काठमाडौं। सांग्रिला होटल एन्ड रिसोर्ट ग्रुपले निकट भविष्यमै अर्बौं लगानीमा चार ठूला ‘लक्जरी’ होटल निर्माण गर्ने घोषणा गरेको छ। सांग्रिलाले ती चारवटै होटलको व्यवस्थापकीय जिम्मेवारी विश्वप्रसिद्ध होटल व्यवस्थापन कम्पनी ‘आइएचजी होटलल्स एन्ड रिसोर्ट’ लाई दिएको छ।
यससम्बन्धमा सांग्रिला र इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) बीच भारत नयाँदिल्लीमा सम्झौता भएको छ। सम्झौताअनुसार सांग्रिलाले काठमाडौं लाजिम्पाटमा ‘इन्टरकन्टिनेन्टल काठमाडौं लाजिम्पाट’, पोखरा घारीपाटनमा ‘होटल इन्डिगो पोखरा’, पोखरा बेगनास तालमा ‘इन्टरकन्टिनेन्टल पोखरा बेगनास लेक’ र चितवन मेघौलीमा ‘इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन’ निर्माण गर्ने छ।
ती सबै होटलको व्यवस्थापन आइएचीले सम्हाल्ने छ। यो सम्झौतासँगै आइएचजीले नेपालमा व्यवस्थापन गरिरहेका होटलका कोठा संख्या करिब ५ सय पुग्ने छ। आइएचजीले आफ्ना नयाँ दुई ग्लोबल होटल ब्रान्ड ‘इन्टरकन्टिनेन्टल’ र ‘इन्डिगो’ नेपालमा प्रवेश गराउने छ।
काठमाडौं, पोखरा र चितवनमा निर्माणाधीन ती चार होटल आगामी एकदेखि चार वर्षभित्र पूर्णसञ्चालनमा ल्याउने गरी काम भइरहेको सांग्रिलाका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले जानकारी दिए।
‘हाम्रो प्रमुख उद्देश्य भनेको नेपालका नामी गन्तव्यलाई अझै प्रवर्द्धन गर्ने नै हो,’ पाण्डेले क्यापिटल नेपालसँग भने, ‘नयाँ चार होटल स्थापनापछि बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक बढ्दै जाने र गन्तव्य थप गुल्जार हुने विश्वास छ।’
आइएचजीसँग सहकार्य गर्न पाउनु र दुई नयाँ विश्वप्रसिद्ध होटल ब्रान्ड नेपाल प्रवेश गराउन पाउँदा आफूलाई गौरव महसुस भएको उनले बताए। यसबाट संसारभरिका पर्यटकले विश्वस्तरीय आतिथ्य सत्कारको अनुभव गर्न पाउने उनको भनाइ छ।
आइएचजीको दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदिप जैनले सांग्रिलासँगको सहकार्यमा नेपलामा आफ्ना दुई नयाँ होटल ब्रान्ड प्रवेश गराउन पाउँदा औधी खुसी लागेको बताए।
नेपालका प्रमुख तीन पर्यटन गन्तव्यमा चार ठूला लक्जरी होटल स्थापनपछि संसारभरिका पर्यटकले उत्कृष्ट आतिथ्य सत्कार अनुभव गर्न पाउने जैनले बताए।
सांग्रिलाका अनुसार इन्टरकन्टिनेन्टल काठमाडौं लाजिम्पाटमा २ सय २५ वटा लक्जरी कोठा हुनेछन्। उत्कृष्ट रेस्टुरेन्ट, लबी लाउन्ज, बार, बलरुम, सभासम्मेलन कक्ष, खुद्रा पसल, क्लब लाउन्ज, बिजनेस सेन्टर, स्विमिङ पुललगायत सुविधा हुनेछन्।
त्यस्तै १ सय कोठा हुने होटल इन्डिगो पोखरामा खुद्रा पसल, स्विमिङ पुल, दुई ठूला सम्मेलन कक्ष, बलरुम, बोर्डरुम, क्याफे, रेस्टुरेन्ट, लबी लाउन्ज, बारलगायत हुनेछन्।
त्यसैगरी इन्टरकन्टिनेन्टल पोखरा बेगनास लेकमा ८० कोठासहित रेस्टुरेन्ट, लबी लाउन्ज, बार, खुद्रा पसल, हेल्थ क्लब, स्पा, क्लब लाउन्ज, बिजनेस सेन्टर, स्विमिङ पुललगायत सुविधा उपलब्ध हुनेछन्।
मेघोलीमा निर्माणाधीन इन्टरकन्टिनेन्टल रिसोर्ट चितवनमा ८० कोठा हुनेछन्। त्यसमा रेस्टुरेन्ट, लबी लाउन्ज, बार, हेल्थ क्लब, स्पा, बिजनेस सेन्टर, स्विमिङ पुललगायत सुविधा हुनेछन्।