काठमाडौं। बक्यौता बुझाउन नसकेर अनुमतिपत्र (लाइसेन्स) खारेज हुने निश्चित भएपछि नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकम आफैंले मोबाइल सेवा बन्द गर्न थालेको छ।
स्मार्ट टेलिकमले चैत मसान्तसम्म नवीकरण दस्तुर, फ्रिक्वेन्सी, ग्रामीण दूरसञ्चार विकास कोष, रोयल्टी र जरिवाना गरी प्राधिकरणलाई करिब ३० अर्ब रुपैयाँ बुझाउन पर्नेछ। उक्त रकम नबुझाए उसको लाइसेन्स स्वतः खारेज हुनेछ।
सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम १८ अनुसार लाइसेन्स खारेज भएको सेवाप्रदायक कम्पनीको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिने व्यवस्था छ।
जसअनुसार नै स्मार्टले चैत मसान्तसम्म लाइसेन्स नवीकरण गर्न नसके प्राधिकरणले त्यसको स्वामित्व लिन सक्नेछ। त्यही भएर उसले मोबाइल सेवा बन्द गर्न थालेको हो।
मोबाइल सेवा बन्द गर्न थालेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवा सुचारु गर्न स्मार्ट टेलिकमलाई निर्देशन दिएको छ।
प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बिना कुनै अवरोध आफ्नो सेवा चुस्त दुरुस्त पार्न स्मार्ट टेलिकमलाई निर्देशन दिएको हो। स्मार्ट टेलिकमका सेवाहरु देशका केही स्थानहरुमा नचलेको भन्ने बुझिन आएको भन्दै त्यसप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ।
‘अति आवश्यक सेवाको रुपमा वर्गिकरण गरिएको दूरसञ्चार सेवालाई सेवा प्रदायकले अनुमतिपत्र बहाल रहँदासम्म नियम कानुनको पालना गर्दै निरन्तर दूरसञ्चार सेवा सञ्चालन गर्नुपर्ने दायित्व रहन्छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवाको अनुमतिपत्र बहाल रहँदासम्म सेवाग्राहीहरुले बिना कुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी दूरसञ्चार सेवा चुस्त दुरुस्त रूपमा सञ्चालन गर्न निर्देशन जारी गरिएको छ।’
केही समयअघिदेखि नै मुलुकका विभिन्न ठाउँहरुमा स्मार्टको सेवा सञ्चालन नभएको गुनासो आइरहेको छ। सो गुनासोपछि स्मार्टको नविकरण म्याद रहेको समयमा नै जानकारी नदिएर सेवा बन्द गराएको आरोप प्राधिकरणमाथि लागेको थियो।
तर, प्राधिकरणले भने स्मार्टको म्याद रहेसम्म आफूहरुले उसको सेवामा कुनै कदम चाल्न नमिल्ने भएकाले सेवामा आएको अवरोध सो कम्पनीकै प्राविधिक कारणले आएको हुनसक्ने जनाएको थियो। तर हाल भने प्राधिकरणले नियतबस नै स्मार्टले आफ्नो सेवा अवरोध गराएको भन्दै अनुमतिपत्र बहाल रहँदासम्म आफ्नो सेवा जारी राख्न निर्देशन दिएको हो।
‘स्मार्टको सेवा अवरोध भएको कुरा उसको पोलहरुमा आएको समस्या तथा अन्य प्राविधिक समस्याका कारण भएको बताइने गरेको छ,’ प्राधिकरणका एक अधिकारीले क्यापिटल नेपालसँग भने ‘तर उसले हालसम्म नवीकरणका लागि कुनै चासो नदेखाएका कारण लाइसेन्स नवीकरण पनि नगर्ने र सेवा निरन्तर नगराउने नियत टेलिकममा रहेको देख्न सकिन्छ।’ उनले लाइसेन्स नवीकरण गराउने छाँटकाँट नदेखाएका कारण पनि नियतबस नै सेवा बन्द गराएको हुने सक्ने बताए।
‘कुनै पनि बहानामा सेवा प्रदायकले आफ्नो अनुमतिपत्र कायम रहेसम्म आफ्नो सेवा बन्द गर्न वा अवरोध गर्न मिल्दैन,’ ती अधिकारीले भने, ‘सो व्यवस्थामा रहेर नै प्राधिकरणले स्मार्टलाई त्यस्तो निर्देशन दिएको हो।’ उनले यसअघि स्मार्टको सेवामा अघोषित बन्देज लगाइएको विषय यसबाट पनि असत्य सावित हुने बताए।
प्राधिकरणले स्मार्ट कम्पनी आफ्नो स्वामित्वमा ल्याएर सेवा सञ्चालन गर्न बोर्ड सदस्य गोकर्ण सिटौलाको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन समूह यसअघि नै बनाइसकेको छ।
यता स्मार्टको लाइसेन्स खारेज हुने क्रममा रहँदा अर्कोतर्फ नेपाली कांग्रेस सांसदसमेत रहेका डलर अर्बपति विनोद चौधरीको सिजी टेलिकमले लाइसेन्स पाउने सम्भावना बढ्दै गएको छ। सिजीले हाल लाइसेन्सका लागि प्रक्रिया अगाडि बढाएको छ। अपुग भएका कागजात मगाउने र पेस भएका कागजात जाँच गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।