काठमाडाैं। समिट होटलले विकास गरिरहेको परियोजनासँग सिजी डेभलपर्सको संलग्नतालाई जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमा गरिएका टिकाटिप्पणीहरूप्रति सिजीले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।
सिजी डेभलपर्स प्रालिका अध्यक्ष राहुल चौधरीले मंगलबार विज्ञप्ति जारी गरेर समाचारका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। सिजीले समिट होटलकाे परियोजना निर्माणक्रममा सिजी डेभलपर्स व्यवस्थापन र सञ्चालनमा संलग्न नरहेको उनले दाबी गरेका छन्।
विज्ञप्तिमा भनिएकाे छ, 'समिट होटल प्रालिमा उक्त होटल सञ्चालनमा रहेको समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्ममा सिजी डेभलपर्स जम्मा ३० प्रतिशतको साझेदार हो। बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उहाँहरूको परिवार रहनुभएको छ।'
समिट होटल प्रालिले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं सञ्चालनको जिम्मेवारी संचित श्रेष्ठले लिएकाे विज्ञप्तिमा उल्लेख छ।
यस्तै सिजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित छन् ती परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेकाे चाैधरीले बताए। सिजीले काठमाडौं रेसिडेन्सी, सिजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) विकास गरेको बताउँदै उनले अहिले ललितपुरको भैंसेपाटीमा सिजी हिल्स प्रिमियम विकास गरिरहेको जानकारी दिए।
यी परियोजनाहरूको व्यावसायिक व्यवस्थापन र सञ्चालन सिजी डेभलपर्सले गरिरहेकाे छ। चाैधरीले समिट होटलको परियोजनाबारे परियाेजनाका आधिकारिक प्रवक्ता संचित श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएकाे बताउँदै आवश्यक थप जानकारी श्रेष्ठमार्फत नै आउने भएकाले सबैलाई विश्वस्त रहन आग्रह गरेका छन्।