काठमाडाैं। निर्जीवनतर्फ ५० लाख रुपैयाँ र जीवनतर्फ पाँच लाख रुपैयाँसम्मको बिमा गर्न सकिने गरी लघु बिमा निर्देशन, २०७९ जारी भएको छ।
बिमालेख अवधि, बिमा शुल्क, लघु बिमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल बिमा प्राधिकरणले निर्देशन जारी गरेको हो। निर्देशनअनुसार लघु जीवन बिमाअन्तर्गत आवधिक लघु जीवन बिमा, सावधिक लघु जीवन बिमा, म्यादी लघु जीवन बिमा र अन्य लघु जीवन बिमा रहेका छन्।
त्यस्तै, निर्जीवन बिमातर्फ घर, सम्पत्ति तथा व्यवसाय, सवारी, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक क्षति र अन्य लघु निर्जीवन बिमा गर्न पाइनेछ।
प्राधिकरणले लघु बिमाका लागि बिमालेखको अवधि पनि तोकेको छ। जीवन लघु बीमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधिको मात्रै बीमालेख जारी गर्न पाइनेछ। निर्जीवन लघु बीमाको हकमा भने एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र बीमालेख जारी गर्न सकिनेछ।
निर्देशनमार्फत लघु बिमाको सीमा पनि तोकिएको छ। घर, सम्पत्ति तथा व्यवसाय र सवारी साधनको ५० लाख रुपैयाँसम्मको लघु बिमा गर्न सकिनेछ। दायित्व तथा मौद्रिक क्षतिको र अन्य लघु बीमाका लागि अधिकतम पाँच लाख रुपैयाँसम्मको लघु बिमा गर्न पाइनेछ।
त्यस्तै, जीवन बीमा कम्पनीले अधिकतम रु पाँच लाखसम्मको बिमांक भएको लघु बिमा मात्रै जारी गर्न पाउनेछन्।लघु बिमा कम्पनीहरूले टेलिकम, इन्टरनेट सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, स्टोर, होटल, रेस्टुरेन्टलगायत आपूर्ति शृङ्खलामा आबद्ध सङ्घसंस्थासँग सहकार्य गरी लघु बिमा जारी गर्न सक्ने व्यवस्था पनि निर्देशनमा राखिएको छ।
लघु बिमा व्यवसायको विकास, प्रवर्द्धन तथा व्यवस्थापनमार्फत न्यून आय भएका व्यक्ति तथा सम्पत्तिको सुरक्षाका लागि प्राधिकरणले यो निर्देशन कार्यान्वनयमा ल्याएको हो। गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा, सीमान्तकृत समूहका लागि लक्षित गरी प्राधिकरणले लघु बिमासम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको हो।