काठमाडौं। साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिशी कम्पोष्ट मल नेपालमा भित्र्याएको छ।
साखः ग्रुपअन्तर्गत रहेको दुधौली नगरपालिकास्थित रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एन्ड एग्रो प्रालिले रिकिशी कम्पोष्ट प्रालिको सहकार्यमा रिकिशी ब्रान्ड कम्पोष्ट मल (दुर्गन्धरहित) बजारमा ल्याएको हो।
सिएनबिएन कम्पोष्ट मल वातावरणमैत्री भएको क्योटो युनिभर्सिटी जापानबाट प्रमाणित भएको छ। माटोको उर्वराशक्ति जोगाउँदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न तथा नेपालीको स्वास्थमा पनि सुधार गर्न कम्पोष्ट मल उपयुक्त विकल्पको रूपमा रहेको जनाइएको छ।
जापानी प्रविधि भए पनि नेपालकै स्रोत साधनको उपयोग गरेर मल तयार गरिन्छ। मलखाद बनाउन नगरपालिकाहरूसँगको सहकार्यमा फालिएका कुहिने फोहोर समेतको प्रयोग गरिने गरेको छ। जसले फोहोर व्यवस्थापनमा पनि सहयोगी भूमिका खेल्ने छ।
उनीहरूले जापनको प्रविधिलाई जापनिज प्राविधिको प्रत्यक्ष रेखदेखमा पाँच वर्षदेखि नेपालमा यसको अध्यन अनुसन्धानपछि मात्र बजारमा ल्याएको जनाएका छन्। यो मलको प्रयोगले रासायनिक मलबाट प्राप्त हुने उत्पादन सरह नै उत्पादन हुने व्यहोरा उनीहरुको दाबी छ।
त्यसैले नेपालमा रिकिशी कम्पोष्टले कृषि क्षेत्रमा उल्लेख्य सुधार गर्न सक्ने निश्कर्षसहित व्यावसायिक उत्पादन बजारमा ल्याएको हो। यो मलले रासायनिक मलको बर्सेनि अभाव हुने समस्याबाट पनि मुक्त गर्न सक्ने विश्वास उनीहरूको रहेको छ।
कम्पोष्ट मल रासायनिक मलभन्दा धेरै सस्तो छ। किसानलाई सर्भसुलभ इडले उपलब्ध हुने भएको र लागतको हिसाबले पनि यो एक आकर्षक विकल्प भएको बताइएको छ। दुधौली नगरपालिका स्थित रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एन्ड एग्रो प्रालि साखः ग्रुपअन्तर्गतको भगिनी कम्पनी हो।
विसं. २०३५ सालदेखि नेपालको उद्योग क्षेत्रमा निरन्तर सक्रिय रहेको साखः ग्रुपले फलामे डन्डी, नन फिरस मेटललगायतको क्षेत्रमा लगानी गरेको छ। कृषि क्षेत्रमा मलखाद उत्पादनमा हालै मात्र प्रवेश गरेको हो।