काठमाडौं। नेपालमा सुरुङको इतिहास हेर्दा शताब्दी पुरानो छ। करिब १ सय ५ वर्ष पहिले तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले हेटौंडा र अमलेखगन्ज जोड्न सुरुङ खनेको पाइन्छ।
२०१६ सालसम्म उक्त सुरुङबाट सवारीसाधन आवतजावत गरेको थिए। त्यसयता लामो समयसम्म सरकारले सडक सञ्जालमा सुरुङ खनेको थिएन। पछिल्लो एक दशकयता भने नेपालमा सुरुङ बनाउने चर्चा बढ्दै गएको छ। साथै खानेपानी, सिँचाइ र जलविद्युत आयोजनामा सुरुङ निर्माण भइसकेका छन्।
सडक सञ्जालमा भने नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणाधीन अवस्थामा छ। त्यसबाहेक पृथ्वी राजमार्गमा सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि पूर्वतयारीको काम भइरहेको छ। देशभरिका सडकमा दुई दर्जन बढी स्थानमा सुरुङमार्ग निर्माणका लागि सरकारले अध्ययन गर्ने योजना अघि सारेको छ।
मेलम्ची खानेपानी आयोजनामा २७ किलोमिटर, खिम्ती जलविद्युत आयोजना नौ, कालिगण्डकी जलविद्युत आयोजना सात र भेरी बबई डाइभर्सन आयोजनामा १२ किलोमिटर सुरुङ बनिसकेका छन्। सडक सञ्जालमा सुरुङमार्ग निर्माण थोरै भए पनि जलविद्युत तथा खानेपानीका आयोजनामा भने धेरै सुरुङ बनिसकेका छन्।
लामो समयदेखि नेपालमा मान्छेले वर्षौं लगाएर सुरुङ खन्ने चलन थियो। हालसम्म खनिएका भेरी बबईबाहेक अन्य सबै आयोजनाको सुरुङ मान्छेले नै खनेका हुन्।
तर, २०७३ सालबाट भने नेपालमा पनि मेसिन प्रयोग गरेर सुरुङ खन्न थालियो। नेपालमा पहिलोपटक २०१७ नोभेम्बरबाट भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा अमेरिकी प्रविधिको ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) प्रयोग गरिएको हो।
उक्त मेसिनले पूर्वनिर्धारित समयभन्दा पहिला नै भेरी बबईको १२ किलोमिटर सुरुङ खनेको थियो। त्यही प्रकृतिको मेसिन २०७९ असोज २८ बाट सुनकोसी मरिण डाइभर्सन बहुद्देश्यीय आयोजनामा प्रयोग भइरहेको छ। आयोजनाका अनुसार त्यहाँ पनि टिबिएमले लक्ष्यभन्दा अघि १३ किलोमिटर लामो सुरुङ खन्ने सम्भावना बढ्दै गएको छ।
अहिले नेपालमा टिबिएमको प्रभावकारिता बढ्दै गएको छ भने सरकारले पनि सडक सञ्जालमा सुरुङ निर्माण गर्ने योजना बढाउँदै गएको छ। तर, सडक सञ्जालमा बन्ने सुरुङमा मेसिन प्रयोग गर्ने योजना सरकारको देखिँदैन। सुरुङ छिटो निर्माण पूरा हुने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चासो किन छैन?
मन्त्रालयका सहसचिव एवं विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख शिवप्रसाद नेपाल लागत र सुरुङ लम्बाइका हिसाबले मेसिन प्रयोग नभएको बताउँछन्। सामान्यतयाः सडकमा निर्माणाधीन र अध्ययन चरणमा रहेका सुरुङको लम्बाइ थोरै छ। जसका कारण मेसिन प्रयोग गर्दा लागत बढी लाग्ने सहसचिव नेपालले बताए।
प्रत्येक सुरुङ बनाउन छुट्टाछुट्टै मेसिन बनाउनुपर्ने उनको भनाइ छ। ‘सुरुङको आकारअनुसार मेसिन चाहिन्छ, अनि सबै सुरुङको साइज एउटै हुँदैन,’ सहसचिव नेपालले क्यापिटल नेपालसँग भने, ‘त्यसैले छुट्टै मेसिन तयार गर्दा धेरै रकम खर्च हुन्छ।’
सामान्यतया ६ किलोमिटरभन्दा बढी लम्बाइको सुरुङमा मात्रै टिबिएम प्रयोग गर्नु आर्थिक रूपले उपयुक्त हुने उनको भनाइ छ। ‘दुई किलोमिटर सुरुङ खन्न ४०/५० करोडको मेसिन बनाउँदा आर्थिकरूपमा उपयोगी देखिँदैन,’ उनले भने, ‘संसारभरि नै टिबिएम प्रयोग हुन्छ भन्ने छैन। तर, लम्बाइ बढी भएका ठाउँमा उपयुक्त हुन्छ।’
नेपालका सडकमा निर्माणाधीन र अध्ययन भएका सुरुङको लम्बाइ ६ किलोमिटरभन्दा कम देखिएकाले उक्त विषयमा मन्त्रालयले चासो नदेखाएको उनको भनाइ छ।
सुरुङ खनेपछि के गरिन्छ टिबिएम मेसिन?
सामान्यतया टिबिएम मेसिनको लम्बाइ ३ सय मिटर हुने गर्छ। एउटा आयोजनाका लागि बनाइएको मेसिन अन्य आयोजनामा प्रयोग हुँदैन। जसका कारण मेसिनका काम लाग्ने सामान अर्को मेसिन बनाउन र काम नलाग्ने सामान कबाडीमा बेच्ने गरिन्छ।
भेरी बबईमा प्रयोग गरिएको टिबिएम पनि निर्माण कम्पनीले लगेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) तथा सूचना अधिकारी लेखनाथ सुवेदी बताउँछन्।
‘मेसिन खरिद गरेको निर्माण कम्पनीले नै हो। त्यसैले उसले लग्यो। काम लाग्नेलाई पुनः प्रयोग गरेर नलाग्नेलाई कबाडीमा बेच्ने गरिन्छ,’ उनले भने।
सुवेदी पनि टिबिएम मेसिन प्रयोग गर्न सुरुङको लम्बाइलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। लम्बाइ धेरै भएको सुरुङमा मेसिन प्रयोग गर्दा आर्थिकरूपमा फाइदा र छिटो सम्पन्न हुने भए पनि थोरै लम्बाइमा भने खर्च बढी हुने बताउँछन्। जसका कारण आवश्यकता र प्रभावकारिता हेरेरमात्रै टिबिएम प्रयोग गर्नुपर्ने उनको भनाइ छ।