काठमाडौं। मुलुकको अर्थतन्त्र जटिल अवस्थामा पुगिरहेको बेला सरकारको आर्थिक सल्हाकारको भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी उच्च बिन्दुमा छ।
महासंघको ५७औं वार्षिक साधारणसभा मंगलबारबाट सुरु भइसकेको छ। साधारणसभालाई विशेषरूपमा हेरिएको छ। सरकारसँगको साझेदारीमा निजी क्षेत्रमैत्री ऐनकानुन बनाउनेदेखि उद्योग–व्यवसायमैत्री वातावरण बनाउन यो साधारणसभाले विशेष भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ।
देशभरिका उद्योगी–व्यवसायी संघीय राजधानी काठमाडौंमा जारी साधारणसभामा आइपुगिसकेका छन्। उनीहरूले आगामी तीन वर्षका लागि महासंघको नयाँ नेतृत्वसमेत चयन गरेर फर्किने छन्। साधारणसभाले १९औं अध्यक्षका रूपमा रहेका शेखर गोल्छाले अध्यक्षबाट बिदा लिँदैछन् भने २०औं अध्यक्षमा चन्द्रप्रसाद ढकाल आउनेछन्।
कोभिड महामारी, रुस-युक्रेन युद्धपछि जारी आर्थिक संकटका कारण आमउद्योगी–व्यवसायी संकटमा परिरहेका छन्। कोभिडले थलिएर बिस्तारै लय समात्न थालेको व्यवसायमा रुस(युक्रेन लडाइँले महँगी बढेको, सरकारले करिब आठ महिनाभन्दा बढी समय आयात प्रतिबन्ध लगाएको, बैंकमा तरलता अभाव भएको र ब्याजदर ह्वात्तै बढेकोलगाय समस्याको चपेटामा परेका उद्योगी– व्यवसायी आफ्नो समस्या सरकारसँग सहजरूपमा राख्ने खालको नेतृत्व चयन गर्ने होडमा छन्।
महासंघ विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नेछन्। हालका वरिष्ठ उपाध्यक्ष ढकाल अध्यक्ष बन्ने छन् भने अहिले वरिष्ठ उपाध्यक्षसहित ६४ पदमा निर्वाचन हुनेछ। नयाँ नेतृत्वका लागि विगतका निर्वाचनभन्दा यसपालि उम्मेदवारी कम परेको छ। तीन वर्षअघि भएको निर्वाचनमा १ सय २३ जनाको उम्मेदवारी परेको थियो। यसपालि भने १ सय १८ जनाको मात्र उम्मेदवारी परेको छ।
यो संख्या आधार मान्दा पनि पछिल्लो समय जारी आर्थिक संकट वा महासंघप्रति आमउद्योगी–व्यवसायीको विश्वास गुम्दै गएको हो कि भन्ने शंका पैदा हुन थालेको छ। खासगरी वर्तमान नेतृत्वले अर्थतन्त्र धराशयी बनेर साना तथा मझौला उद्योगी–व्यवसायीले आत्मदाह, आत्महत्या गर्नेसमेतको स्थितिमा पुग्दासमेत बेवास्त गरेको, बैंक तथा वित्तीय संस्थाले चर्कोरूपमा ब्याज बढाउँदा निरीह बनेको आरोप लगाउँदै आएको छ।
वरिष्ठ उपाध्यक्षमा तीनजनाको भिडन्त
साना तथा मझौला व्यवसायीको यस्ता आक्रोसबीच वरिष्ठ उपाध्यक्षका लागि इतिहासमै पहिलोपटक तीनजनाले प्रतिस्पर्धा गरिरहेका छन्। अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले आ-आफ्नो टिम बनाएर चुनावी मैदानमा होमिएका छन्।
अञ्जनको टिमबाट जिल्लानगर उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगतमा मनिषलाल प्रधान र एसोसिएटमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन्। आर्चायलाई उमेशलालको टिमबाट उम्मेदवार बने पनि अञ्जनले आफ्नो पनि उम्मेदवारका रूपमा मानेका छन्।
यस्तै रामचन्द्रको टिमबाट जिल्लानगरमा सुरकृष्ण वैद्य, वस्तुगतमा सुकुन्तलाल हिराचन र एसोसिएटमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी दिएका छन्। उमेशलालको टिमबाट जिल्लानगरमा दिनेश श्रेष्ठ, वस्तुगतमा हेमराज ढकाल र एसोसिएटमा भरत आचार्यले उम्मेदवारी दिएका छन्।
महासंघ निर्वाचन बुधबार बिहान ८ बजेबाट सुरु हुनेछ। महासंघ नेतृत्वका लागि ६४ पदमा १ सय १८ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये चार सदस्य निर्विरोध निर्वाचित भएपछि ६० पदमा बुधबार १ सय १४ जनाबीच प्रतिस्पर्धा हुनेछ ।
हिजाे सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने अन्तिम समयमा तीनजनाले उम्मेदवारी फिर्ता गरेपछि थप दुई पदमा निर्विरोध भएको हो। महासंघको जिल्लानगर उद्योग वाणिज्य संघतर्फ १ सय २१, वस्तुगततर्फ १ सय २३ र एसोसिएटतर्फ १ हजार ७ सय ६२ मतदाता छन्।
चारजना निर्विरोध, तीनको उम्मेदवारी फिर्ता
निर्वाचन समितिले दिएको जानकारीअनुसार संस्थापन सदस्यमा भीष्मप्रसाद न्यौपाने, लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ, सुदूरपश्चिम प्रदेशका प्रदेश सदस्यमा जंगबहादुर मल्ल र द्विराष्ट्रिय सदस्यका लागि नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनील केसी निर्विरोध भएका हुन्।
उम्मेदवारी फिर्ताको अन्तिम समयमा सुदूरपश्चिमबाट सदस्यमा उम्मेदवारी दिएका रामबहादुर भण्डारी, संस्थापक समूहबाट टीका ढकाल तथा एसोसिएटबाट विजयसिंह वैद्यले उम्मेदवारी फिर्ता लिएका छन्।
तीन दिनदेखि पाँचतारे होटलमा पार्टी
निजी क्षेत्रसमेत आर्थिक संकटले गुज्रिएको भनिएका बेला महासंघको नयाँ नेतृत्वका प्रत्यासीले मतदाता प्रभावमा पार्न तीन दिनदेखि पाँचतारे होटलमा दैनिक रात्रिभोज गर्दै आएका छन्।
तीनैजना वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन, संघई र उमेशलालले आफ्नो प्रभाव जमाउन मतदातालाई पाँचतारे होटलमा रात्रिभोजको व्यवस्था गर्दै आएका हुन्। रात्रिभोजको तामझाम हेर्दा व्यवसायीहरू आर्थिक संकटमा परेको भन्ने कतैबाट पुष्टि हुँदैन। निकै तडकभडकसाथ आयोजना भएका तीनवटै पक्षका रात्रिभोजमा पुग्नेहरू भने एउटै मतादाता हुन्थे।