काठमाडौं। नेपाल राष्ट्र बैंकले ‘भर्चुअल’ तथा ‘क्रिप्टोकरेन्सी’ सम्बन्धी सबै प्रकारका कारोबार गैरकानुनी भएको भन्दै त्यस्तो गतिविधिमा संलग्न नहुन पटकपटक आग्रह गर्दै आएको छ।
केही दिनअघि पनि राष्ट्र बैंकले एक सूचना जारी गर्दै भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा हाइपरफन्ड कारोबार गैरकानुनी भएकाले त्यस्तो कारोबार नगर्न/नगराउन आग्रह गर्यो।
राष्ट्र बैंकले २०७४ साउन ९ मा पहिलोपटक सूचना जारी गर्दै यस्तो कारोबारमा संलग्न नहुन आग्रह गरेको थियो। त्यसयता पाँचपटक सूचनामात्रै जारी गरिसकेको छ।
नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा भर्चुअल/क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको, कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र कुनै सुरक्षण नभएको हुँदा भर्चुअल÷क्रिप्टो कारोबार गैरकानुनी रहेको राष्ट्र बैंकको भनाइ छ।
उसले यस्तो कारोबार पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपरफन्डमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलाप लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवं उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिम अन्तरनिहित रहने भएकाले संलग्न नहुन पटक–पटक आग्रह गरेको छ।
राष्ट्र बैंकले आफ्नो आग्रह र सूचना बेवास्ता गर्दै यस्ता कारोबार भइरहेका कारण नै यस्ता कारोबारमा संलग्न नहुन बारम्बार आग्रह गर्दै आएको देखिन्छ।
नेपाल दूरसञ्चार प्राधिकरणले पनि क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायत गैरकानुनी वेबसाइट र एप बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिँदै आएको पाइन्छ।
प्राधिकरणले केही समय अघिमात्र यस्ता क्रियाकलाप नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन गर्न सेवा प्रदायकलाई ताकेता गरेको थियो।
तर, यस्ता कारोबार हुने वेबसाइट र प्लेटफर्म एकातर्फ सरकारले बन्द गराउँदै जाँदा, अर्कातर्फ नयाँ–नयाँ थपिँदै जाने क्रम बढेकाले सरकारका लागि यस्तो कारोबार रोक्नु टाउको दुखाइको विषय बनेको छ।
‘नेपालमा गैरकानुनी रहेका यस्ता कारोबार पूर्णरूपमा निस्तेज पार्न असम्भवजस्तै देखिन्छ,’ दूरसञ्चार प्राधिकरणका उपनिर्देशक तथा सहायक प्रवक्ता अच्युतानन्द मिश्रले क्यापिटल नेपालसँग भने, ‘हामीले पत्ता लगाएका यस्ता कारोबार हुने वेबसाइट बन्द गर्दै जान्छौं तर नयाँ–नयाँ वेबसाइट र प्लेटफर्म बन्दै जान्छन्।’
त्यही भएर यस्तो कारोबार रोक्न चुनौतीपूर्ण देखिएको उनको भनाइ छ। ‘यस्ता कारोबार कहाँ र कसरी तथा कति मात्रामा भइरहेका छन् भन्ने जानकारी हामीसँग हुँदैन,’ मिश्रले भने, ‘हामीलाई राष्ट्र बैंक वा सिआइबीले यस्तो वेबसाइटमा गैरकानुनी कारोबार भएकाले बन्द गर्न निर्देशन दिन्छन्। सोहीअनुसार हामी त्यसलाई बन्द गराउने काम गर्छौं।’
उनका अनुसार विभिन्न समयमा सेवा प्रदायकले ध्यान नपु¥याउँदा यस्ता विषय थप बढ्ने भएकाले नियामक निकायका रूपमा प्राधिकरणले उनीहरूलाई सचेत गराउँदै आएको छ।
सेवा प्रदायकले पनि यस्ता गतिविधि रोक्न सक्रिय भएर लागिरहेको उनको भनाइ छ। राष्ट्र बैंकले पनि यस्ता कार्य देशमा प्रतिबन्ध रहेको बताउँदा बताउँदै धेरै व्यक्ति संलग्न रहेको फेला परिरहेका कारण आफूहरूले पटक–पटक सूचना जारी गर्नुपरेको जनाउँदै आएको छ।
अन्य देशमा खुला क्रिप्टोकरेन्सी कारोबार नेपालमा किन प्रतिबन्ध?
विभिन्न देशले आफ्नो देशका नागरिकले अन्य देशमा गर्ने लगानी, एक देशबाट अर्को देशमा हुने पुँजी प्रवाह र मौद्रिक व्यवस्थाका सम्बन्धमा समेत फरक–फरक प्रबन्ध गरेको पाइन्छ।
नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्धित छ। नेपालमा चालू खाता पूर्णपरिवत्र्यता प्रदान गरिएको भए पनि पुँजी खातामा त्यस्तो व्यवस्था गरिएको छैन। विश्वभरि प्रचलित एवं सार्वभौम मुलुकले जारी गरेको मुद्रा (जस्तै, अमेरिकी डलर, जापानी येन, बेलायती पाउन्ड आदि) का सम्बन्धमा समेत नेपालमा नियमन÷नियन्त्रण गरिएको व्यवस्था विद्यमान छ।
नेपालीले नेपालभित्र तोकिएको सीमासम्म मात्र नगद विदेशी मुद्रा राख्न सक्ने व्यवस्था छ। साथै, भारतीय रुपैयाँ १ सयभन्दा ठूला दरका नोट नेपालमा प्रतिबन्धित रहेको हुँदा क्रिप्टोकरेन्सीसम्बन्धी नियन्त्रण÷प्रतिबन्ध नेपालको विशिष्ट व्यवस्थाअन्तर्गत रहेको छ।
संयुक्त राष्ट्र संघअन्तर्गतका निकाय, युएनसिटिएडीले क्रिप्टोकरेन्सी विकासशील राष्ट्रलाई हानिकारक हुने र विकासोन्मुखमा क्रिप्टोकरेन्सी विस्तार रोक्नुपर्ने धारणा राखेको छ।
त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषले एल साल्भाडोरलाई क्रिप्टोकरेन्सीको कानुनी ग्राह्यता खारेज गर्न सुझाव दिएको छ। चीन र भारतमा समेत क्रिप्टोकरेन्सीलाई अन्य विकसित देशजस्तो खुला गरिएको छैन।
यही कारण राष्ट्र बैंकले पछिल्लोपटक प्रकाशित गरेको क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषणमा नेपालमा यस्तो कारोबार प्रतिबन्ध गरेको उल्लेख गरेको छ।
‘नेपालभित्र कारोबारका लागि नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउनुपर्ने विद्यमान कानुनी व्यवस्थासमेतले गर्दा निजी क्षेत्रबाट मुद्राका रूपमा कार्य गर्न सक्ने गरी कुनै वस्तु (दृश्य वा अदृश्य) जारी हुने परिकल्पना गरिएको छैन, प्रचलित नेपाल कानुनले उक्त कार्य दण्डनीय मानेको छ,’ राष्ट्र बैंकको विश्लेषणमा छ।
लगानी डुब्ने खतरा
क्रिप्टोकरेन्सी प्रतिबन्ध लगाएर सरकारले नेपालीलाई आकर्षक लगानीको प्रतिफल दिने लगानीको उपकरणबाट वञ्चित गराएको विषय पनि उठ्ने गरेको छ।
तर, राष्ट्र बैंक भने लगानी रकम पनि डुब्न सक्ने बताउँछ। ‘क्रिप्टोकरेन्सीमा गरेको लगानी सट्टेबाजी प्रकृतिको लगानी भएको हुँदा त्यसबाट प्रतिफल प्राप्त हुन पनि सक्छ वा प्रतिफल प्राप्त नभई आफ्नो सम्पूर्ण लगानी रकम (मूलधन) नै डुब्न पनि सक्छ,’ राष्ट्र बैंकको जोखिम विश्लेषणमा छ।
राष्ट्र बैंकले लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ विद्यमान रहेको हुँदा क्रिप्टोकरेन्सीका हकमा मात्र नभई कुनै पनि प्रकारबाट विदेशमा लगानी गर्न जस्तै, विदेशमा घर–जग्गा खरिद गर्न, विदेशी धितोपत्र खरिद गर्न, विदेशी कम्पनीको स्वामित्व ग्रहण गर्न, विदेशी बैंकमा खाता खोल्न आदिसमेत प्रतिबन्धित रहेको स्पष्ट पारेको छ।
क्रिप्टोकरेन्सीमा लगानी गरेका विदेश बस्ने नेपालीलाई पनि कारबाही
क्रिप्टोकरेन्सीमा लगानी गरेका तर विदेश बस्ने नेपालीलाई पनि कारबाही हुने राष्ट्र बैंकले जनाएको छ।
‘कतिपय कानुनी व्यवस्था पालना सरकारबाटै गराउने सम्बन्धमा देशका केही सीमा भने हुन सक्छन्। जस्तै, देशका सम्पूर्ण नागरिक अपराधिक क्रियाकलापमा संलग्न हुने हो भने सम्पूर्ण नागरिकलाई सजाय दिलाउनेलगायत कारागारमा राख्ने विषय जुनसुकै देशलाई असम्भवप्रायः हुन सक्दछ,’ राष्ट्र बैंकले भनेको छ, ‘यद्यपि, क्रिप्टोकरेन्सीको प्रतिबन्ध बर्खिलाप हुने कार्यमा सहभागी भई विदेशमा बस्ने नेपालीलाई समेत नेपाल पक्ष रहेका विभिन्न द्विपक्षीय तथा बुहपक्षीय अन्तर्राष्ट्रिय सन्धी सम्झौतामार्फत् उपयुक्त कानुनी दायरामा ल्याउन सकिन्छ।’
क्रिप्टोकरेन्सी भनेको निजी क्षेत्रबाट जारी गरिएको मुद्राका रूपमा समेत कारोबार गर्न सकिने डिजिटल वस्तु हो। वित्तीय मध्यस्थकर्ता (मुद्रा निष्कासन गर्ने केन्द्रीय बैंक वा मौद्रिक अधिकारी) बिनै भुक्तानीसम्बन्धी कार्य गर्न सक्ने गरी क्रिप्टोकरेन्सी जारी हुने गर्दछ।
क्रिप्टोकरेन्सी नेटवर्कमा आबद्ध सम्पूर्ण प्रयोगकर्ताले हिसाब–किताब राख्ने कार्यमा ‘ब्लकचेन’ प्रविधि प्रयोग गरिएको हुन्छ। क्रिप्टोकरेन्सीलाई मुद्रा भन्ने गरिए पनि यो कुनै सार्वभौम मुलुकले जमानत÷सुरक्षण राखी जारी गरेको मुद्रा होइन। यसलाई निजी क्षेत्रका कुनै निश्चित व्यक्ति÷समूहले जारी गर्ने हुँदा यसमा गरिएको लगानीको कुनै प्रत्याभूति हुँदैन। तसर्थ, यसमा गरिएको लगानी जोखिमपूर्ण रहन्छ।
भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङ कारोबार अहिले विश्वव्यापी समस्या बन्दै गएको छ। क्रिप्टोकरेन्सीले अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीलाई चुनौती दिइरहेको छ। नेपाल, बंगलादेश, चीन, कतार, मोरक्को, इराक, इजिप्ट, अल्जेरिया र ट्युनिसियालगायत अधिकांश देशमा क्रिप्टोकरेन्सी कारोबार प्रतिबन्धित छ। भारतले आंशिकरूपमा क्रिप्टो कारोबार खुला गरेको छ।
ब्लकचेनसम्बन्धी डेटा विश्लेषण गर्ने कम्पनी ‘चेनएनालाइसिस’ ले उक्त इन्डेक्स प्रकाशित गरेको छ। उक्त कम्पनीका अनुसार उसले विश्वका ७० देशमा सरकारी तथा आर्थिक निकायका लागि डेटा, अनुसन्धानसहितको सेवा प्रदान गर्दै आएको छ।