मुलुकको निजी क्षेत्र यतिबेला चुनावी माहोलमा छ। काठमाडौंको बढ्दो गर्मी व्यवसायीको चुनावी सरगर्मीले झनै चर्किंदै गएको छ। नेपाल उद्योग वाणिज्य महासंघमा तीन वर्षे कार्यकालका लागि नेतृत्व लिन व्यवसायीहरू चुनावी दौडमा छन्। निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको महासंघमा मैले काम गर्न थालेको १८ वर्ष भइसकेको छ। निर्माण व्यवसायी महासंघमा १२ वर्ष काम गरिसकेको छु।
उद्योग–व्यवसायसम्बद्ध सामाजिक क्षेत्रमा काम गरेको मात्र ३० वर्ष भइसकेको छ। हाल म महासंघको कोषाध्यक्ष छु। निजी क्षेत्रका संघसस्थामा तीसौं वर्ष बिताइसकेको हुनाले अब नेतृत्व तहमा पुग्ने इच्छा लिएको छु।
महासंघ उपाध्यक्ष हुँदै नेतृत्वमा पुग्ने मेरो चाहना हो। उपाध्यक्षको उम्मेदवार बनिरहँदा कोषाध्यक्ष हुँदा के ग¥यौ भन्ने धेरैको प्रश्न पनि हुनसक्छ। कोषाध्यक्षमा रहँदा महासंघको आर्थिक सुधार धेरै गरेको छु। जसका कारण महासंघको आर्थिक अवस्था निकै सुदृढ भएको छ। आजसम्मको हिसाब हेर्दा महासंघमा १७ करोड रुपैयाँ बचत छ। थप ७ करोड बचत क्रममा हुँदा २१ करोड महासंघको खातामा रहन्छ। यो रकम जम्माका लागि धेरै अथक मेहनत गरेका छौं।
उदाहरणका लागि महासंघमा एकाउन्टेन्टमात्र नभई चार्टर्ड एकाउन्टेनको समेत व्यवस्था गरेका छौं। जसका कारण महासंघको हिसाबकिताब ‘क्लियर’ होस् भन्ने धारणासाथ अगाडि बढेका हौं। खर्चमा मितव्ययिता अपनाएका कारण महासंघको कोष बलियो बनाउन सफल भएका हौं। र, महासंघमा रहेका कर्मचारीका आत्मबल बढाउन ३० प्रतिशत तलब बढाएका छौं।
महासंघका कर्मचारीले दिलो ज्यान दिएर काम गरेकै कारण कोष बलियो भएको हुँदा उनीहरूलाई हौसलावापत तलब वृद्धि गरिदिएका हौं। जसले महासंघमा ठूलो फाइदा पुगेको छ। महासंघमा हुने खर्च र आम्दानी अनलाइनमार्फत नै ‘अपडेट’ हुने गरेको छ। यसको अर्थ सचिवालय चुस्त छ। म नैतिक मूल्य र मान्यताका आधारमा निर्वाचनमा होमिएको हुँ। म जे गर्छु, राम्रै काम गर्छु। र, फड्को मारेको छैन। कोषाध्यक्ष भइसकेको हुनाले उपाध्यक्षमा उठ्नु मेरो उम्मेदवारी प्राकृतिक हो।
उपाध्यक्ष भएर गर्ने काम यी हुन्
अहिले महासंघमा १ सय २३ वटा वस्तुगत संघ आबद्ध छन्। ती संघका कार्यालय अहिले विभिन्न ठाउँमा छरिएरका छन्। अब वस्तुगतका कार्यालय एकै छानामुनि बनाउने योजनासाथ महासंघको हालको भवन पछाडि रहेको जग्गामा भवन निर्माण गर्ने योजना अघि बढेको छ। २७ आना जग्गामा भवन निर्माणको लागि मेरै सक्रियतामा नक्सासमेत बनाइसकिएको छ।
र, अब त्यहाँ नयाँ भवन बनाएर सबै वस्तुगतका कार्यालय एकै ठाउँमा राख्ने लक्ष्य मैले लिएको छु। म निर्वाचित भएपछि प्राथमिकता नै त्यही भवन निर्माण गरी वस्तुगत संघका कार्यालय÷ सचिवालय व्यवस्थित बनाउनमा केन्द्रित रहने छु।
वस्तुगत संघ व्यवस्थित गर्नु महासंघको दायित्व भएका कारण भवन निर्माण गर्ने योजना मैले लिएको छु।
यदि, भवन निर्माण गरेर सचिवालय व्यवस्थित बनाउन सके हाल कार्यालय सञ्चालनका लागि खर्चिंदै आएको लाखौं रुपैयाँ सदस्यहरूको बचत हुन्छ। अहिले पनि १४ वटा वस्तुगत संघका कार्यालय वल्र्ड ट्रेड सेन्टरमा छन्। ती कार्यालयको सचिवालय एउटै छ। अब महासंघमा पनि भवन निर्माण भएपछि एकै सचिवालयले १ सय २३ वटै वस्तुगत संघलाई समेट्ने गरी काम गर्ने मुख्य अजेन्डा मेरो हो।
भवन निर्माणसँगै महासंघमा प्रशासनिक सुधारसमेत हुन आवश्यक छ। अहिले महासंघमा साना/साना कार्यक्रम विभिन्न विदेशी दातृ निकायका सहयोगबाट गरिँदै आएको छ। विदेशी सहयोगमा गर्दा उनीहरूकै चाहनाअनुसार गर्नुपर्ने भएकाले अब त्यस्ता सहयोग बिस्तारै हटाउँदै जानुपर्छ।
महासंघका लागि नलिई नहुने सहयोगबाहेक अन्य कार्यक्रम नलिने निर्णयसमेत गराउन सक्नुपर्छ। प्रत्यक्षरूपमा आमनेपालीलाई लाभ हुनेखालका कार्यक्रम भए लिने, नभए नलिने खालका निर्णय गरेर महासंघ अगाडि बढ्नुपर्छ।
यदि म निर्वाचित भएँ भने सहयोगको नाममा जस्तासुकै कार्यक्रम नलिने निर्णय गर्न लागिपर्ने छु। कोभिड महामारी र आर्थिक संकटबीचमा त महासंघको आर्थिक स्थिति सुधार भइरहेका बेला अब बिस्तारै थप सुधार हुँदै जाने अपेक्षा मैले लिएको छु। त्यसैले अब बिस्तारै अरूको मुख ताक्नुपर्ने बाध्यता हटाउँदै जानुपर्छ।
अब महासंघले सरकारसँग मिलेर आमसर्वसाधारणलाई फाइदा हुने खालका आर्थिक नीति ल्याउन पहल गर्नुपर्छ। म अहिलेसम्म जहाँ बसेको छु र जे काम गरेको छु, इमानअनुसार गरेको हुनाले आममतदाताले मलाई मूल्यांकन गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु।
महासंघ प्रशासनिक सुधारसँगै सरकारलाई निजी क्षेत्रका तर्फबाट धेरै सुझाव दिन बाँकी छ। सरकार र निजी क्षेत्रबीच हातेमालो गरेर अगाडि बढ्नुपर्छ। निजी क्षेत्र सरकारको ‘पार्टनर’ हो। तर, सरकारले निजी क्षेत्रलाई पार्टनरका रूपमा स्वीकार गरेको छैन।
त्यसैले मुलुकको आर्थिक अवस्था सुधार र विकासका लागि निजी क्षेत्रलाई पार्टनरका रूपमा साथै लिएर जानुको विकल्प छैन। त्यसका लागि म जितेर आएपछि महासंघको टिमसहित ‘लबिङ’ गरेर अगाडि बढ्ने छु।
(हिराचन वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईको टिमका वस्तुगत उपाध्यक्षका उम्मेदवार हुन्।)