काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्य आर्थिक परिसूचक सकारात्मक रहे पनि राजस्वको अवस्था भने चिन्ताजनक भएको बताएका छन्।
सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री महतले यस्तो बताएका हुन् । हाम्रो आर्थिक परिसूचक सकारात्मक भए पनि राजस्व संकलनको अवस्था भने चिन्ताजनक छ, मन्त्री महतले भने, 'लगानी गर्ने वातावरणमा नराम्रो छाप परेको कारण यसलाई सुधार गर्न आवश्यक छ।'
उनले अहिले हाम्रो अर्थतन्त्र केही समस्यामा परेको भए पनि बढी मात्रामा नकारात्मक भास्य सिर्जना भएको बताए। 'हाम्रो अर्थतन्त्र बिग्रियो-बिग्रियो भन्नेलाई अब सप्रियो-सप्रियो भन्ने बनाउनु छ। यसको सुधारका लागि म प्रतिबद्ध छु', उनले भने।
महतले बैंकको ब्याजदर बढी भएको विषयमा राष्ट्र बैंकसँग छलफलमा रहेको पनि जानकारी दिए। 'भन्सार गत वर्षभन्दा २८ प्रतिशतले कमी आएको छ। हाम्रो राजस्वको अवस्था चिन्ताजनक छ,' महतले भने, 'सामाजिक सुरक्षामा गरेको लगानी फिर्ता गर्ने अवस्था छैन भने शिक्षा स्वास्थको खर्छ पनि कम गर्ने वातावरण छैन।'
उनले समयमा योजना अघि नबड्ने कारण पुँजीगत खर्च कम देखिएको पनि बताए। पुँजीगत खर्च बढाउन सम्पूर्ण किसिमको शक्ति प्रयोग गरेर ध्यान केन्द्रित गर्ने पनि उनको भनाइ छ।
राज्य र निजी क्षेत्रको साझेदारीमा मात्र आर्थिक विकास हुनसक्ने बताउँदै निजी क्षेत्रको समस्या आफ्नो समस्या भएको उनले जिकिर गरे। निजी क्षेत्र चलयमान नभए सरकार चल्न नसक्ने उनले बताए। देशको अर्थतन्त्र एक्लै सुधार्न नसक्ने र यसमा सबै मिल्नुपर्ने उनको भनाइ छ।