उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचानमा वरिष्ठ उपाध्यक्ष पदका लागि तीन प्रत्यासी मैदानमा छन्। तत्कालीन अवस्थामा विधान संशोधन नहुने हो भने अझै केही वर्ष वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुनेछन्। त्यहीकारण अहिले वरिष्ठ उपाध्यक्ष बन्न महासंघ इतिहासमै पहिलोपटक वरिष्ठ उपाध्यक्ष पदमा बाजी मार्न अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ आफ्नो टिमसहित चुनावी भिडन्तमा उत्रिएका छन्। उनीहरूले आ–आफ्नो अजेन्डा मतदातालाई दिइरहेका छन्। क्यापिटल नेपालले तीनै उम्मेदवारलाई सामूहिकरूपमा चार प्रश्न सोधेको छ। महासंघको आगामी नेतृत्वमा तपाईंहरूको भूमिका कस्तो रहन्छ र निर्वाचन जितेपछि के–के गर्नुहुन्छ भन्ने विषयमा केन्द्रित रहेर सुवास योञ्जनले गरेको कुराकानी :
उद्योगी–व्यवसायीहरू आर्थिक अवस्था डामाडोल भएर चुनावै उठ्न अनिच्छुक देखिएका बेला तपाईंहरूको चुनावी दौडधुपको अर्थ के?
अञ्जन श्रेष्ठ : पछिल्लो समय देशको आर्थिक अवस्था ठिक छैन र त्यसले सबै उद्योगी–व्यवसायीलाई समेत असर पारेको छ। यसले हामीलाई दीर्घकालसम्म असर पार्छ कि भन्ने डर हो। अर्थतन्त्र समस्यामा पर्दा उद्योगी–व्यवसायीले आफ्नो बैंक ऋणको किस्ता तिर्न सकेका छैनन् भने उद्योग पूर्णक्षमतामा सञ्चालन हुन सकेका छैनन्। त्यसैले अहिले साना ठूला सबै किसिमका व्यवसाय र उद्योग प्रभावित छन्। अहिलेको समस्या सम्बोधन गर्न र निकास दिन सरकारसँग समेत स्पष्ट छलफल गर्नुपर्ने हुन्छ। निजी क्षेत्र र सरकार मिलेर नै समस्या समाधान गर्न सकिन्छ। त्यसका लागि सशक्त, जुझारु र जोशिलो नेतृत्व चाहिन्छ भन्ने हो। यसले नेपाल उद्योग वाणिज्य महासंघलाई पनि जीवन्त, जिम्मेवार र जोशिलो बनाउन सकिन्छ भनेर नै मेरो वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी हो।
रामचन्द्र संघई : महासंघ निर्वाचन सामान्य प्रक्रिया हो। अहिले नेपालमात्र नभई विश्वअर्थतन्त्र नै डामाडोल भएको छ। यस्तो बेला नेपालका निजी क्षेत्र आर्थिक सुधारमा प्रत्यत्न गरिरहेका छन्। सरकार र निजी क्षेत्रको सहकार्यमा शिथिल भएको अर्थतन्त्र सुधारका लागि सहजीकरण गर्न आवश्यक नीति ल्याउने छौं। पछिल्लो समय निर्वाचन प्रक्रिया महँगो हुँदै गएकाले पनि धेरैले इच्छा नदेखाएको हुनसक्छ। अर्थतन्त्रले लय समात्न थालेकाले बिस्तारै लय समात्छ भन्ने अपेक्षा सबैको छ। हाम्रो चुनावी दौडधुप पनि साना तथा मझौला उद्योगी–व्यवसायीका समस्या समधानमा एक ढिक्का भएर लाग्ने छौं र निराश भएकाहरूको मनोबल बढ्नेखालका काम गर्ने छु।
उमेशलाल श्रेष्ठ : चुनाव नै भएपछि अलिअलि दौडधुप त हुने नै भयो। माथिल्लो तह (पदाधिकारीमा) उम्मेदवारहरू दुईभन्दा बढी नै आएका छन् भने केन्द्र्रीय सदस्यमा केही कम देखिएका छन्। उम्मेदवारहरू किन कम भयो भनेर समीक्षा गर्न जरुरी छ। तर, अहिले हामी निर्वाचनमा होमिएका कारण यो विषयमा कुरा हुन सकेन। आर्थिक मन्दीका कारण उम्मेदवारहरू कम भए वा अन्य नै कारणले भयो भन्ने खोजी महासंघले गर्नु नै पर्छ। खासमा अहिलेसम्म महासंघमा नभएको त्रिपक्षीय भिडन्त यसपालि भइरहेको छ। यस्तो बेला त उम्मेदवारको संख्या अझ बढ्नुपर्ने थियो। हामी निर्वाचित भएपछि उम्मेदवार किन घटे भन्ने विषयमा अध्ययन गर्छौं।
साना तथा मझौला व्यवसायीका हकहितका लागि काम गर्छु भन्दै आउनुभएको छ। तपाईले महासंघ पदाधिकारीमा बसेर चाहिँ साना तथा मझौला व्यवसायीहको पक्षमा के–के निर्णय गर्नुभयो?
अञ्जन श्रेष्ठ : अर्थतन्त्र ठूला उद्यमी र व्यवसायले मात्र चल्ने होइन। यसमा साना र मझौला अर्थात एसएमइजको निकै ठूलो भूमिका छ। हरेक ठूला उद्योग साना उद्योग–व्यवसायसँग आबद्ध हुन्छन्। यो एउटा उत्पादन वा सेवा व्यवसाय आर्थिक शृंखला पनि हो। त्यसैले साना र मझौला व्यवसाय छाड्ने वा नहेर्ने भन्ने हुँदैन। म आफै ंपनि सानो व्यवसायबाट आएको हुँ। मसँग साना र मझौला व्यवसायीले भोग्ने समस्या र चुनौतीको अनुभव छ। मैले महासंघको वस्तुगत उपाध्यक्ष पदमा रहँदा पनि त्यस्ता समस्या सम्बोधन गर्न र नीतिनियम बनाउन काम गरेको छु। वस्तुगत सदस्यमा अधिकांश साना र मझौला व्यवसायी तथा उद्यमी आबद्ध छन्। जहाँ मैले देखिएका समस्या समाधान गर्न, सरकारसँग लबिङ गर्न, चुनौती कम गर्न प्रत्यक्ष/अप्रत्यक्ष काम गरेको छु।
रामचन्द्र संघई : म तीन वर्ष महासंघमा एसोसिएट उपाध्यक्ष भएर काम गरिसकेको छु। हुन त म महासंघमा रविभक्त श्रेष्ठ अध्यक्ष भएदेखि नै क्रियाशील भएर काम गर्दै आएको छु। म २० बर्षदेखि महासंघमा निरन्तर क्रियाशील छु। साथीहरूले नै निर्वाचित गरेर पठाएको एसोसिएतर्फको उपाध्यक्षका रूपमा तथा रोजगारदाता परिषद सभापतिका रूपमा मैले शेखर गोल्छा नेतृत्वको कार्यसमितिमा अहिले काम गरिरहेको छु। त्यसैले उद्योगी–व्यवसायीका समस्या के छन्?, त्यसको समाधान कसरी गर्ने? भन्ने विषयमा म पूर्णजानकार छु। मैले सभापतिका रूपमा रहँदा साना तथा मझौला उद्योगी–व्यवसायीका हितमा धेरै काम गरिसकेको छु र अझै गर्ने छु।
उमेशलाल श्रेष्ठ : मेरो त मुख्य काम नै साना तथा मझौला उद्योग–व्यवसायीहरूको समस्या समाधान गर्न पहल गर्ने नै हो। व्यवसायीलाई कर, भन्सारसँग सम्बन्धित काम सहज बनाउन लागेका छौं। म त्यो बेला उपाध्यक्ष हुँदा पनि कर र भन्सारसँग सम्बन्धित ऐन संशोधन गर्न सरकारसँग वार्ता र छलफल अगाडि बढाएको थिएँ। सरकार परिवर्तन भइरहने भएकाले पनि ऐन संशोधन गर्न सकेका थिएनौं। अहिले मुलुकमा स्थिीर सरकार बनेको छ। जबसम्म उद्योग–व्यापारमैत्री ऐन बनाउन सकिँदैन, तबसम्म हाम्रो व्यावसायिक वातावरण सुधार हुँदैन। त्यसैले म निर्वाचित भएलगत्तै मेरो टिमको ध्यान नै व्यावसायिकमैत्री ऐन संशोधनका लागि सरकारसँग छलफल गरेर निर्णयमा पुग्ने हो। यदि ती ऐन साना तथा मझौला उद्योगमैत्री बनाउन सके हजारौंका संख्यामा उद्योग स्थानीय तहसम्म खुल्न सक्छ।
तपाईंलाई महासंघमा जिताएर व्यवसायीको हकहितमा लाग्नुहुन्छ भन्ने आधार के?
अञ्जन श्रेष्ठ : मैले महासंघमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर खट्ने र योगदान गर्दै आएको छु। महासंघमा एउटै मान्छेले धेरै समय ओगट्नेभन्दा पनि देखिने र महत्वपूर्ण काम गर्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले अहिले मात्र नभई म महासंघमा कार्यसमिति सदस्य भएदेखि नै आफ्नो र अन्य व्यवसायीको हकहितका लागि काम गर्दै आएको छु। तर, अहिलेजस्तो आर्थिक समस्या र चुनौती पहिले देखिएको थिएन। त्यसलै महासंघमा देखिने, सुनिने र बोल्ने क्षमतासहितको नेतृत्व दिन आएको हुँ। अहिलेका समस्या सरकारले मात्र वा निजी क्षेत्रले मात्र एक्लै समाधान गर्न सक्दैन। त्यसका लागि जिम्मेवार नेतृत्व चाहिन्छ, जुन जीवन्त काम गर्न सकोस् र त्यसले हरेक उद्यमी व्यवसायीसँग सहकार्य गर्न सकोस्।
यसका लागि जोशिलो नेतृत्व चाहिन्छ। मेरा अजेन्डा पनि त्यही आधारमा तय भएका छन्। हाम्रो संविधान बनाउन १४ वर्ष लाग्यो, जसले अर्थतन्त्रलाई नै समस्या पा¥यो। सात वर्षदेखि राजनीतिज्ञ र प्रशासकको ध्यान अर्थतन्त्रमा गएकै छैन। संविधान बनिसकेपछि पनि राजनीति सुल्झिएको छैन। सरकार परिवर्तन भइरहेको छ, मन्त्री परिवर्तन भएको भयै छन्। गत वर्ष १० महिनासम्म उद्योग मन्त्रालयले नेतृत्व नै पाएन। पछिल्लो दुई महिना अर्थ मन्त्रालयसमेत नेतृत्वविहीन भयो। सरकारले हाम्रा कुरालाई महत्व नदिँदा मुलुकको अवस्था यस्तो भयो। खाली राजनीतिमा मात्र ध्यान जाँदा अर्थतन्त्रबारे कसैले हेर्ने वा चासो दिने काम भएन। यसका लागि मेरो नेतृत्वले अर्थतन्त्रका हरेक आयाम हेर्दै दीर्घकालिनरूपमा समस्या समाधान गर्ने र नीतिनियम बनाउन सरकारलाई घचघच्याउने काम गर्नेछ।
रामचन्द्र संघई : मेरा स्पष्ट तीन अजेन्डा छन्। त्यसलाई समेटेर मैले प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेको छु। यसमा मुद्दाका तीन विषय छन्। संगठनात्मक सुधार र समन्वय, सरकारसँग उद्योगी–व्यवसायीका समस्या समाधानको पहल तथा आर्थिक विकास र अर्थतन्त्र सुधार। यिनै अजेन्डामा केन्द्रित रहेर ‘भिजन २०३०’ को प्रतिबद्धता पूरा गर्ने। महासंघको साख अझै उँचो राख्ने। जिल्लानगर उद्योग वाणिज्य संघहरूलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरण निर्माण, व्यवसायीका हकहितका विषयवस्तु, नीति निर्माणमा गरिने पैरवी, नेपालमा उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण, वैदेशिक लगानी भित्र्याउने वातावरण निर्माणजस्ता विषय नै मेरा प्राथमिकताका विषय रहनेछन्। सबैलाई समेटेर, सबैको भावना बुझेर काम गर्छु। म उद्यम–व्यवसायलाई नै आफ्नो लक्ष्य र उद्देश्य राख्ने, यही क्षेत्रको उन्नति प्रगतिमा रमाउने, उद्योगी–व्यवसायीका समस्या राम्रोसँग बुझ्न र महसुस गर्न सक्ने व्यक्ति हुँ।
उमेशलाल श्रेष्ठ : हामीले नेताहरूलाई चुनावमा जिताएपछि कसरी तय गर्ने हो त्यसैगरी गर्ने हो। तर, हामी नेताजस्तो हुँदैनौं। अर्को कुरा, म पहिलो पुस्ताको उद्योगपति हुँ। मैले उद्योग र वाणिज्य कुनै विरासतमा पाएको होइन। मैले ३०÷४० वर्षको दौरान जुन प्रगति गरेँ, त्यसलाई ‘स्ट्यान्डर्ड’ मानेको छु। र, अर्को कुरा म स्पष्ट मान्छे हुँ। कुरा चपाएर बोल्दिनँ। हुने कुरा तत्कालै हुन्छ भन्छु र हुँदैन भन्ने कुरा झुलाएर राख्दिनँ। मलाई लाग्छ, मेरो चुनाव जित्नका लागि यति नै आधार काफी हुन्छ। मेरो अनुभव, निडरता, स्पष्टता र इमान्दारिताका कारण भोट दिनुहुन्छ भन्ने अपेक्षा लिएको छु। अहिले महासंघ यस्तो अवस्थामा खडा छ। यसपालि मजस्ता मान्छे विजयी भएन भने महासंघ साँच्चिकै गाह्रो अवस्थामा पुग्छ।
निजी क्षेत्रले सधैंभरि राजनीतिक दललाई गाली गर्छ। अहिले तपाईंहरूकै निर्वाचनका बेला भने फेरि त्यही नेताको घरदैलोमा पुगेर आफ्नो पक्षमा माहोल बनाउन लबिङ गरिरहनुभएको छ। के नेताको आशिर्वाद नभई चुनाव जितिँदैन भन्ने हो?
अञ्जन श्रेष्ठ : हेर्नुस्, हामी गणतन्त्रात्मक मुलुक हौं र मतदानमार्फत प्रजातान्त्रिक अभ्यास गर्दै आएका छौं। तर, प्रत्यक्षरूपमा उद्योगी–व्यवसायीलाई राजनीति गर्न फुर्सद नै छैन। मेरो कुरा गर्नुहुन्छ भने पनि मैले आफ्नो उद्योग–व्यवसायमा अधिकांश समय बिताउँदै आएको छु। अझ अहिलेको समयमा उद्योगी–व्यवसायीमाझ समस्याबाहेक केही छैन। एउटा उद्योगी–व्यवसायी सबै दलको नजिक हुन्छ, अझ नेतृत्वमा हुँदा त नीतिगत तहमा काम गर्नका लागि मन्त्री तथा सांसदहरूसँग छलफल र कुराकानी गर्नुपर्ने हुन्छ। कसरी उद्योगमैत्री र व्यवसायमैत्री नीति नियम ल्याउने भन्ने काममा सहकार्य गर्ने हो। नीतिगत समस्या समाधान गर्न र निजी क्षेत्र अगाडि बढाउन र अर्थतन्त्रलाई गति दिन पनि सांसद वा मन्त्रीहरूसँगै छलफल र कुराकानी गर्नुपर्ने हुन्छ। यसलाई राजनीति गरेको भनेर मान्नु हुँदैन। अझ म आफैं कहिल्यै पनि मलाई सहयोग गर्नुस् भनेर कुनै नेताको घरदैलोमा गएको छैन।
रामचन्द्र संघई : हामी निजी क्षेत्र भएपछि सबै राजनीतिक दलसँग सुमधुर सम्बन्ध राख्नु सामान्य हो। सबैसँग सम्बन्ध राम्रो छ। तर, महासंघको नेतृत्वकै लागि राजनीतिक दलका नेताहरूको घरमा गयो र उनीहरूको आशिर्वाद लियो भन्नु गलत हो। मलाई आमउद्योगी–व्यवसायीको साथ, समर्थन र सद्भाव छ।
उमेशलाल श्रेष्ठ : त्यस्तो होइन। हाम्रो र राजनीतिक दलका मित्रहरूबीचको सम्बन्ध सबै सुमधुर हुन्छ। किनकि, हामी उद्योग–व्यापारमैत्री नीतिनियम बनाउन लबिङ गर्ने, उद्योग–व्यापार गर्ने, कर तिर्ने गर्छौं भने उहाँहरू भनेको राज्य चलाउने, राज्यका लागि नीतिनियम बनाउने भएकाले सम्पर्क सधैं रहन्छ। त्यसैले निर्वाचनका बेला उद्योगी–व्यवसायीले राजनीतिक दलहरू भेट्नै नहुने भन्ने केही छैन। तर, राजनीतिक दलका नेतालाई ल हजुर मलाई सहयोग गरिदिनुस् भनेर भनेको छैन। यो हाम्रो कुनै वादको लडाइँ होइन। हाम्रो वाद एउटै छ। राष्ट्रको अर्थतन्त्र सुधार गर्ने हामी सबैको लक्ष्य हो। त्यसले गर्दा राजनीतिक दलका नेतालाई भेट्नेबित्तिकै आफ्नो पक्षमा माहोल बनाइदिन अनुरोध ग¥यो भनेर बुझ्न मिल्दैन।
पछिल्लो समय महासंघप्रति साना तथा मझौला उद्योगी–व्यवसायीको विश्वास घट्दै गएको देखिन्छ। तपाईंको नेतृत्वमा उनीहरूको विश्वास बढाउन के–के गर्नुहुन्छ?
अञ्जन श्रेष्ठ: मैले चुनावी अभियानभन्दा केही समयअघि जिल्ला–जिल्लामा ‘लथालिङ्ग अर्थतन्त्र’ विषयक छलफल र अन्तक्र्रिया गरेको थिएँ। देशभरि विभिन्न जिल्ला र प्रदेशमा साथीहरूको समस्या समान किसिमको रहेको छ। अधिकांशले अहिलेको आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्नुभएको छ। उहाँहरूले सशक्त नेतृत्व भएमात्र यसबाट निकास निकाल्न सकिन्छ भन्ने विचार र सुझाव दिनुभएको छ। जिल्ला–जिल्लामा अहिले बजार शून्य भएको छ। आर्थिक गतिविधि ठप्प छ। कैयौं सटर बन्द छन् तर बैंकले किस्ता तिर्न ताकेता गरिरहेका छन्। यस्तोमा महासंघ नेतृत्वले सबैभन्दा पहिले साना तथा मझौला उद्योगी–व्यवसायीका समस्या सम्बोधन गर्नुपर्ने छ।
त्यसैले मैले उनीहरूलाई के विश्वास दिलाएको छु भने म नेतृत्वमा गएपछि योजनाबद्धरूपमा यसको निकास दिने काम गर्ने छु। उहाँहरूलाई साथै राखेर समस्या र चुनौतीका चाङ केलाउने प्रतिबद्धता जाहेर गरेको छु। उहाँहरू पनि मेरो नेतृत्वमा सकारात्मक हुनुहुन्छ र सहयोग गर्न तयार भएको पाएको छु। उहाँहरूकै जोडबलमा मैले आफ्नो कार्यकालमा अर्थतन्त्रका चुनौतीलाई समाधान गर्दै सबल र सक्षम निजी क्षेत्र बनाउन काम गर्ने छु। साँच्चै भन्ने हो भने साना तथा मझैला व्यवसायीको सहयोगमा नै म अगाडि बढेको हुँ। जसमा अन्य ठूला उद्योगी–व्यवसायीले होस्टेमा हैंसे गर्नुहुने छ।
रामचन्द्र संघई : म अहिले त्रिवेणी ग्रुपअन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य दर्जनौं उद्योग सञ्चालन गरिरहेको छु। करिब १८ हजार श्रमिक परिवार यी सबै उद्योगमा आबद्ध छन्। मुलुकको कूल गार्हस्था उत्पादन (जिडिपी) को अढाइदेखि तीन प्रतिशतको प्रत्यक्ष–अप्रत्यक्ष योगदान त्रिवेणी ग्रुपको रहेको कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु। साना तथा मझौला उद्यम–व्यवसायमा पनि म संलग्न छु। साना तथा मझौला उद्यमी–व्यवसायी साथीहरूले भोग्नुपरिरहेका समस्याबारे म पूर्णजानकार छु।
उमेशलाल श्रेष्ठ : पहिलो कुरा त म पनि मझौला उद्योगी हुँ। त्यसले गर्दा मलाई साना तथा मझौला उद्योगी–व्यवसायीका समस्या राम्रोसँग बुझेको छु। म जमिनबाट उठेको मान्छे हुँ। जसले गर्दा महासंघको नेतृत्वमा गएपछि सबै उद्योगी–व्यवसायीको समस्या समधानका लागि दत्तचित्त भएर लाग्ने छु। जहाँसम्म रह्यो साना तथा मझौला उद्योगी–व्यवसायीको महासंघप्रति आक्रोश रहने नै भयो। नेपालको आर्थिक क्षेत्र र नेपालीहरू विभिन्न कारण आक्रान्त छन्। कोभिडपछिको समस्या छ, रुस–युक्रे लडाइँले महँगी बढेको छ, बैंकमा तरलता अभाव छ।
यी सबै कुराले उद्योगी–व्यवसायी धेरै आक्रान्त छन्। त्यतिमात्र नभई, महासंघको विधानमा समेत धेरैको असहमति छ। महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचन हुने र स्वतः अध्यक्ष बन्ने विधानप्रति धेरैको असहमति छ। त्यसकारण महासंघप्रति साथीहरूको आक्रोश छ। त्यसैले हामी नेतृत्वमा पुग्नेबित्तिकै सबैभन्दा पहिलो काम विधान संशोधन गर्छौं र कुन बेलादेखि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने विषय राख्ने छौं। र, विधानमा थुप्र्रै नमिलेका कुरा छन्। प्रादेशिक संरचनादेखि धेरै कृषिमा जोड दिने खालका विधान ल्याउने छौं। साथसाथै, पूर्वअध्यक्षहरूलाई पनि महासंघमा ‘इन्गेज’ गराउन पूर्वअध्यक्षमण्डल बनाएर वा कुनै पनि शीर्षक दिएर उहाँहरूलाई संगठित बनाएर महासंघको थिंकट्यांकका रूपमा उहाँहरूबाट धेरै पाठ सिक्ने थलोका रूपमा विस्तार गरेर लैजाने छु।