काठमाडौं। बजार रणनीति र व्यवस्थापनमा चुक्दा कर्पाेरेट घराना एमभी दुगड ग्रुपअन्तर्गतकाे विवेक अटोमोबाइल्सले एकपछि अर्काे गर्दै दुई र चारपांग्रे सवारीको आधिकारिक विक्रेताको अधिकार गुमाएको छ।
यतिमात्र होइन, आफैंले बिक्री गर्दै आइरहेको 'जोन डियर ट्याक्टर' को महालक्ष्मी विकास बैंकमा ५० लाख ऋणको व्यक्तिगत जमानी बस्दा ऋण असुल नभएपछि बैंकले कम्पनीलाई समेत कालोसूचीमा राखेर सबै बैंकलाई परिपत्र गरिसकेको छ।
नेपाली अटोमोबाइल बिक्री/वितरण क्षेत्रमा लामो यात्रा पार गरिसकेको दुगड ग्रुपले गुणस्तरीय सेवा र आक्रमक बजारीकरण केन्द्रमा राख्दै प्रतिस्पर्धामा उत्रिन नसक्दा एकपछि अर्को ‘ब्रान्ड’ को डिलरसिप गुमाउँदै गएको हो।
विभिन्न समयमा पटक–पटक आफ्नो डिलरसिप ब्रान्ड गुमाउँदै गएको दुगडको एक साताअघि मात्र ‘भेस्पा’ र ‘अप्रिलिया’ स्कुटरको आधिकारिक डिलरसिप खोसिएको छ। जसले गर्दा दुगडले प्रदान गर्दै आएको सेवा र बजारीकरणमाथि थप प्रश्न उठेको छ।
सन् २०१७ मा जापानी कार निर्माता ‘निसान’ को नेपालबाट डिलरसिप गुमाएको दुगडले गत वर्ष चैतमा ‘रोयल इन्फिल्ड’ को डिलरसिपसमेत गुमाउन पुग्यो।
निसानको डिलरसिप अहिले शारडा ग्रुपअन्तर्गत पायोनियर अटोमोबाइल्ससँग छ भने रोयल इन्फिल्ड त्रिवेणी ग्रुपको अल्फा अटोमोटिभ्स् कम्पनीसँग छ।
त्यसबेलाको नमिठो अनुभव नमेटिँदै दुगडले भेस्पा र अप्रिलियाको आधिकारिक डिलरसिप गुमाउनु परेको हो। अहिले भेस्पा र अप्रिलियाको डिलरसिप पाएको भिमसरिया ग्रुपअन्तर्गतको डेल्टा अटो कर्पले बिक्री सुरु गर्न थालेको छ।
त्यसो त, निसानको डिलरसिप गुमाएको लगभग डेढ दशकअघिको अवधिमा दुगडले ‘फोर्ड’ र ‘फक्सवागन’ को समेत डिलरसिप गुमाएको थियो। डेढ दशकअघि नेपालमा फोर्ड गोल्छाकोमा र फक्सवागन विशाल ग्रुपमा हुनुअघि दुगड ग्रुपअन्तर्गत नै थियो ।
त्यसैगरी ‘औडी’ कारको समेत नेपालमा बिक्री वितरण एमभी दुगड ग्रुपअन्तर्गत नै भइरहेको थियो। यसको समेत बिक्री अधिकार ग्रुपले त्यहिबेला गुमाइसकेको छ।
ग्रुपले डेढ दशकमा अटोमोबाइल सात ब्रान्ड गुमाएको हो। अटोमोबाइलसँगै अन्य व्यापारमा पनि ग्रुपले आफ्नो उपस्थिति राम्रो जनाउन सकेको छैन। जलविद्युतमा लगानी बढाउँदै गएको कम्पनीले प्रवर्द्धन गरेको गुराँस लाइफ इन्स्योेरेन्स र सनराइज बैंकको अवस्था पनि राम्रो छैन। गुराँस लाइफ अहिले मर्ज भइसेकेको छ भने सनराइज पनि मर्ज हुने चरणमा छ।
ग्रुपले चकलेट, चुइगम, बिस्कुटलगायत अन्य ‘एफएमसिजी’ व्यापारमा पनि हात हालेको थियो। त्यो व्यापारमा पनि सफलता हासिल गर्न नसक्दा त्यसका केही ब्रान्ड विशाल ग्रुपले खोसेको छ।
ग्रुपमा मोतीलाल दुगडपछि छोरा विवेक दुगडले बजार रणनीति र व्यवस्थापन नबुझ्दा व्यापारमा एकपछि अर्काे ब्रान्ड खोसिँदैं गएको उनीनिकट एक व्यापारीले बताए।
‘अन्तरमुखी स्वभावका विवेकले आफ्नो परिवारको लिगेसीलाई व्यापारमा कन्भर्ट गर्न सकेनन्। बाहिर के भइरहेको छ भन्ने थाहा नपाउँदा रणनीति बनाउन नपाएपछि व्यापार गुमाउन पुगे,’ ती व्यापारीले क्यापिटल नेपालसँग भने, ‘उनका कम्पनीकै कर्मचारीले अर्काे कम्पनीलाई सूचना दिएर ब्रान्ड खोसिँदासम्म उनलाई थाहा हुन्थेन। व्यापारमा यस्तो हुस्सु त हुनुहुँदैन।’
कम्पनीले बिक्री गर्ने जोन डियर ट्याक्टर ग्राहकले खरिद गर्दा विवेक अटोमोबाइल्स व्यक्तिगत जमानी बसेपछि ग्राहकले ऋण नतिर्दा महालक्ष्मी विकास बैंकले कम्पनीलाई नै कालोसूचीमा राखेको छ।
बैंकको आग्रहमा कर्जा सूचना केन्द्रले गत माघमा १७ वटा ऋणका लागि कालोसूचीमा राखेको थियो। कालोसूचीमा राख्नुअघि पत्र र सूचना प्रकाशित गर्नुअघि समेत उनले बेवास्ता गरेका थिए।
यस विषयमा कम्पनीका प्रबन्ध निर्देशक विवेश दुगडको प्रतिक्रिया लिन पटक–पटक उनको मोबाइलमा कल र मेसेज गर्दा सम्पर्कमा आएनन्।