काठमाडौं। ललितपुर महानगरपालिका–१, बखुन्डोलमा समिट होटल र अपार्टमेन्ट बनाउन जग खन्दा आसपासको टोल नै भासिएको छ । समिट होटल र अपार्टमेन्ट निर्माणका लागि कम्पनीले नक्सा पास नै नगरी निर्माण सुरु भएको खुलेको छ ।
पुरानो समिट होटल भत्काई त्यस ठाउँमा समिट र अपार्टमेन्ट बनाउन जग खन्दा शुक्रबारदेखि अचानक आसपासका घर भासिएका थिए। उक्त घटनापछि स्थानीय डेरा खोजेर अन्त सर्न थालेका छन्। प्रहरीले उनीहरूलाई डेरा खोज्न सहजीकरण गरिरहेको छ।
उक्त निर्माणबाट छिमेकी रञ्जनध्वज विष्ट र रञ्जन श्रेष्ठको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । विष्टको ६ तलाको घरमा एक तला भासिएको छ भने श्रेष्ठको घर क्षतिग्रस्त बनेको छ ।
दुवटा घर माटोभित्र दबिएपछि थप घरमा समेत क्षति हुने आशङ्का गरी ललितपुर महानगरपालिका–१ र २ बखुण्डोलका पाँचवटा घर खाली गराइएका छन्। बखुन्डोल पश्चिम र उत्तरका घर खाली गराइएको छ।
यसै विषयलाई लिएर ललितपुर महानगरपालिकामा पीडित, होटल तथा अपार्टमेन्टका सञ्चालक र महानगरपालिकाबीच आइतबार बैठक भएको छ।
बैठकमा महानगरपालिकाबाट नक्सा पास स्वीकृत नगराई निर्माण कार्य गरेको खुलेको हो। यसरी नक्सा पास नगरी काम भएको र त्यसले गम्भीर क्षति पुर्याएकाले महानगरपालिकले सम्बन्धित पक्षलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने निर्णय भएको छ।
ललितपुर महानगरपालिकाका प्रेस संयोजक रमा लुइँटेलले नक्सा पास स्वीकृतिका लागि महानगरपालिकामा फाइल नै पेस नभएको पाइएको जानकारी दिइन।
उनका अनुसार बैठकमा सञ्चालकका तर्फबाट निर्वाण चौधरीले आफूहरूको कार्यमा जेसुकै भए पनि सुरक्षालाई पहिलो प्राथमिकता दिएर तत्कालको समस्या समाधान भएपछि मात्र थप कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए।
ललितपुर महानगरपालिका–१ का अध्यक्ष निर्मल तण्डुकारले आफ्नो वडासँग निर्माण कम्पनीले छलफल नगरेको बताएका छन्। यस्ता ठूला संरचना बनाउन सामाजिक तथा वातावरणीय परीक्षण गर्न‘पर्ने भए पनि स्थानीय तहसँग समन्वय नगरी काम सुरु भएको उनले बताए।
ठूला भवन तथा अपार्टमेन्ट बनाउँदा सहरी विकास मन्त्रालयबाट प्लानिङको परमिट मात्रै लिएको देखिएको छ। भवन बनाउनेबारे कुनै पनि स्वीकृति लिएको देखिँदैन।
सहरी विकास तथा भवन निर्माण विभागका प्रमुख मचाकाजी महर्जनले आफ्नो विभागबाट समिट होटल र अपार्टमेन्टलाई कुनै पनि अनुमति प्रदान नगरेको बताए।
बखुण्डोलमा ११ रोपनी जग्गामा समिट अपार्टमेन्ट र आठ रोपनीमा समिट होटल निर्माण भइरहेकोमा अपार्टमेन्टपट्टिको भागको बेसमेन्ट बनाउँदा स्थानीयको घर भासिएको हो।
उपप्रमुखको संयोजकत्वमा समिति
घटनाबाट उत्पन्न समस्या समाधान गर्न आइतबार ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यको संयोजकत्वमा अधिकारसम्पन्न सर्वपक्षीय समिति गठन भएको छ ।
आइतबार बसेको सरोकारवालाहरूको बैठकले प्रभावित व्यक्तिको समस्या तत्काल समाधानका लागि सम्बोधन र सहजीकरणको अगुवाइ गर्न उपप्रमुखको नेतृत्वमा समिति गठन गरिएको महानगरपालिकाले जनाएको छ ।
समितिमा ललितपुर महानगरपालिकाका प्रवक्ता, वडा नं. १ र २ का वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत, होटल व्यवस्थापनका तर्फबाट प्रतिनिधि सञ्चित श्रेष्ठसँगै प्रभावित व्यक्तिबाट रञ्जनध्वज विष्ट, रचन शाही, प्रविन आचार्य सदस्य हुनुहुन्छ । समितिको सदस्यसचिवमा पूर्वाधार निर्माण महाशाखाका प्रमुख छन्।
परियोजनाबाट प्रभावित व्यक्तिको समस्या सम्बोधन गर्ने प्रयोजनका लागि तत्काल १ करोड रुपैयाँ यापिड रिलिफ फन्ड स्थापना गर्ने र सो कोषमा आवश्यकताअनुसारको खर्च व्यवस्थापनबाट थप गर्दै जाने निर्णय भएको छ।
कोषको परिचालन सोही समितिबाट हुने र प्राविधिक टोलीले जोखिम आकलन, सम्बोधनलगायत आवश्यकताअनुसारका कार्यमा निर्णय गर्नेछन्। भत्केका संरचना, चर्केका घरलगायतका प्रभावित संरचनाको क्षतिबमोजिमको क्षतिपूर्ति व्यवस्थापकले उपलब्ध गराउने निर्णय भएको छ।
अब थप क्षति हुन नदिने सुनिश्चिततासहित आवश्यक कामकारबाही तत्काल व्यवस्थापकले अगाडि बढाउने र प्रभावित संरचना तथा व्यक्तिहरूको क्षतिपूर्तिको काम सम्बोधन नभएसम्म होटल निर्माणसम्बन्धी काम रोक्ने सहमति भएको छ।