काठमाडौं। ब्याजदरकै कारण अर्थतन्त्रको चक्र बिग्रिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल गम्भीर छलफलमा उत्रिएका छन्।
व्यवसायीको मनोबल उकास्न र ब्याजदर घटाउने विषयमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महत निरन्तर छलफलमा जुटेका हुन्। प्रधानमन्त्री दाहालले सोमबार बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताए ।
सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा सञ्चालकहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए।
गभर्नर महाप्रसाद अधिकारीलाई सामुन्ने राखेर ब्याजदर घटाउने विषयमा प्रधानमन्त्री दाहालले वित्तीय संस्थाका सञ्चालकसँग छलफल गरेका थिए। गभर्नर अधिकारीलाई अघि राखेर ब्याजदर घटाउन दबाब दिनु भनेको एक हिसावले दबाब दिन खाजेको हो।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यन, उपाध्यक्ष भोजबहादुर शाह, नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललगायत बैंकका सञ्चालकहरूको उपस्थित थियो।
‘मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौं बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौं। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ।’
विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महसुस भइरहेको छ।
अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ’, दाहालले भने, ‘बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत् छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कालाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौं ।’
अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार भएको उनको भनाइ छ। यसमाभूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण छन्। आयात, निर्यातसम्बन्धी निर्यातमा भएका सीमाहरूको कारण पनि छ। राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेको उनको भनाइ छ।
अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिएको उनको भनाइ छ। घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न नसकिने उनको भनाइ छ।