काठमाडाैं। नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरेकाे छ।
भेटका क्रममा अटोमोबाइल क्षेत्रका समसामयिक समस्याका विषयमा छलफल भएकाे छ। उक्त छलफलको क्रममा अध्यक्ष थापाले सवारीसाधनलाई सरकारले विलासीताको वस्तुमा वर्गीकरण गरी सोही अनुरुप नीतिको निर्माण भइरहेको गुनासो गर्दे सवारीसाधनलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे।
सोही क्रममा अध्यक्ष थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनुपर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधन आम जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकाले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधनमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गरे।
त्यसै क्रममा अध्यक्ष थापाले अहिले अटोमोबाइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिए।
उक्त छलफलको क्रममा मन्त्री महतले आफू धेरै अप्ठयारो परिस्थितिमा आएको बताउँदै अटोमोबाइल व्यवसायीको समस्या सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने बताए। उनले कुन-कुन विषयहरुमा अटोमोबाइल व्यवसायीलाई समस्या परेको छ त्यसबारे आउँदो बजेट सुझावमा समावेश गरी पठाई दिन आग्रह गर्दे त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिए।
सोही भेटघाटको क्रममा मन्त्री महतले अब अटोमोबाइल व्यवसायीले विद्युतीय सवारीसाधनको उत्पादन र बिक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह गरेकाे अध्यक्ष थापाले बताए। उनले विद्युतीय सवारीसाधनकाे प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरे।
त्यसैगरी उक्त छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारीसाधन डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च बिन्दुमा पुगेका कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेकाले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गरे।
उक्त भेटघाट तथा छलफलमा नाडाका सचिव विक्रम सिंहानिया सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसाेसिएसनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रीय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकास गोल्छा समेतको उपस्थिति थियो।