काठमाडौं। चितवनको मेघौलीमा रहेकाे अरुण चौधरीको टाइगर ल्यान्ड सफारी रिसोर्टमा विद्युत सर्ट भएर आगलागी भएकाे छ।
रिसोर्टको डाइनिङ हलमा बुधबार दिउँसो एक्कासि विद्युत सर्ट भएर आगलागी भएको रिसाेर्टले जानकारी दिएकाे हो।
हावाका कारण आगो झन् फैलिएर निभाउन गाह्रो भएको रिसोर्टका महाप्रबन्धक अजीतविक्रम राणाले बताए।उनका अनुसार आगलागी सुरु भएपछि रिसोर्टका पाहुनालाई जगतपुर लजमा सारिएको थियाे।
हावा चल्ने समय भएकाले आगाे नियन्त्रण गर्न नसकेकाे उनकाे भनाइ छ। उनले भने, 'पाहुनाहरु रुममै हुनुभएका कारण भौतिक क्षति भए पनि मानवीय क्षति नहुनु नै हाम्रो लागि ठूलो कुरो हाे।’
उक्त रिसाेर्टमा लागेकाे आगाे नेपाली सेनाको दमकल, महानगरीय प्रहरी, रिसोर्टकै कर्मचारी, गाउँले मिलेर निभाएकाे उनकाे बताए।
उनका अनुसार आगलागी नियन्त्रणमा आएपछि रिसोर्टमा सरसफाइ गरिदैछ। हालै रेनोभेट गरिएको कन्फ्रेन्स हल, लबि एरियासँगै डाइनिङ हल आगलागीले पूर्ण रूपमा क्षति भएको उनले बताए।
आगोका कारण नयाँ वर्षका लागि आएको बुकिङअनुसार सेवा दिने अवस्था छैन उनले भने, ‘बुकिङ एकदम राम्रो थियो। अब बुकिङ गरिसकेका ग्राहकलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने साेच्दै छाैं। आज मात्रै ४० जना ग्राहक आउन लागेका थिए।’
३५ वटा भिल्ला क्षमताको यो रिसोर्ट नौ वर्ष अगाडि अरुण चौधरीले पूर्ण स्वामित्व लिएका थिए।