन परिवर्तन हुने कुरा छ, हामीलाई त्यस्तै खबर आएको छ।’
नेपालमा किनबेच गर्दा अदालती प्रक्रियामा समस्या हुने भएकाले किनबेचको डिल बाहिरै गरेर अदालती डिल नेपालमा मिलाउने गरी नयाँ व्यवस्थापन आउने खबर आएको ती कर्मचारीले बताए।
यसअघि टाइगर प्यालेस अमेरिकामै रहेका व्यवसायी खगेन्द्र जिसी र नेपालका व्यवसायी बालकृष्ण भुसाल र सिएन पाण्डेले खरिदका प्रक्रिया अगाडि बढाएका थिए।
जिसी र भुसालले यसअघि ४ अर्ब रुपैयाँमा रिसोर्ट किन्ने तयारी गरेका थिए। तर, अहिले सुवेदीले बैंक ऋणमात्र सकार्ने गरी खरिद गर्न लागेका हुन्। विविध झन्झटका कारण सुवेदीलाई पनि यो रिसोर्ट खरिद गर्न त्यति सजिलो भने छैन।
रिसाेर्ट सञ्चालक हङकङकाे कम्पनी टाट पल्टिएको छ। त्यहाँ फर्निचर र कम्प्युटरमात्र छन्। 'बन्ड हाेल्डर' ले शून्य मूल्यांकनको कम्पनी कसरी र कतिमा बेच्न सक्छ भन्ने शंका उब्जिएकाे छ।
राजकुलोका विषयमा रुपन्देही जिल्ला अदालतमा परेको मुद्दामा सरकारको पक्षमा दाबी पुग्ने अन्तिम फैसला भएपछि होटल किनबेचमा समेत तत्काल रोक लगाइएको छ।
जिल्ला न्यायाधीश कृष्णमुरारि शिवाकोटीको इजलासले सामुदायिक प्रयोगको सरकारी सम्पत्तिमा निर्मित संरचना भत्काइ सरकारी सम्पत्तिको संरक्षण गरी पाऊँ भन्दै परेको मुद्दामा सरकारको पक्षमा फैसला गरेको थियो।
उक्त रिसोर्ट सञ्चालक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिसमेत गरी दुईजनाविरुद्ध लुम्बिनी नलकुपजल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरे र अर्का एक टेकराज पौडेलले रिसोर्टले सरकारी सम्पत्ति मिचेको भन्दै मुद्दा दायर गरेका थिए।
घिमिरेले २०७६ असार १९ र पौडेलले गत जेठ ६ मा मुद्दा दर्ता गरेका थिए। रुपन्देही तिलोत्तमा नगरपालिका–१५ कोटीहवामा रहेको पाँचतारे रिसोर्ट टाइगर प्यालेसले भैरहवा–लुम्बिनी भूमिगत जलपरियोजना नहरको १० कट्ठा १८ धुर, राजकुलो तथा अन्य सार्वजनिक कुलोको गरी करिब २३ कट्ठा सार्वजनिक जग्गा मिचेको छ।
रिसोर्टमा अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचीकृत तथा हङकङमा कार्यालय रहेको सिल्भर हेरिटेज गु्रपको मुख्य लगानी छ। त्यसबाहेक नेपालको प्राइम कमर्सियल बैंकसहित केही वाणिज्य बैंकले १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरेका छन्।
यस विषयमा अमेरिका रहेका व्यवसायी सुवेदीसँग ह्वाट्सएपमा सम्पर्क गर्दा उनले जवाफ दिएनन्।