काठमाडौं। नेपाल टेलिकमले आफ्ना एफटिटिएच र मोबाइल सेवा प्रयोगर्कताका लागि 'स्प्रिङ अफर' ल्याएको छ।
चैत २९ गतेदेखि तीन महिनासम्म सञ्चालन हुने यस अफरमा विभिन्न प्याकेज ल्याइएको छ। यसअन्तर्गत डेटा सुविधा मात्र उपलब्ध भएको एफटिटिएच प्याकेज अब वार्षिक आठ हजार रुपैयाँमा उपलब्ध हुनेछ।
पहिलेदेखि नै एफटिटिएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक छ हजार रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। साथै, कम्पनीले एक वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ।
त्यसैगरी एनटिटिभीसहितको प्याकेज लिने ग्राहकले वार्षिक १२ हजार रुपैयाँमा २० एमबिपिएसको इन्टरनेट तीन हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटिटिभी सेवा पाउनेछन्। यसबाहेक विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डेटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सियुजी प्याक, पोस्टपेड प्याकलगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ।
सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डेटा खपत भएपश्चातको डेटा 'थ्रोटिङ स्पिड' मा बढाइएकाे छ। प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डेटा सेवाको खपतपछि उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *१४४२# डायल गरी सुलभ दरको एड अन प्याक (Add On Pack) पनि प्राप्त गर्न सकिन्छ।
स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *१४१५*१# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।